बैशाख १०, २०८१ सोमबार

हिंसाका विरुद्ध महिलाहरु खुल्न थाले



११ असोज, लमजुङ,  – लमजुङमा पछिल्ला वर्षहरुमा महिंला हिंसाका उजुरीहरु बढ्न थालेका छन् । गएको आर्थिक वर्ष २०७२÷७३ मात्रै महिला हिंसाका २४ लिखित उजुरीहरु कार्यालयमा दर्ता भएको महिला विकास अधिकृत विष्णुकुमारी लामिछानेले बतार्इन  । उनका अनुसार चालु आर्थिक वर्षको तीन महिनाकै अवधीमा महिला हिंसाका चार उजुरीहरु कार्यालयमा दर्ता भएका छन् ।

मुख्यगरी वहुविवाह र श्रीमानले राम्रो व्यवहार नगरेका उजुरीहरु महिला तथा बालबालिका कार्यालय लमजुङमा दर्ता हुने गरेका छन् । वैदेशिक रोजगार र सामाजिक सञ्जालको दुरुपयोगका कारण पनि यस्ता उजुरीहरु बढ्न थालेको कार्यालयले जनाएको छ ।

‘महिला हिंसाका लिखित उजुरीहरु कार्यालयमा बिस्तारै बढ्दै गएका छन्,’ महिला विकास अधिकृत लामिछानेले भनिन्  ‘मौखिक उजुरी त प्रायः दिनदिनै आउँछन् । मिलेसम्मका केही उजुरीहरु हामीहरुले छलफलबाटै टुंग्याउने गरेका छौँ । बाँकी जिल्ला प्रहरी कार्यालयमा पठाउँछौ ।’ पछिल्लो समय हिंसाका विरुद्ध महिलाहरु खुलेर आउन थालेको उनले भनिन् ।

‘महिला हिंसाका उजुरी बढ्दै छन्’ उनले स्पष्ट पारीन  ‘महिलाहरु आफूमाथि भएको हिंसाका विरुद्ध खुलेर आउन थालेका छन् । कानुनी बाटो अपनाउन सकेका छन् । यसलाई सकारात्मक रुपमा लिनुपर्दछ ।’ महिला सशक्तिकरणका कारण महिलाहरु खुलेर आउन सकेको उनले बताइन  । ‘विगतमा पनि थुप्रै महिला हिंसाका घटनाहरु हुन्थे । तर उनीहरु खुलेर आउन सकेका थिएनन् । विभिन्न कारणले उनीहरु खुल्न चाहन्नथे पनि,’ विष्णुकुमारीले थपिन  ‘सरकारी तथा गैरसरकारी संघसंस्थाले गरेका महिला सशक्तिकरणका कार्यक्रमले उनीहरुमा चेतना जागेको छ ।’