चैत्र १६, २०८० शुक्रबार

यसकारण मेरो उम्मेदवारी : मीना पाण्डे, महिला संघ अध्यक्षका उम्मेदवार



मैले महिला संघको अध्यक्षमा उम्मेदवारी दिएकी छु । नेपालमा जनसंख्याको हिसाबले पनि महिला धेरै छन् । यहाँ राजनीतिक दल स्थापनाकालदेखि महिलाको राजनीतिमा सहभागिता हुँदै आएको लामो इतिहास छ । राजनीतिक अधिकारको लडाइँमा पनि महिलाले प्रत्यक्ष सहभागिता जनाउँदै आएका छन् । चाहे त्यो राणाविरोधी आन्दोलन होस् । चाहे पञ्चायतविरोधी । चाहे गणतन्त्र स्थापनाको लडाइँ नै किन नहोस् । महिला पुरूषसँग काँधमा काँध मिलाएर हातमा हात मिलाएर राजनीतिक परिवर्तनमा सहभागी भए ।mina-pandey

तर, राजनीतिक परिवर्तनसँगै महिलाको राजनीतिक रुपमा सहभागिता कम हुने गर्छ । यसमा केही पुरूषवादी सोचले पनि काम गरेको छ । यो सोचमा परिवर्तन ल्याउन आवश्यक छ । राजनीतिमा महिला सहभागी हुँदै आए पनि जति हुनुपर्ने हो, त्यति सहभागी हुन सकेका छैनन् । राजनीतिमा महिलाको सहभागिता बढाउनका लागि मैले देशभरि अभियानका रुपमा लागू गर्नेछु ।
महिला अधिकारका लागि पनि यहाँ अझै काम गर्नुपर्नेछ । राजनीतिमा महिलाको समान सहभागिताका लागि पनि हो । शिक्षा, स्वास्थ्य र रोजगारीमा महिलाको पहँुच पुर्याउनुपर्नेछ । सामाजिक चेतना विकास गर्नुपर्नेछ । यहाँ धेरै भूगोल ग्रामीण क्षेत्रमा पर्छ । त्यहाँ आर्थिक, सामाजिक र रोजगारीका लागि पहल गर्नुपर्नेछ । जनचेतना कम छ ।

नेपालमा भएका कुरीतिलाई महिला संघले अभियानका रुपमा कार्यक्रम चलाउनेछ । महिलालाई स्वाभिमानी नेपाली नागरिक बनाउनुपर्नेछ । एक पुरूषले गर्ने काम महिलाले पनि गर्न सक्छ भन्ने चेतना फैलाउनुपर्नेछ ।
काँग्रेसले अहिले बीपीको सपना अहिले छाडेको अवस्था छ । उहाँले देखेको सपनामा काँग्रेसलाई हिँडाउनु पनि चुनौतीको विषय हो । यसमा बहस आवश्यक छ । शिक्षा, रोजगारी र स्वास्थ्य राज्यले आफ्नो दायित्व सम्झनुपर्ने हो तर राज्यले अहिलेसम्म त्यो बोध गरेको छैन । यसका लागि पनि राज्यलाई दबाब दिनुपर्ने भएको छ । संविधान घोषणा भएको छ तर संविधान कार्यान्वयन हुन बाँकी नै छ ।

अहिलेसम्मको इतिहास हेर्दा नेपालमा राज्यले संविधानमा भएका कैयांै कुरा कार्यान्वयनमा ल्याएको देखिँदैन । अहिले पनि संविधानमा महिलाका हक–अधिकारबारे धेरै कुरा लेखेका छन् । तर, कार्यान्वयन पक्ष भने फितलो देखिन्छ । यसका लागि राजनीतिक दल, राज्यका हरेक निकायमा महिला सहभागिताका लागि दबाब दिनुपर्ने देखिन्छ ।

