चैत्र १६, २०८० शुक्रबार

वृद्धाश्रममा छाडेर गयौ तर, मर्नुभन्दा अघि केवल एकपल्ट तिमीलाई हेरेरै मर्ने रहर छ



2016-05-05_2254

मेरो मुटुको टुक्रा,
यो व्यस्त सडकको छेउबाट तिमीलाई निरन्तर पुकारिरहेकी छु । सायद पुकार्दा-पुकार्दै अन्तिम स्वास फेर्छु होला । तिमीलाई त थाहा छ/छैन, पोहोर सालको चैतमा तिमीले मलाई वृद्धाश्रममा छाडेर गएको ठ्याक्कै तेह्र महिना पुगेछ । यो तेह्र महिनामा म तेह्र हजार पटक मरेँ हुँला, तिम्रो मायालु अनुहार हेर्न नपाएर अनि तिमीलाई मेरो नजरको वरिपरि देख्न नपाएर ।

मेरो प्यारो छोरा,

सन्तानको माया कस्तो हुन्छ भन्ने त यतिबेलासम्म तिमीले थाहा पाईसक्यौ होला नि है ! तिमीले मलाई वृद्धाश्रम लग्ने बेला बुहारी दुई जीउकी थिईन् । आफ्नो मुटुको टुक्रा आफूदेखि अलग हुँदा कति पीडा हुन्छ, त्यो कुरा तिमीले बुझिसक्यौ होला । म पनि तिम्रै यादले गर्दा आजसम्म बाँचेकी छु । एकमुठी स्वास फ़ेर्न सकेकी छु । मलाई आशा छ, म मर्ने बेलासम्म तिम्रो अनुहार हेर्न पाउनेछु ।

तिमीले मलाई छाडेको वृद्धाश्रममा म अटाइन छोरा । किनकी म भन्दा धेरै दु:खी आमाहरु थिए त्यहाँ । जसको यस संसारमा कोही थिएनन् । मेरो त तिमी छौ, बुहारी छिन् र नाती पनि छ रे भन्ने सुनेकी छु । त्यसैले म आफैँ त्यो तिमीले छाडेको बृद्धाश्रम छाडेर बाहिर सड़क पेटीमा आएँ छोरा ।

सड़कको जीवन त मलाई त्यति कठोर भएन, जति तिम्रो यादले पीडा भो । तिमी मेरो पेटमा हुँदादेखि मलाई यहाँ छोड्नेबेलासम्म मैले तिमीसँग बिताएका पलहरु ओढेरै बाँचे, तिम्रा मायाहरु खाएरै बाँचे । कहिलेकाहीँ कुनै पवित्र मनले केही खानेकुरा दिँदा पनि मलाई कतै तिमी भोकै पो छौ कि भन्ने पीडा हुन्छ छोरा । आमाको मन कस्तो हुन्छ, एकपटक बुहारीसंग सोध ल, ‘भर्खरै जन्मेको बाबुको तिमीलाई माया कति लाग्छ भनेर ?’

हो छोरा,
तिमीले बुहारीको लहलहैमा लागेर मलाई त्याग्यौ, यसमा मलाई केहि दु:ख लागेको छैन । मेरोलागि त तिमीभन्दा अमूल्य सम्पत्ति अरु के नै थियो र ? एक वचन ‘जा’ भनेको भए मेरो जीवन नै तिम्रो नाममा त्यागिदिन्थेँ । किनकि तिम्रो बाबा स्वर्गे भएपछि यो संसारमा तिमीमात्र त छौ मेरो भन्ने । आफूले माया गर्ने मान्छेले दिएका पीडा पनि कति मिठो लाग्दो रहेछ । उपहास पनि सुमधुर हुँदो रहेछ । म सबै यातना चुपचाप सहन तयारै थिएँ । मैले राम्रो लुगा र मिठो खाना पनि त मागेकी थिईन । तर मलाई घरबाट निकाल्ने फ़ैसला गरेछौ । तिम्रो एउटा तस्बिरसम्म भएको भए त्यही हेरेर चित्त बुझाउँथे होला, त्यहि पनि बुहारीले निकालिदिईछिन् । अब त तिमीलाई थाहा भईसक्यो होला आफ्नो सन्तानले गरेको हरेक कुरा सह्य हुन्छ आमा-बाबुलाई होइन र ?

मलाई माफ़ गर बाबु,

मैले बुहारीलेजस्तै आधुनिक बोल्न जानिनँ । उनलेजस्तै मिठो पकाउन सकिनँ । म सफा सुघ्घर बस्न सकिनँ । मैले कुपोषित शरीरले पाएको सजाय दम र खोकी रोक्न सकिन, म बूढी भएँ । मत खोले खाएर, भुल्ला ओढेर हुर्केकी मान्छे, तिमी सानो छँदा तिमीलाई मागेरै भएपनि मिठो खुवाएर हुर्काएँ । तिम्रो बाबा तिमी पेटमा हुँदादेखि परदेशिएर पाँच वर्षसम्म बेखवर हुँदा पनि मैले तिमीलाई कहिल्यै भोकै राखिनँ । मेरो छाति सिस्नोको खोलेले पनि भरिएकै थियो । रसाएकै थियो ।

हो बाबु,

म धेरैपल्ट मरेर पनि बाँचें । किनकि मलाई भोक लाग्दा तिमी भोकाएको देख्छु । प्यास लाग्दा तिमी तिर्खायौ कि भनेर झस्किन्छु । म पीडाले कराउन सक्दिन छोरा । किनकी म कराउँदा पनि तिमीलाई दुख्छजस्तो लाग्छ । हो छोरा, यो आमाको मन अचम्मको हुने रहेछ ।

पोहोरको वैशाखमा आमाको मुख हेर्ने दिन थियो, सबैका छोरा-छोरी आए, तर तिमी आएनौ । छोरा ठिक गर्यौ, जाबो एक दिन भेटेर अनि मिठो खुवाएर के हुन्थ्यो र ? जाबो एकसरो लुगा दिएर अनि एकपटक आमा भनेर के हुन्थ्यो र कमसेकम देखावटी स्वाङ त पारेनौ !

