बैशाख १०, २०८१ सोमबार

अवैध तरिकाले कुबेत पुग्ने क्रमकाे समाधान खोज्न निर्देशन



१२ असोज, काठमाडौं –  घरेलु कामदारको रूपमा अवैध तरिकाले कुबेत पुग्ने र अलपत्र पर्ने नेपाली महिला कामदारको संख्या बढ्न थालेपछि अहिले सो विषयमा सरकारले विशेष चासो देखाएको छ । बुधबार मुख्य सचिव सोमलाल सुवेदीले सम्बन्धित मन्त्रालयका सचिवहरूलाई घरेलु कामदारको रूपमा अवैध तरिकाले कुबेत पुग्ने र अलपत्र पर्ने क्रमलाई नियन्त्रण गरी समाधान खोज्न निर्देशन दिएका छन् ।

कुबेतस्थित नेपाली दूतावासले अवैध रूपमा आएका नेपाली महिलाको संख्या र जोखिम बढेको भनेर जानकारी गराएको बताउँदै सरकारका मुख्यसचिव सुवेदीले भने, ‘सोही विषयमा समाधान खोज्ने प्रयासस्वरूप सम्बन्धित मन्त्रालयका सचिवहरूलाई बोलाइएको हो ।’

प्रतिबन्धित कुबेतको समस्या नियन्त्रण गर्ने प्रयासस्वरूप सरकारका मुख्यसचिव सुवेदीले बुधबार गृहसचिव लोकदर्शन रेग्मी, श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण मैनाली र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साललाई कुबेतमा नेपाली महिला अलपत्र पर्नुको कारण र समाधान खुलाएर आगामी शुक्रबार आउन निर्देशन दिएका हुन् । अहिले मानव तस्करले त्रिभुवन अन्तर्र्राष्ट्रिय

विमानस्थलस्थित अध्यागमन कर्मचारी तथा त्यहाँका प्रहरीसँगको सेटिङ मिलाएर घरेलु कामदारको रूपमा नेपाली महिला कामदार कुबेत पठाउने एवं छिमेकी मुलुक भारतको दिल्लीबाट श्रीलंका हुँदै कुबेत पु‍¥याएका घटना धमाधम सार्वजनिक भएपछि मुख्य सचिव सुवेदीले सम्बन्धित सरोकारवाला मन्त्रालयका सचिवलाई समाधानको उपाय पहिल्याउन यस्तो निर्देशन दिएका हुन् ।

अहिले सरकारले घरेलु महिला कामदारलाई वैदेशिक रोजगारीमा खाडी मुलुक जान रोक लगाएको छ । प्रहरीले मानव तस्करीमा संलग्न केही दलाललाई पक्राउ गरी कारबाही गरे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन र प्रहरी मानव तस्करका मतियारभन्दा सरकारी नीति कार्यान्वयन हुन नसकेको सम्बन्धित सरोकारवालाहरूको भनाइ छ । अध्यगमन र प्रहरीले एक जनालाई अन्तर्राष्ट्रिय विमानस्थलबाट कटाएबापत ६० हजार रुपैयाँ लिने गरेको यसअघि पीडितले बताएका थिए । कुबेतस्थित नेपाली दूतावासका अनुसार मानव तस्करले ल्याएका नेपाली महिलाको संख्या पछिल्लो समयम बढ्दो छ ।

‘दिल्ली र श्रीलंका मात्र होइन सिधैं काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल रुट प्रयोग गरी आउने महिलाहरूको संख्या पनि उल्लेख्य देखिएको छ,’ कुबेतस्थित नेपाली दूतावास स्रोतले भन्यो, ‘घरेलु कामदार महिलामाथि मालिकले गर्ने यौन शोषण र अमानवीय दुव्र्यवहारका घटना बढ्न थालेपछि सरकारलाई जानकारी गराएका हौं ।’ कुबेतमा रोजगारदाता घरका मालिकबाट हुने अमानवीय घटनाका कारण महिला कामदार भाग्ने, भिसा अवधिको समय पनि सकिएपछि अवैधानिक रूपले बस्ने तथा काम पाएकाहरूको अवस्था त्यस्तै जोखिम देखिएको भन्दै दूतावासले सो विषयमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो । सोही विषयलाई लिएर सरकारका मुख्यसचिव सुवेदीले पनि अहिले कुबेतमा नेपाली महिला कामदारले भोग्दै आएका समस्या न्यूनीकरणका लागि यस्तो प्रयास थालेका हुन् ।