बैशाख १२, २०८१ बुधबार

सम्बन्धः समझदारी कि शंका !



 यमुना अर्याल

ए बैनी ! ‘तिम्रा श्रीमान् पत्रकार होइनन्’ ? अधिकृत स्तरकी दिदीले केहीदिनअघि कार्यालयमै यस्तो प्रश्न गरिन् । दिदीले थाहा पाइपाई सोधेजस्तो लाग्यो र तत्काल रेडिमेट उत्तर दिँदै भने ‘हो दिदी’ ।

Yamuna-Aryal-Kafleदिदीले फेरि सोधिन्, ‘पत्रिकामा हो कि टेलिभिजनमा ‘? ‘ एउटा अखबारमा काम गर्नुहुन्छ, दिदीको कोही आफन्त पनि पत्रकार हुनुहुन्छ कि क्याहो, निकै सोँचीसोँची सोध्नुभयो त’ दिदीको प्रश्नको उत्तर दिएँ । दिदी अफिसको कामै छाडेर प्रश्न गर्न लागिन्, ‘पत्रकार मान्छे केटीका फोन कत्तिको आउँछन् त श्रीमानको मोवाइलमा’ ?

‘किन दिदी’ ? प्रतिप्रश्न गरेँ ।

‘हैन बैनी, यसो सोधेको….मात्र’ दिदी खुलस्त भइनन् । ‘फोनको बारेमा दुईजनाको ठाकठुक कतिको पर्छ नि ? श्रीमानको मोवाइल चेक गर्दा झगडा पर्छ कि पर्दैन, श्रीमानले अफिसको कुरा कत्तिको गर्छन् घरमा ? मोवाइलमा केटीका म्यासेज आउँछन कि आउँदैनन्’? यस्ता धेरै प्रश्न गरिन् । एउटै जवाफ दिएँ, ‘कहिँलेकाँही श्रीमानले हत्तारमा हिड्दा मोवाइल घरमै छाडेर जानुहुन्छ कहिले मेरो पनि छुट्छ हतारमा अफिस जाँदा अहिलेसम्म त त्यस्तो केही नराम्रो भएको छैन दिदी, समझदारी नै छ अहिलेसम्म’ ।

दिदी अरु दिनजसो अफिस आउँदा खुसी थिइनन् । सधै हाँस्दै, बोल्दै अफिस आउने त्यो दिन निकै उदास र दुःखी थिइन् । ‘तपाईको चाँही केही गडबड छ कि क्याहो दिदी’ भावुक भएर सोध्नुभयो नि ? मेरो प्रश्नमा दिदी बोलिनन् केवल रातो र मलिन अनुहार लगाइन् मात्र ।

‘मेरो त बुढेसकालमा तनाव हुने भो बैनी । अस्ती बुढा नुहाउन बाथरुम गएका थिए, मोवाइल कोठामै छाडेर नत्र सधै बाथरुम जाँदा पनि लगेर जान्थे । उनी अलि ढिलो नुहाएर आए, त्यो बिचमा पाँचवटा सेभ नगरेको नम्बरबाट फोन आयो । कसैलाई इमरजेन्सी परेछ कि भनेर उठाएको त ए बुढा, तिम्रो पारा केहो, कतिपटक कल गरिसके रेस्पोन्स छैन भनेर केटी बोली ……। उसको कुरा सुनेर म बोल्दै नबोली फोन काटिदिएँ, बुवाआमाले आगन पोलेर मारे पाप पाले पुण्य भन्दै सात फन्को घुमाएर रुदै डोली चढाएकी श्रीमती म, मेरै कानले मेरो आधा अगं मानेको श्रीमानलाई ए बुढा भनेर कसैले सम्वोधन गर्दा दिमागले के सोच्यो होला ? बुढा नुहाएर आएपछि थाहा नपाएजस्तै गरेँ, उनको आनीबानी ख्याल गरे एक हप्तासम्म पुरै फेरिएको पाएँ । उनी एउटा गैरसरकारी संस्थाका माथिल्लै ओहोदाका हाकिम हुन बैनी, म पनि अफिसर लेवलको कर्मचारी हुँ, छोराछोरी ठूला भइसके । बुढाले अर्की आँटेका रहेछन् थुक्क आइमाइको जुनी, दिदी निकै पीडामा आफ्ना भावना पोखिन् ।

सुन्दा कथाजस्तो लागेपनि ति दिदी निकै पीडामा छिन् आजकाल । दिदीका बुढाको व्यवहार फेरिएको ६ महिनाजति भएको थियो, ‘अफिस जाने टाइम भन्दा चाँडै आज फलानो ठाऊँमा मिटिङ छ भन्दै जान्थे । होला भन्थेँ किनकी मेरो सधै एउटै टाइम हुन्थ्यो । आज फलानो होटलमा सेमिनार छ खाना खानु, मलाई कुर्नु पर्दैन भन्थे होला भनेँ । तलव पनि खै कसलाई सहयोग गरेको यति मात्र आयो भन्थे, मलाई मेरै तलवले पुग्थ्यो, उनको जति आएपनि केही खोजीनीति गरिँन । छोराछोरी आ-आफ्नो धन्दामा छन् उनीहरुलाई खर्च गर्नुपर्दैन, त्यही भएर पनि उनको र मेरो तलवको बारेमा केही तुलना भएन । मोवाइल एक सेकेन्ड पनि आफुभन्दा टाढा नराख्ने, मोवाइल सँधै भाइर्वेसनमा राख्ने, चौविसै घण्टा च्याटमा मस्त रहने सोध्दा अफिसको लागि डाटा सर्च गर्दैछु भन्थे, होला भनेँ आफूलाई प्रविधिसम्बन्धी केही जानकारी छैन ।

