बैशाख १२, २०८१ बुधबार

‘आमा’ हिरोइनको कथा अरूलाई के थाहा ?



heroinधेरै नायिकाको जीवनमा विवाह उनीहरुको करिअरकै पूर्णविराम बन्ने गरेको छ, भलै उनीहरु सफलताको उत्कर्षमै पुगिसकेका किन नहुन्। सन्तान जन्मेपछि नायिकाहरुले बच्चा स्याहार्न अतिरिक्ति समय दिनुपर्ने व्यवहारिक बाध्यता त छँदैछ, नायिका बन्न अझै पनि अभिनयभन्दा शारीरिक पक्षलाई महत्व दिने दृष्टिकोणका कारण पनि उनीहरु निस्क्रिय बन्छन्। किनकी पुरुषको उमेर जति छिप्पिए पनि महिला तरुनी नै हुनुपर्ने अभ्यास जो छ।

यिनै कारणले विवाहसँगै फिल्म नगरीबाट एकपछि अर्को नायिका ओझेल हुँदै गएका छन्। यस्ता नेपाली नायिकाहरुको सूची लामो छ। जल शाह, सारंगा श्रेष्ठ, कृष्टि मैनाली, पूजा चन्द, विपना थापा, अरुणिमा लम्साल, ऋचा घिमिरे, झरना बज्राचार्य आदि दर्शकले धेरै मन पराएका केही प्रमुख नाम हुन्। हाल यीमध्ये धेरैे फिल्मी संसारभन्दा मात्र पर छैनन्, धेरैको बसाइँ नेपाल नभएर विदेश बनेको छ।
तर थोरै यस्ता नायिका पनि छन्, जसले सन्तान हुर्काउन केही समय काम थाती राखे पनि आफ्नो कला यात्रालाई निरन्तरता दिएका छन्। यीमध्ये केही नायिकाकै रुपमा आफ्नो सेकन्ड इनिङ आजमाउँदै छन् भने केहीले आफूलाई फिल्म निर्माताका रुपमा स्थापित हुने जमर्को गर्दै आएका छन्।
१ करिश्मा मानन्धर

करिश्मा मानन्धर नेपाली रजतपटकै सुन्दर र सदाबहार नायिका मानिन्छिन्। फिल्मबाहेक कहिले शारीरिक फिटनेस र राजीतिक संलग्नताका कारण उनी सधैं चर्चामा रहन सफल नायिका हुन्।
पहिलो फिल्म सन्तान (सन् १९८८) सार्वजनिक हुँदा उनी केवल १४ वर्षकी थिइन। भण्डै तीन दशक लामा सिने यात्रामा उनले कयौं सफल फिल्म दिएकी छिन्। तीमध्ये कान्छी, मायालु, ट्रक डाइभर, भाउजू, एक नम्बरको पाखे, बसन्ती, बाबुसाहेब, साथी, ढुकढुकी आदि स्मरणीय मानिन्छन्। निर्देशक विनोद मानन्धरसँग प्रेम बिहा गरेकी करिश्माले केही समय अमेरिकामा समेत बिताएर पुनः नेपाल फर्किन्।
४२ वर्षीया करिष्माको १९ वर्षे छोरी कविता हाल अमेरिकामा पढिरहेकी छिन्। आमा छोरीका फोटोहरु सामाजिक सञ्जालमा छाइरहन्छन्। फागु उनले निर्माण गरेको पछिल्लो फिल्म हो। उनी हाल डा. बाबुराम भट्टराईको पार्टी नयाँ शक्ति नेपालकी सदस्य बनेर चर्चाको केन्द्रमै छिन्। अमेरिका जानुअघि उनले ढुकढुकी र बाबुसाहेब निर्माण गरेकी थिइन्। अमेरिकाबाट फर्केपछि उनले फागु बनाइन्। नेपाल फर्केर बनाएको गत वर्ष सार्वजनिक उनको निर्माणमा बनेको फागु पनि नचलेकोले उनले फिल्म निर्माणमा भने सोचेजसतो सफलता हात पार्न सकेकी छैनिन्।
२. सञ्चिता लुइँटेल

चारवर्षपछि फिल्मी संसारमा पुनर्आगमन गरेकी सञ्चिता लुइँटेलको नयाँ फिल्म राधा तिहारको संघारमा कार्तिक १२ देखि सार्वजनिक हुँदैछ। यसपछि उनी अर्को फिल्म ‘गुनगुन’मा पनि देखिनेछिन्।
सफल नायिकाको रुपमा सक्रिय छँदै उनले नायक निखिल उप्रेतीसाग विवाह गरिन्। सन् २०१० मा नायक निखिल उप्रेतीसँग विवाह भएपछि उनी फिल्म क्षेत्रबाट केही वर्ष हराएकी थिइन्। यसको मुख्य कारण उनले परिवारलाई समय दिनु थियो। २०११ मा पहिलो सन्तानका रुपमा छोरालाई जन्म दिएपछि उनी पनि अरु नायिका झैं निष्क्रिय बनेकी थिइन्। सन् १९९९ मा ‘अप्सरा’बाट नेपाली फिल्म दुनियामा प्रवेश गरेपछि उनको सुन्तदरता र अभिनयाक प्रशंसा भएको थियो। उनले ‘आर्शिवाद’, ‘मुनामदन’, ‘विष’, ‘छोडिगए पाप लाग्ला’, ‘दासढुंगा’, ‘पर्खि राख है’, ‘कालापानी’, ‘इन्द्रेणी’, ‘कोही मेरो’, ‘दाग’, ‘बन्दी’लगायतका सिनेमामा अभिनय गरेकी छिन् ।

