चैत्र १५, २०८० बिहीबार

पुरूषलाई सिट छोड्दा म कसरी ‘ठिस’ भएँ?



yamuna

यमुना अर्याल

कुपन्डोल, पुल्चोक, जाउलाखेल, लगनखेल …। रत्नपार्कबाट थापाथली आउँदै गरेको  माइक्रोबसको खलासी भाइ एकोहोरो कराइरहेका थिए। माइक्रोको प्रतिक्षामा उभिँदाउभिँदा खुट्टा लत्रक्क भइसकेका थिए।

‘ए भाइ सिट खाली छ?,’ उसलाई प्रश्न गरेँ।
मनमनै लाग्यो- बेकारमा के प्रश्न गरेकी!
कति लामो यात्रा त झुन्डिएर गर्नुपर्छ। १५ मिनेटको बाटो सिट भए नि नभए नि के फरक पर्छ र? जान पाए भइ गो नि!
‘ए दिदी जाने हो? महिला सिट खाली छ,’ उसले सिट खाली भएको जानकारी गरायो। हतार-हतार माइक्रो चढेँ। गर्मीले उसुनिएका यात्रुहरू कोचाकोच गरेर बसेका थिए। माइक्रोका सिट गुम्सिएका थिए। ठुस्स गन्हाएका पनि थिए।
‘ए भाइ छिटो जाउँ न गर्मी भयो,’ यात्रु कराउँदै थिए।
उसले भनेजस्तै महिला सिट भनिएको माइक्रोको अगाडिको चार सिट पूरै खाली रहेछ। कुनै पनि महिला यात्रु नभएका कारण त्यो दिन चार सिट पूरै खाली थियो, पुरुषहरू एउटाको सिटमा दुई जना, दुई जनाको सिटमा तीन जना गरेर सकसपूर्ण तरिकाले बसेका थिए।
सात-आठ जना पुरुष यात्रु उभिएका थिए पसिना तरतरी चुहाएर। अगाडिको चार सिटमा खलासी भाइले मलाई ए दिदी यहाँ बस्नुस् भन्यो। आफैंलाई पहिलोपटक महिला भएकोमा लज्जाबोध यही माइक्रोको यात्रामा  भयो। मभन्दा उमेरले धेरै पाको उमेरका बुवा सरहका पुरुषहरू उभिएर यात्रा गर्ने तर म आरक्षण सिटमा बस्नुपर्ने?  यति कमजोर ठानेर मेरो लागि यो सिट छुट्याइएकोमा आत्मग्लानी पनि भयो।
पछिल्लो सिटको आडमा उभिएका एक पुरूषलाई आग्रह गरेँ।
‘यो सिटमा तपाईं बस्नोस्, म उभिएर पनि जान सक्छु,’ मैले भनेँ। तर, ती पुरुषले ठाडै भनिदिए, ‘त्यो महिला सिट हो नानी, त्यो सिटमा हामी बस्यो भने त बाटोमा पुलिसले गाडी समाउँछन रे।’
खलासी भाइलाई पनि आग्रह गरेँ, ‘ए भाइ, यतिका सिट खाली राखेर किन उभिन भनेको? महिला यात्रु चढेपछि उभिन भन्दा हुँदैन? महिला नचढे पनि यो चार सिट खाली नै हुन्छन्?’
उसले ‘हो’ भन्यो।
‘यो महिला सिट हो, महिला चढे चढ्छन् नत्र पुरुष चढाउन पाइँदैन, ट्राफिकले फाइन काट्छ,’ उसले भन्यो।
म त्यो आरक्षण सिटमा बसिनँ र बस्नको लागि योग्य ठानिन पनि। खलासी भाइले कर गरिरह्यो तर मलाई आत्मैदेखि त्यो सिटको दया लागेर आयो। म उमेरले पाको भएको भए, साथमा साना बच्चा भएको भए, कुनै बिमारले अशक्त भएको भए, शारीरिक रुपमा अशक्त भएको भए ठिकै  थियो। पुरुषभन्दा कुनै पनि कुरामा कमजोर छैन तर पनि बुवा सरहका लोग्नेमान्छे उभिएर आफू ढसक्क अगाडिको सिटमा बस्न मन लागेन। उभिएरै थापाथलीदेखि कृष्णगल्लीसम्मको यात्रा गरेँ। खलासी भाइलाई भाडा दिएर झर्ने बेलामा उसले मलाई नै लक्षित गरेर भन्यो, ‘यस्ता ठिस केटी त देखेको थिएन बा! खाली सिटमा बस्न भन्दा उभिएर जाने!
