बैशाख ८, २०८१ शनिबार

सिनेमा निर्देशन गर्ने सिस्टरहरु : को को कति सफल



३० भदौ, काठमाडौं,   हाँस्य कलाकारबाट निर्देशनको काम सुरु गरेकी दीपाश्रीको चर्चा अहिले जताततै छ । उनको सिनेमा हेरेर राम्रो भएको प्रतिक्रिया उनको मोवाइलदेखि सामाजिक सञ्जालहरुमा समेत आइरहेका छन् ।

दीपाको डेब्यु निर्देशन नै यति राम्रो भन्दै उनका फ्यान र सहकर्मीहरु दङ्ग परेका छन् । सिनेमाले रिलिजको दिनदेखिनै राम्रो ब्यापार गरिरहेको छ । त्यसो त नेपाली सिनेमामा महिला निर्देशकहरुको सङ्ख्या निकै कम छ । त्यसमा पनि फिल्म निर्देशन गरेर सफलता पाएकाहरु भेट्न गाह्रो पर्छ ।  यो अवस्थामा कलाकारिता क्षेत्रमा दशकौँ बिताएकी दीपाले निर्देशन गरेको सिनेमा छक्का पञ्जालाई धेरैले दशककै उत्कृष्ट सिनेमा भनेका छन् ।

निर्देशकको रुपमा दीपाले पाएको यो सफलतासँगै अन्य महिला निर्देशकको स्थिति के छ त ?

सुचित्रा श्रेष्ठ

नेपाली सिने उद्योगमा पहिलो महिला निर्देशकको रुपमा नाम दर्ता गराउने निर्देशक हुन् सुचित्रा श्रेष्ठ । उनी सिनेमा प्रेमयुद्धलाई निर्देशन गर्दै पहिलो महिला निर्देशक बनेकी थिइन् । उनको निर्देशनले व्यावसायिक सफलता भने पाउन सकेन । पहिलो सिनेमा असफल भएपनि उनले ‘को कसको’ नामको दोस्रो सिनेमा निर्देशन गरिन् । यसले पनि सफलता पाएन । दोस्रो निर्देशनले पाएको असफलतासँगै उनले आफ्नो निर्देशनको यात्रालाई त्यत्तिकैमा पूर्णविराम लगाउनु पर्यो ।

दीपा बस्नेत

नारीका प्रसंगलाई फरक र सम्मानजनक तरिकाबाट प्रस्तुत गर्ने महिला निर्देशक हुन् दीपा बस्नेत । उनले पहिलो पटक निर्देशन गरेको सिनेमाहो ‘अन्तराल’ । उनले निर्देशन गरेको सिनेमाले पनि व्यावसायिक सफलता पाएन । तर यु ट्युबमा भने राम्रै दर्शक पाएको थियो । सिनेमाले व्यबसायिक असफलता पाए पनि दीपाले सो चलचित्रबाटै राष्ट्रिय अवार्ड पाएकी थिइन् । त्यस्तै उनले यो सिनेमा पछि ‘श्री पाँच अम्बरे’ निर्देशन गरिन् । सिनेमामा प्राय नाम चलेका कलाकार भएका कारण रिलिजपूर्व सिनेमाको निकै चर्चा थियो । तर रिलिजपछि सोचे जस्तो ब्यापार भने हुन सकेन ।

सम्झना उप्रेती रौनियार

नेपाली चलचित्र निर्देशन गर्ने अर्की महिला निर्देशक हुन् सम्झना उप्रेती रौनीयार । सम्झानाले पहिलो पटक सिनेमा ‘मेघा’ निर्देशन गरेकी हुन् । सिनेमा सफल बनाउनको लागि नम्रता श्रेष्ठ र मनिषा कोइरालाका भाई सिद्धार्थ कोइरालालाई उनले मूख्य पात्रका रुपमा लिएकी थिइन् ।

तर पनि सिनेमाले व्यावसायिक रुपमा सफलता पाएन । पहिलो सिनेमाले सफलता नपाए पनि उनले फेरि करिश्मा मानन्धरको निर्माण रहेको सिनेमा फागु निर्देशन गरिन् । यो सिनेमाले पनि उनलाई सफलता दिएन । करिश्मा मानन्धरको कमब्याक भनेर रिलिजपूर्व नै चर्चामा रहेको सिनेमाले हलमा दर्शकको साथ पाएन ।

रक्षा सिंह

पहिले सम्पादकको रुपमा काम गरेर पछि निर्देशक बनेकी रक्षा सिंहले निर्देशन गरेको पहिलो सिनेमाहो ‘द गेम’ हो । आफूले निर्देशन गरेको सिनेमाले राम्रो व्यापार गर्छ भन्ने आशा रक्षामा थियो । तर सिनेमाको कथावस्तु दर्शकलाई मन परेन र सिनेमाले असफलता पायो । त्यसपछि उनले निर्देशनमा आउने आँट गरेकी छैनन् ।

रेखा थापा

हिम्मतवाली अभिनेत्रीको रुपमा परिचित नायिका  रेखा थापाले सिनेमा हिम्मतवाली निर्देशन गरिन् । रेखानिर्देशक बन्ने पूर्व योजना भने थिएन ।

सूटिङ स्थलमा निर्देशक श्याम भट्टराईसँग विवाद भएपछि उनले अकास्मत सिनेमा निर्देशनगर्ने निर्णय लिएकी थिइन् । पूर्व तयारी बिना नै सिनेमा निर्देशन गरेपनि उनको निर्देशन भने राम्रो भएको प्रतिक्रियाहरु आए र सिनेमाले सफलता पनि पायो ।

निलू शेर्पा

निर्देशक निलू शेर्पाले निर्देशन गरेको सिनेमा ‘हाउफन्नी’ले रिलिजपूर्व निकै चर्चा पायो । तर रिलिज भएपछि सिनेमाको व्यापार औसत रह्यो । सिनेमामा नाम चलेका कलाकाहरु हुँदाहुँदै पनि सोचेजस्तो व्यापार गरेन ।

तसर्थ निलूलाई पनि निर्देशनले त्यति धेरै खुसी दिएन । तर नेपाली चलचित्र निर्देशन गर्ने महिला निर्देशकमा आफ्नो नाम दर्ज गर्न सफल भए ।

अक्सर निर्देशन गर्नु र काम अर्‍हाउन अलि कडा एवम् हक्की स्वभावको हुन आवश्यक भएकोले यो पाटोमा महिला निर्देशक अलि कम आउने गर्छन् । त्यसैले पनि नेपाली सिने क्षेत्रमा महिला निर्देशकको संख्या औंलामा गन्न मिल्छ । तर, समय र समाज परिवर्तन भएसँगै अहिले महिला निर्देशकहरु सक्रिय हुँदै अगाडि आउनुलाई राम्रो संकेतको रुपमा लिन सकिन्छ ।