बैशाख १०, २०८१ सोमबार

अछामका महिला व्यवसायतिर



goats-300x196 १३ असाेज, अछाम –  अछाम जनालिकोटकी रुपादेवी विक कुखुरा पालेर छाेराछाेरी पढाउँछिन् । १ वर्षअघि कुखुरा पाल्न थालेकी उनले अहिले राम्रै आम्दानी भइरहेको बताइन् ।  त्यसैले उनी महिलाहरू आफ्नै क्षेत्रमा व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण हुन् ।  ‘श्रीमानको कमाइले मात्र नपुगेपछि सानोतिनो व्यवसाय सुरु गरेकी हुँ ’  उनी भन्छिन् ।

नवठाना  वडा १ मा २७ महिलाकै सक्रियतामा ३ रोपनी जमिनमा व्यावसायिक तरकारी खेती सुरु गरिएको छ । महिलाको समूहमा जलवायु कृषक पाठशाला सञ्चालन भइरहेको छ । विभिन्न समूह गठन गरेर अनुभवहरू आदानप्रदान गर्ने गर्छन् । जलवायु कृषक पाठशालाकी सदस्य काला कुँवर भन्छिन् – ‘३ रोपनीमा लगभग ३ हजार किलो तरकारी उत्पादन गरेर ६१ हजार ५ सय आम्दानी भएको छ, गाउँका सबै महिला सक्रिय भएर लागेका छौं, आम्दानी पनि बढदै छ ।’

यी केही उदाहरण हुन्, अछाममा अहिले महिलाहरू विभिन्न व्यवसायतर्फ संलग्न भई आयआर्जनतर्फ आकर्षित भएका छन् । उनीहरूले एक्लै वा समूह गठन गरेरै व्यावसायिक रूपमा कुखुरा पालनदेखि तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका हुन् ।

महिलाहरूकाे व्यवसाय राम्रो देखेर थप हौसलाका लागि पोषण खाद्य सुरक्षा परियोजना सेवक नेपालले पनि सहयाेग गरेकाे छ । विभिन्न उन्नत जातका ४० कुखुरा सहयोग गरेकाले थप ऊर्जा मिलेको रूपादेविले  बताइन् । पोषण खाद्य सुरक्षा परियोजना अछामका ५ गाविस गाज्रा, जनालीकोट, नवठाना, सिद्धेश्वर र देवीस्थानमा सञ्चालन भएपछि महिला जागरुक भएर विभिन्न व्यवसायमा अग्रसर भएका हुन् ।

 

तरकारी बिक्रीका लागि नजिकैको साँफेबगरमा शनिबारे हाटबजार सञ्चालन भएकाले बजारको समस्या छैन । बजार पाएकाले उत्पादन अझै बढाउने सोच रहेको सोही समूहकी सदस्य पार्वती चाडले बताइन् । तरकारी खेतीमा संलग्न प्राय: का श्रीमान् रोजगारीका लागि भारत गएका छन् । नवठानाकी राधिका कुँवर भन्छिन्, ‘पहिले श्रीमान् भारतबाट फर्किंदा सामान ल्याउन साँफेबगरसम्म जाँदा रित्तै जान्थें, अहिले तरकारी लिएर जान्छु, पैसाको खासै समस्या छैन ।’