चैत्र १५, २०८० बिहीबार

महिला उद्यमीको उत्पादन अब इ–कर्मसमा



ललितपुर– महिला उद्यमीद्वारा उत्पादित वस्तु प्रवद्र्धन गर्न वेबसाइटको विकास गर्दै इ–कर्मस प्रणालीमा विस्तार गरिएको छ । महिला उद्यमी महासंघ नेपालले सञ्चालनमा ल्याएको सो साइटलाई इन्टरनेटमा विनबिजडटकमडटएनपी मार्फत प्रयोग गर्नसकिने छ । गएकाे मंगलबार सो साइटको आधिकारिक उद्घाटन भएको हो ।

महिलाको सामाजिक विकास तथा आर्थिक सशक्तीकरणका लागि सञ्चालनमा आएको साइटले सहयोग गर्ने महासंघले जनाएको छ । सो साइटमा नेपालभरका महिलाले उत्पादन गरेका उत्पादनलाई अनलाइनमा अपलोड गर्न सकिने भएकाले विश्वव्यापी बजारमा नेपाली महिलाको पहुँच विस्तार हुने महासंघले विश्वास लिएको छ । सो साइटलाई अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)ले समेत सहयोग गरेको छ ।

२४ जिल्लामा महासंघका जिल्ला संघ रहेका छन् । सबै जिल्लाका महिला उद्यमीलाई सो साइटमा समावेश गर्दै लगिने महासंघको कार्ययोजना रहेको छ । महासंघमा आवद्ध महिला उद्यमीले सो साइटमा व्यक्तिगत खाता खोल्न सक्नेछन् । जसलाई व्यक्तिगत वेबसाइट सरह प्रयोगगर्न सकिने महासंघले जनाएको छ ।
‘हामीले सदस्यसँग ५ हजारमै खाता खोल्ने व्यवस्था मिलाएका छौं,’ महिला उद्यमी महासंघकी द्वितीय उपाध्यक्ष शारदा रिजालले भनिन्,‘सो साइटबाट महिला उद्यमीले उत्पादन गरेका हरेक उत्पादनकोबजार प्रवद्र्धन गर्न सहज हुन्छ ।’ उनले नेपाली महिला प्रतिस्पर्धी समयको चुनौतीलाई पछ्याउन सक्षम हुँदै गएको पनि बताइन् ।

‘नेपाली महिलामा सबैभन्दा ठूलो चुनौती बजार व्यवस्थापनको हो,’ उपाध्यक्ष रिजालले थपिन, ‘विनबिजको माध्यमबाट महिलाका उत्पादनलाईबजार विस्तार गर्दै विश्वव्यापीकरण गर्न सकिने भयो ।’  महिलाले आफ्नो उत्पादन विस्तार गर्न मार्केटिङका लागि बजेट छुट्ट्याउने नगरेको भन्दै उनले विनबिजका काराण सहज हुने बताइन् ।

नेपाली महिलाले भान्सा, बालबच्चा तथा परिवार सबै क्षेत्रलाई व्यवस्थापन गर्दै सफल रुपमा व्यवसाय पनि सञ्चालन गर्दै आएकोप्रति खुसी व्यक्त गर्दै उपाध्यक्ष रिजालले हरेक घरका महिला व्यवसायमा आउनुपर्ने बताइन् ।

महासंघले सुरु गरेको साइटमा नेपाली महिलाले उत्पादन गरेका स्वास्थ्य, सौन्दर्य, घर तथा जीवन निर्वाह, फेसन, आभूषण, परम्परा, मसला तथा खाद्य पदार्थसमेत उपलब्ध हुनेछ । साथै सो साइटमा नेपाली महिलाले उत्पादन गरेका अचारदेखि हरेक चिज प्राप्त गर्न सकिने छ ।

महिलाका व्यावसायिक अधिकार, हकहित तथा आर्थिक सशक्तीकरणका विषयमा आवज उठाउँदै २०६० सालमा सोे संघ स्थापना भएको थियो । सो संघले महिला उद्यमीलाई उत्पादित वस्तुको गुणस्तर वृद्धि, उद्यमीका समस्या, परामर्श तथा कार्यशाला तालिम लगाएत क्षेत्रमा सहयोग गर्दै आएको छ ।