बैशाख ११, २०८१ मंगलबार

व्यावसायिक तरकारी खेतीमा बैतडीका महिला



१३ असोज , बैतडी – गुरुखोला गाविस–८ सतबाँझका महिला व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । तरकारीबाट फाइदा हुने भएकाले उनीहरु महिला कृषक समूह गठन गरेर व्यावसायिक तरकारी खेतीमा लागेका छन् । परम्परागत रुपमा लगाइने धान, मकै, गहुँलगायत बालीबाट खासै उत्पादन लिन नसकेपछि उनीहरु तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका महिलाले अहिले वार्षिक रू. एक लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । करीब दुई दशकदेखि तरकारी खेतीको शुरुवात गरेका उनीहरु पछिल्लो समय महारुद्र कृषक समूह गठन गरी सामूहिक तरकारी खेतीमा लागेका छन् । एक अर्कामा कृषि अनुभव साटासाट गर्न सामूहिक तरकारी खेती शुरु गरेको महारुद्र महिला कृषक समूहका उपाध्यक्ष राधा भट्ट बताउँछिन् । २० जना महिला मिलेर सामूहिक तरकारी खेती शुरु गरेपछि उनीहरु सबै जना आत्मनिर्भर बनेका छन् ।

तरकारी खेतीमा लागेपछि घरपरिवार चलाउन सहज  हुनुका साथै महिलाको आर्थिक अवस्था बलियो भएको छ ।  ‘वार्षिक रू. एक लाखदेखि  दुई लाखसम्म बचत गर्ने गरेका छौँ’, भट्टले भनिन् । समूहमा आबद्ध भएसँगै अहिले किसान परियोजनाले तरकारी खेती गर्न प्राविधिक सहयोग गरेपछि उनीहरुलाई सजिलो भएको हो । युएसएआइडीको सहयोगमा किसान परियोजनाले तरकारी खेती गर्न अपनाउने तरिका, रोग किराको प्रकोप हटाउने विधि र समय–समयमा आवश्यक तालिम तथा उन्नत वीउ समेत उपलब्ध गराउँदै आएको किसान परियोजनाका कृषि कार्यक्रम अधिकृत अनुप वमले बताए ।

तरकारी बेचेर आम्दानी हुन थालेपछि महिलाको दैनिकी फेरिएको छ । सामान्य घरखर्च चलाउन, नुनतेल किन्न समेत श्रीमान्को भर पर्ने अवस्था अहिले हट्दै गएको छ । आफैँ घरखर्च चलाउने र बचत गर्ने गरेको समूहका अध्यक्ष भागरथी भट्टले बताइन । साठी रोपनीमा तरकारी खेती शुरु गरेका उनीहरुको बारीमा अहिले काउली, बन्दागोभी, खुर्सानी, भन्टा, प्याज, लसुन, तिते करेलालगायत तरकारी रहेका छन् । यस्तै उनीहरुले प्लास्टिक टनेल बनाएर गोलभेँडा रोपेका छन् । ‘अन्न फलाउनुभन्दा तरकारी फलाउन सजिलो हुँदो रहेछ,’ अध्यक्ष भट्ट भन्छिन् ‘मनग्य आम्दानी हुने भएपछि यसतर्फ आकर्षण बढ्दै गएको छ ।’

पछिल्लो समय जिल्लाको ग्रामीण क्षेत्रमा सडक सञ्जाल विस्तार भएसँगै दुर्गम गाविसमा समेत तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । यहाँ उत्पादित तरकारी स्थानीय बजार, सदरमुकाम हुँदै तराईका विभिन्न जिल्लामा समेत खपत हुने गरेको छ । रासस