बैशाख ११, २०८१ मंगलबार

अर्घाखाँचीमा १२ सय ६४ महिला घरमै सुत्केरी



१३ असाेज, अर्घाखाँची – अर्घाखाँचीमा एक बर्षमा १२ सय ६४ महिला घरमै सुत्केरी हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ  । २०७२ साउनदेखि २०७३ असार मसान्तस १२ सय ६४ जना महिला घरमै सुत्केरी भएका हुन् ।

सो अवधिमा २७ सय २२ बच्चा जन्मिएकोमा १४ सय ५८ जनाले मात्र स्वास्थ्य संस्थाबाट प्रसूती सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङक सहायक महेश प्रसाद बोहोराले बताए । स्वास्थ्य संस्था टाढा र जान नमान्ने कारणले घरमै सुत्केरी हुने गरेको पाइएको उनले बताए ।

३५ गाविस रहेको अर्घाखाँचीमा १८ स्थानमा मात्र चौबिस घण्टे प्रसूती सेवा उपलब्ध छ । सरकारले संस्थागत सुत्केरी सेवाका लागि करोडौं खर्च गरेपनि पहाडी जिल्लामा प्रभावकारी हुन सकेको छैन । घण्टौं हिंडेर स्वास्थ्य संस्था पुग्दा स्वास्थ्यकर्मी उपलब्ध नहुने कारणले दुर्गमका बासिन्दाको विश्वास गुमेको हो ।