कानले टड्कारै सुने पनि आपत्ति जनाउन जरुरी ठानिनँ। तर, मनमनै लाग्यो, ‘अरूको लागि सिट छोड्दा म कसरी ठिस भएँ?’ आरक्षणको दुरुपयोग यतिसम्म भएको रहेछ भन्ने अनुभव पनि भयो। गत साल लोकसेवा आयोगको तयारी गरेकी एक मधेसी मुलकी साथी लिखित परीक्षामा असफल भइन्। उनीसँगै पढेकी गैरमधेसी साथीले नाम निकालिन्। उनले आफू मिहेनेत गरेर सफल हुने भन्दा पनि सरकारले आरक्षणको दायरा फराकिलो नगरेको गुनासो गरिन्।
सरकारले महिलाको लागि आरक्षण छुट्यायो तर हामी मधेसी महिलाको लागि मात्रै भनेर छुट्याएको छैन। सबै महिलाको बीचमा एकमुष्ट प्रतिस्पर्धा गराएपछि कहाँबाट नाम निस्कन्छ हाम्रो? पहाडे केटीको दाँजोमा हामी कहाँ उत्रन सक्छौँ? ती साथीलाई महिला कोटामा पनि मधेसी महिलाको लागि मात्र आरक्षण छुट्याए आफ्नो सरकारी जागिर खाने धोका पूरा हुने विश्वास थियो।
उनले भनेजस्तै महिलामा पनि बाहुन, क्षेत्री, मधेसी, दलित, जनजाति, आदिवासी गरी कोटा छुट्याए अरु केही नभए पनि सरकारी जागिर खाने बाटो सहज हुने विश्वास उनीजस्ता अधिकांश महिलाको रहेको पाइन्छ। जागिर खाने मात्रै होइन, आफू कसरी पुरुषसरह योग्य हुन सक्छु भनेर एकाधबाहेक महिलाले सोच्दैनन्। आरक्षणले मिहेनेत गर्ने बानी मात्रै खस्काएको छैन, कमजोर उम्मेदरवारको उपस्थिति गराएर सार्वजनिक सेवा प्रवाहमा पनि कमजोरको बोलवाला गराउन उद्धत भएको पाइन्छ। आरक्षण होइन अवसर चाहिन्छ भनेर महिलाहरू आवाज उठाउँदैनन्।
सरकारी जागिरमा नाम निस्कनासाथ एक जना साथीले सोधिन्, ‘तिमीले महिला कोटामा नाम निकालेको कि खुलाबाट?’ महिला खुला दुबैमा निस्केको भनेँ। ‘खुलाबाट नाम निकाल्दा त आफूलाई पुरुषसरह लाग्यो होला है?,’ उनले फेरि सोधिन्।
‘किन?,’ उनलाई प्रतिप्रश्न गरेँ।
‘हैन खुलाबाट नाम निकाल्न त धेरै कठिन छ नि! हामी त सकिँदैन,’ उनले हरेक क्षेत्रबाट आफूलाई कमजोरमात्रै सावित गरिनन्, पुरुषले सरह केही गर्नै सकिँदैनजस्तो पारा देखाइन्। म छोरी भए पनि छोराभन्दा कुनै कुरामा कमजोर छैन, मेरा दाजुभाइसरह पढ्ने अवसर मैले पाउँछु भने उनीहरूभन्दा के कुरामा कमजोर हुन्छु होला त? व्यवहार समान र मिहेनत समान भयो भने असम्भव केही छैन भन्दै उनलाई सम्झाउने कासिस गरेँ।
तीन वर्षपहिले एकैपटक तीन ठाउँमा नाम निस्केकोले पनि उनले मलाई विशेष फोकस गरेर प्रश्न गरिरहिन्। ‘मैले सरकारी जागिर बिहे गरेपछि नै खाएँ, बिहे गरेपछि सबै सकियो भनेर नबस्,’ ती  नवविवाहिता साथीलाई यसो भनिरहँदा त आफ्नो त जागिर खाने पढाइ लेखाइ गर्नेबेला सकिएको बताइन्। मास्टर पढ्दै गर्दा विवाह बन्धनमा बाँधिएकी ती साथी महिलाले पढेर पो के नै गर्न सकिएला र भन्छिन्।
आरक्षणले क्षणिक रुपमा फाइदा गरेको भए पनि दीर्घकालीन रुपमा यो उपयोगी हुन सक्दैन। महिला–पुरुष सक्षम हुने हो तर छुट्याएको भागमा छानिएर सेवा प्रवाह गर्ने होइन  भन्ने हेक्का सबैले राख्ने हो भने ‘बिचरा’को उपमा पाएर छुटाएको भागमा चित्त बुझाउनुपर्ने थिएन। हामीलाई आरक्षण चाहिँदैन घरपरिवारको साथ, सहयोग र सकारात्मक सोच चाहिन्छ भन्ने धारणा आत्मसात गर्नतिर सोच्ने पो हो कि?