आफूले दिनभरी पानी पनि नखाई उनैको गोडाको जल खाएर उनको दीघायुको लागि व्रत बस्ने तर, उनी चाँही अर्की आँटेर मस्ती गर्न पल्किएका रहेछन् । भनौँ भने आफ्नै इज्जतको कुरा, नभनौँ मन पोलेर खपिसक्नु भएन बैनी’ दिदी रुन थालिन् । एक दिन उनैका आफन्तले केटीसँग रँगेहात भेटेछन्, साली हो भनेर तर्किन खोजेछन् । ‘ए बाबा ! आफ्नो बुढीलाई पनि क्या साली भनिरा’को क्या’ …..उल्टै साथमा रहेकी केटीले प्रश्नको औचित्य अथ्र्यापछि पारिवारिक खैलाबैला भयो ।

अहिले एउटै घर पराइजस्तै भएको छ, दुइजनाको बोलचाल छैन । ‘श्रीमानलाई मैले केही भनेकी छैन, किनकी आफ्नो आँखाले देखेकी छैन तर, उनी नै मलाई अनेकन शंका लगाएर तनाव दिइराखेका छन् । श्रीमतीले आँखाले नदेखेसम्म केही नभन्ने तर, श्रीमान् हुँदै नभएको कुरामा शंका गर्ने र टाढिने कोशिसमा छन् ‘।

‘आफ्नो खुट्टामा उभिएकी म जस्तो महिलाको त यो हालत छ भने हाम्रा आमाहजुर, आमाले सौता भोग्नु कुन नौलो कुरा भयो र ? दिदीले वास्तविकता पहिल्याउन खोजिन् । दिदीले श्रीमानलाई भनेकी छन्, मसँग बस्न मन छैन भने ढुक्क भएर ल्याएर जहाँ राख्ने हो राखे हुन्छ तर। दुनियाँको सामु मलाई तुलना गरेर बदनाम गर्नु छैन । म बहुविवाहको मुद्धा पनि गर्दिन, तिमी जस्तो उच्च पदमा पुगेको मान्छे तिम्रो इज्जतले बहुविवाह गर्न दिन्छ भने गर तर, म र मेरा माइतीको बदनाम नगर । यो तिजमा श्रीमानको लागि व्रर्त बस्ने कष्ट पनि गरिँन, आजसम्मको व्रत र तिम्रो भलाइको लागि गरेका कर्मको प्रयश्चित छ’ । बुढेसकालमा सम्बन्ध टुटेकी दिदीको ठहर छ महिलाले बढी विश्वास गर्ने र सोझो व्यवहार गर्ने भएकैले त्यसको फाइदा उठाउँदै श्रीमानले धोका दिने रहेछन् ।

५ वर्षअघि राजधानीबाट एक परिचित पुरुष हराएको खवर फैलियो, श्रीमतीलाई सोध्दा कान्छी लिएर गएको भन्थिन । एजुकेशन कन्सल्टेन्सीमा काम गर्ने श्रीमानको कार्यालयमा महिला पुरुष बराबर आउँथे, तैपनि श्रीमती सधै केटीसँग नाम जोडेर करकर गरिरहन्थिन । अ

फिसको कामले म्याग्दी जाने भन्दै हिडेका श्रीमानको मोवाइल अफ भएपछि श्रीमतीलाई थप बल मिल्यो, अहिलेसम्मको शंका साँच्चै रहेछ भन्दै झन सराप्न थालिन् । तीन दिनपछि आफन्तले सम्पर्क गर्दा मोवाइल अन थियो र फोन उठाउने आवाज महिलाको थियो, फोन उठाउने महिलाले आफू रहेको ठाउँसमेत बताइन् । श्रीमती र आफन्त मिलेर कान्छीको खोजीमा हिडे ।

ति महिलाले बताएको स्थानमा पुग्दा अवस्था अर्कै देखियो । फोन उठाउने उनले सोँचेजस्तो जस्ती कान्छी नभएर खोलाले बगाएका दाऊरा जम्मा गरेर जिविकोपार्जन गर्ने महिला रहिछन् । ति महिलाले दाउरा खोज्दा झोला भेटाएको र झोलामा मोवाइल भएको बताएपछि सन्नाटा छायो । अनायासमा पाप चिताएको भन्दै आफन्तले ति महिलालाई पाँच हजार दिएर आए, तैपनि श्रीमानको अतोपतो लागेन । पछि थाहा भयो गाडी दुर्घटना हुनैलाग्दा छतबाट हाम फाल्दा झोला खोलामा झरेको श्रीमानले पत्तो पाएनन्, घाइते अवस्थामा अस्पतालमा पुग्दा साथमा केही थिएन । शंकाले कतिसम्म गर्छ भन्ने उदाहरण हो यो ।