तर अर्थव र सानभीलाई हुर्काउँदा हुर्काउँदै उनको समय बित्यो। निर्देशक योगेश घिमिरेको ‘राधा’बाट उनको कमब्याक कस्तो होला थाहा पाउन अब धेरै लामो समय बाँकी छैन।

३. झरना थापा

आमा बनेर पनि फिल्म क्षेत्रमा पुनर्आगमन गर्न सफल नाम हो झरना थापा। उनले सन् १९९८ मा सुनिलकुमार थापासँग विवाह गर्दा दाइजो फिल्ममा काम गर्दै थिइन्। विवाह गरेको अर्को वर्ष छोरी सुहानालाई जन्म दिएकी उनको छोरी अहिले १८ वर्षकी भइसकेकी छिन्। ए मेरो हजुर, जीवनसाथी, गोर्खाली, भाइटीका, हामी तीन भाइ, मुग्लान, म तिमी बिना मरिहाल्छु उनका प्रमुख फिल्महरु हुन्।
विवाहले उनको सक्रियतामा खासै असर नपारे पनि उनी हाल नायिकाको रुपमा नभएर निर्माताको रुपमा क्रियाशील छिन्। झरना हाल आफ्नो होम प्रोडक्सनबाट आफ्नो सफल फिल्म ए मेरो हजुरको नामबाटै सिक्वेल लिएर आउँदैछिन्।

४ सुष्मिता बम्जन

दार्जिलिङमा जन्मिएकी सुष्मिता बम्जन भुवन केसीको दोस्रो पत्नी बनेर फिल्ममा सक्रिय बनेपछि सुष्मिता केसीका नामले चिनिन् थालिन्। यही नामबाट उनले ‘नेपालीबाबु’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’, ‘सुपर स्टार’, ‘म तिमी बिना मरिहाल्छु’ जस्ता फिल्मले चर्चा कमाइन्। भुवन र सुष्मिताबाट जन्मिएका अनमोल केसी अहिले नेपाली सिनेमामा युवा पुस्तको आकर्षणका केन्द् बनेका छन्। असमझदारी बढेपछि अहिले सुष्मिता र भुवन छुट्टा छुट्टै बस्दै आएका छन्।

आमा बनेपछि सुष्मिताले फिल्ममा अभिनय त गरिन् तर त्यसले उनलाई पुनस्र्थापित गराउन सकेन। त्यसैले हाल उनले छोरा अनमोलकै नाममा अनमोल क्रियसन नामक फिल्म निर्माण कम्पनी दर्ता गरेकी छिन्। यही ब्यानरमा ‘म त तिम्रै हो’ फिल्म प्रदर्शनको तयारीमा छ। फिल्म निर्माणमा उनको भविष्य कस्तो होला उनको फिल्म कुर्नै पर्ने भएको छ।

५. मेलिना मानन्धर

‘करुणा’ नामक टेलिश्रृखलाबाट चर्चा कमाएकी नायिका मेलिना मानन्धरकी छोरी मेलिस्का छ वर्ष पुग्न लागिन्। सन् १९९३ मा ‘मिलन’ फिल्मबाट नेपाली रजटपटमा उदाएकी यी नायिकाले त्यसपछि दर्जनौं फिल्ममा अभिनय गरिन् । सीमाना’, ‘अपराध’ ‘जाली रुमाल’, ‘बन्धन’, ‘दाइजो’ ‘रानीखोला’, प्रेयसी’, ‘माटो बोल्छ’, ‘मामाघर’ ‘अर्पण’ ‘छोराबुहारी’ ‘संगम’ ‘ज्वालामुखी’ उनले काम गरेका मुख्य फिल्महरु हुन्।

८ वर्षअघि जापानबाट फर्किएका मुकेश ढकालसँग प्रेम विवाह गरेकी हुन्, उनले । विहेपछि उनले पति मुकेशसँगै ‘हलचल’ फिल्ममा काम गरिन्। २०६६ सालमा वैवाहिक जीवनमा प्रवेश गरेकी मेलिनाले २०६७ मा छोरी मेलिस्कालाई जन्म दिइन्। आमा बनेको डेढ वर्षमै उनले नेपाल भाषाको एउटा फिल्म र केही म्युजिक भिडियोमा पनि काम गरिन्। आफैं निर्माता बनेर ‘ज्वालामुखी’ फिल्मसमेत बनाएकी मेलिना हाल नेपाल सेन्सर बोर्डकी सदस्य पनि हुन्। नेपालखवरबाट