मलाई थाहा छ, तिमीले मनको एउटा कुनाले पक्कै सम्झ्यौ होला, तर मैले त हरेक स्वास र कसैले दिएको गाँसमा पनि यो शरीर लाश नहुन्जेल सम्झिरहनेछु छोरा । मैले भुलेकि छैन, तिमीले मलाई कति धेरै माया गर्थ्यौ सानोमा । बाटोमा भेटाएको काफलगेडी पनि मलाई दिएरै खान्थ्यौ । मेरो जूठो नखाएसम्म तिमी अघाउँदैनथ्यौ । अहिले सायद माया सकियो होला क्यारे, सकिएपछि यसमा तिम्रो के दोष होइन र ? बाँकी नै नभएपछि त के दिनु है ?

हो छोरा,
यो स्वार्थी संसारमा तिमीमात्र होइन, धेरै यस्ता छोराछोरी छन रे अचेल । त्यसैले सूर्ता नमान्नू है, बरु आफ्नो ख़्याल राख्नु । तिमीले कहिल्यै समयमा खाना खाँदैनथ्यौ । मैले हरेकचोटी मुटु धड्किदा तिमीलाईबाहेक अरुलाई सम्झिन्न । मेरो यो संसारमा अरु को नै छ र छोरा ? तिमीलाई पक्कै दिनभरि बाडुली लाग्दा कति गाह्रो हुँदो हो है, के गर्नु छोरा मेरो यति अधिकार त नखोस न है ।

म सायद धेरै बाँच्दिन होला छोरा, तिमीलाई थाहा छैन होला भोको पेटमा बोरा ओढेर सड़कसंग सुत्नुको पीडा कस्तो हुन्छ भनेर । हिजो हाम्रो फुसे घरको छानु पुसे झरीमा चुहिँदा मेरो छाती ओढाएरै तिमीलाई बचाएको कुरा तिमीलाई थाहा छैन छोरा ।

मेरो छोरा,

अब त नाती पनि बाबा-मम्मी भन्ने भयो होला । तिमीहरुले ठिक गर्‍यौ मलाई घरबाट निकालेर । नत्र नातीले भोलि जान्ने भएपछि बुहारीले मलाई गरेको माया देखेर त्यहि सिको गर्ने थियो, अनि तिमीहरुलाई भोलि बुढेसकालमा मैलेजस्तै सडकको या वृद्धाश्रमको बास बस्नुपर्ने हुन के बेर ! आफ्नै सन्तान सडकमा भीख मागेको म हेर्न सक्दिन छोरा । म आफू जस्तोसुकै पीडा खप्न तयार छु, तर तिमीलाई सडकमा बोराभित्रको जिन्दगी बाँचेको हेर्न त के कल्पनासम्म गर्न सक्दिन । बुहारीको मन पनि नदुखाउनु है छोरा । उनी पनि कसैकी छोरी हुन्, मैले तिमीलाई जन्माउँदाजस्तै पीडा सहेर जन्माए-हुर्काएकी । हेरन, आफ्ना सबै आफन्त छाडेर सर्वस्व तिमीलाई नै सुम्पेकी छिन् ।

अन्तमा आज फेरि आमाको मुख हेर्ने दिन भन्ने सुनेकी छु, शरीरभरिका घाउहरु र अन्तर्मनका घाउहरु बेजोड़संग दुखिरहेका छन् । तिम्रो बाटो हेर्दा र्दै मेरा आँखा थाकिसकेका छन् । मैले कालसंग पनि दयाको भीख मागेकी छु, मर्नुभन्दा अघि केवल एकपल्ट तिमीलाई हेरेरै मर्ने रहर छ । मलाई दागबत्ती दिनुपर्दैन छोरा बरु भोकाएका गिद्ध र स्यालहरुलाई खान दिनु । किनकी भोकको पीडा कस्तो हुन्छ, तिमीलाई भन्दा मलाई थाहा छ । तिमी जहाँ भएपनि काँडाले नघोचोस् । कुनै रोगले नभेटोस् । अर्को जन्म हुनेरहेछ भने तिमीलाई मेरै कोखमा जन्माउन पाऊँ, किनकी तिमीलाई मैले गर्ने मायाको धीत मरेकै छैन । तर मलाई अर्को जन्ममा घरबाट ननिकाल्नु है ।

बाटो पारी तिमीजस्तै अनुहार देखिरहेकी छु, तिम्रो आगमन महशुस गरिरहेकी छु छोरा । आमा हुँ नि म । मलाई थाहा छ, तिमी दुनियाँको लाजले होइन, मेरै मायाले डोहोर्‍याएर आउँदैछौ । तर मेरो एक मुठी प्राण जानै लाग्यो छोरा । कहीँ कतै मलाई मरेकै देख्यौ भने पनि आँसु नझार्नु है, म मेरो आफ्नै मुटुको टुक्रा रोएको देख्न सक्दिन । बस् मलाई एकपटक आमा ssss मात्र भन्नु, मेरो आत्मले शान्ति पाउनेछ । अर्को जुनीमा भेट्ने आशामा मृत्यु कुरिरहेकी छु ….।

उही तिमीलाई माया गर्ने आमा !