राजनीतिमा लागेका महिला साथीको राजनीतिक र सामाजिक सुरक्षा दिलाउन आवश्यक छ । यसका लागि मैले देशभरि जागरण अभियान चलाउनेछु । एकल महिला अहिले पनि समाजमा अपहेलित, दमित छन् । उहाँहरुको हक–अधिकार संविधानमा लेखिए पनि व्यवहारमा लागू हुन सकेका छैनन् । यसका लागि पनि मैले पहल गर्नेछु । उहाँहरुलाई हेर्ने दृष्टिमै परिवर्तन ल्याउन आवश्यक छ । यसका लागि म आबद्ध दल र संगठनमा बहस र छलफल गर्नेछु ।
आदिवासी जनजाति, मधेसी, थारु, दलित, मुस्लिम, अल्पसंख्यक, अपांग र दुर्गम पिछडिएको क्षेत्रका महिलाको राजनीतिक, आर्थिक र सामाजिक पहुँच बढाउन पहल गर्नेछु । महिला प्रजनन स्वास्थ्य अधिकारका लागि पहल गर्नेछु । एक्काइसांै शताब्दीमा पनि महिलाले घरेलु हिंसाको सिकार हुनुपरेको छ । यो पनि सामाजिक रुपमै अभियान चलाउनुपर्ने विषय हो । यसका लागि महिला संघले काम गर्नेछ ।

नेपाली कांग्रेस अहिले बीपीको समाजवादभन्दा पर पुगेको छ । यसलाई विचार, विधानअनुसार चल्नुपर्ने हुन्छ । यसका लागि म पार्टीभित्र बहस चलाउनेछु । समाजवादको अन्तिम बिन्दुमा पुग्न सकेका छैनौं । आफूले लिएको राजनीतिक र वैचारिक रुपमा अडिग हुनुपर्छ । बीपीले देखेको सपना भनेको गाउँ–गाउँमा गाँस, बास र कपासको कुनै समस्या नहोस् भन्ने हो । तर, अहिले यो हुन सकेको छैन । हो– विश्वअनुसार हामीले पनि चल्नुपर्छ । भूमण्डलीकरणको समयमा यसलाई पनि नजरअन्दाज गरेर जान सकिँदैन । तर, यही नै अन्तिम सत्य होइन ।

देश संघीयतामा गएको छ । यसका लागि महिला पनि राज्यका हरेक अंगमा ५० प्रतिशत सहभागिता हुनुपर्छ । प्रदेश र स्थानीय तहमा महिलाको सहभागिता बढीभन्दा बढी हुनुपर्छ । यसमा राजनीतिक दलले आ–आफ्ना पार्टीमा भएका महिलालाई सहभागिता गराउनुपर्छ । म मेरो पार्टी काँग्रेसमा यसका लागि पहल गर्नेछु ।

महिला अब घरको चुलोचौकोमात्र होइन, समाज र राज्यका हरेक क्षेत्रमा सहभागी भएर समाज र देशको प्रतिनिधित्व गर्नुपर्छ । यसका लागि महिला आफंैले पनि केही चुनौती सामना गर्न सक्नुपर्छ । त्यसका लागि आफैंमा आत्मविश्वास हुनुपर्छ । तबमात्र महिला अगाडि बढ्न सक्छन् । शिक्षा, स्वास्थ्य र रोजगारीमा पनि महिला पछाडि परेका छन् । यसमा महिलाले पनि आफूमा भएको क्षमता देखाउनुपर्छ । सबै महिला राजनीतिमा आउनुपर्छ भन्ने छैन । तर, आ–आफ्नो क्षेत्रमा लगनशील भएर लाग्यो भने अगाडि बढ्न सकिन्छ । यसका लागि हरेक घर–घर, समाज र राज्यका हरेक क्षेत्रमा अवसर व्यवस्था गर्नुपर्छ । अहिलेसम्म हुन नसकेका कामका लागि म पहल गर्नेछु । मेरो राजनीतिक अनुभवले सिकाएका सबै सफल पक्ष नेपाली महिला आन्दोलनका लागि लगाउनेछु । महिलाका हक–हितका लागि सदैव कटिबद्ध भएर लाग्नेछु ।