गत सोमबार काठमाण्डौँ जिल्ला प्रशासन कार्यालयमा श्रीमानको थर मेटाउन आएकी एक महिलाले भन्दै थिइन, ‘आगन पोलेर दुनियाँलाई साक्षी राखेर मारे पाप पाले पुण्य भन्दै आमा बुवाले पुजेर दिएको व्यक्ति नै आफ्ना लागि बाधक भइदिएपछि केही नलाग्दो रहेछ, हदभन्दा बढी शंका गरेपछि विस्फोट हुनुपर्दाेरहेछ यो मेरो बाध्यता हो’ । उ

नी राजधानीको एक निजी कलेजमा अर्थशास्त्र विषय पढाउने लेक्चर रहिछन्, उनका श्रीमान् सरकारी कार्यालयका शाखा अधिकृत । श्रीमान् सरकारी विदाको दिनमा घरमै भएपनि निजी कलेज बन्द नहुने हुँदा श्रीमती पढाउन जान्थिन, शंकाको बिऊ रोपिएको यही विषयबाट रहेछ । सरकारी विदाको दिन कलेज पढाउन गएकै निँहुमा अनेकन विषयमा श्रीमानले चाहिने भन्दा धेरै शंका गर्न थालेपछि समझदारीको बाटो रोकिएको उनले बताइन् ।

यस्ता घटनाहरु समाजमा बढ्दै गइरहेका छन् । लोग्ने स्वास्नीको सम्बन्ध टु्ट्दा दुवैलाई नाफाघाटा नभएपनि बालबच्चामा भने त्यसको असर दीर्घकालसम्म पर्नसक्छ । आमाबाबुको नराम्रो व्यवहारको प्रत्यक्ष मारमा कलिलो बालमस्तिष्क परिरहेको हुन्छ, यसको हेक्का दुबैले गरेको पाइँदैन । कति सजिलैसँग भन्छन्, बिचार मिलेन, बेग्लाबेग्लै भइयो, दुइजनाको बिचार नमिल्दा आमा या बाबुको मायाविना हुर्कने बच्चाले के सोँच्ला ? यसको हेक्का दुवैले राख्दैनन् ।

सम्बन्ध र समझदारी एक अर्काका पूरक हुन् भने अविश्वास र शंका त्यसको जड । केही वर्षअघि कीर्तिपूरमा श्रीमानले श्रीमतीको हत्या गरे । बिहे भएपछिका पाँचवर्षसम्म दुईजनाको बिचमा ठूलो स्वरसम्म नसुनिएको त्यति मिलेको जोडी टुटाउने काम त्यही शंकाले गर्‍यो । श्रीमान श्रीमतीसँगै बसेर हिन्दी फिल्म हेर्दैगर्दा फिल्ममा देखाइएको विषयवस्तुमा श्रीमतीले श्रीमानलाई धोका दिएको दृष्यलाई वास्तविक ठाने र आफैँसग तुलना गर्दै आधा रातमा श्रीमतीको हत्या गरे । काल्पनिक विषयवस्तुमाथि उतारिएको पर्दाको विषयसँग आफ्नी श्रीमतीको चरित्र तुलना गरेर हत्यासम्म गर्नुले के देखाँउछ भने शंकाको झिल्को केवल झिल्कोमै रँहदैन र मुस्लो बनेर सखाप पार्नतिर उद्धत हुन्छ । भगवान रामचन्द्रले त आफ्नी पत्नीमाथि विश्वास नर्गदा सीताले अग्नि परिक्षा दिनु परेको थियो भने यो त कलियुग हो, जहाँ पाइलापाइलामा परिक्षा दिनु परिरहेको छ चाहे महिला होस् या पुरुषले ।

जीवनलाई रंगिन र अर्थपूर्ण बनाउने महत्वपूर्ण माध्यम हो सम्बन्ध । अग्नि, आफन्त र दुनियालाई साक्षी राखेर नयाँ सम्बन्ध स्थापित गरिन्छ । फरक पृष्ठभूमिका पारिवारिक सदस्यलाई एकाकार बनाउने सेतु पनि हो सम्बन्ध । नेपाली समाजमा विवाहलाई सम्बन्ध व्यवस्थित गर्ने आधारको रुपमा लिइन्छ । विवाह बन्धनमा बाँधिने कुनै पनि जोडीले आफ्नो सम्बन्धमा खट्पट होस् भन्ने कल्पनासम्म पनि गरेका हुँदैनन् । भविष्यलाई सुन्दर बनाउने बाचा कसम खाएका तिनै जोडीको सम्बन्धमा यस्तो फाटो आइदिन्छ कि उनिहरु अग्नि, आफन्त र दुनियाको परवाह नगरी एक निमेषसम्म पनि संगै बस्न सक्दैनन्, चाँहदैनन् र अन्तत सम्बन्ध विच्छेदको मार्ग रोज्छन् ।