बैशाख १, २०८१ शनिबार

आफ्नै आमालाई रुवाए क्याम्पस पढाउने जितेश्वर सर



kailasi-thakur
कान्छो छोराका साथमा कैलासी ठाकुर

यमुना खनाल

आफैंले दश महिनासम्म पेटमा बोकी, कोख फुटाएर जन्माएको, दश धारा दुध पिलाएर हुर्काएको आफ्नै रगतले आफैंलाई यसरी धरधरी रुवाउला भन्ने कैलासी ठाकुरले सोचेकी पनि थिइनन् । तर आफैले जन्माएको जेठो छोराले दिएको पिडाले उनी अहिले रुँदै हार गुहार गरेर हिँड्दै छन् । आफ्नै कोखले दिएको पीडाको मलमपट्टी र सहाराका लागि पराइसँग रोई कराई गरिरहेकी छन् ।

कैलासी ठाकुरका जेठा छोरा जितेश्वर ठाकुर दोलखामा क्याम्पस पढाउँछन् । उनले दुई तीनवटा विषयमा डिग्री गरेका छन् । तर आमाको नाम रहेको सम्पत्तिमाथिको गिद्धे नजरले उनले यो हैसियत सबै गुमाए । लेखपढ गर्न नजान्ने बृद्ध आमालाई बैंकबाट ऋण निकाल्नुपर्‍यो सही गरिदिनुस भन्दै झुक्याएर मालपोत कार्यालयमा लगे । अनि भएभरको जायजेथा, जग्गा, जमिन, आफ्नी आमाको नामबाट श्रीमतीकी आमाको नाममा पास गरिदिए ।

जितेश्वरकी सासुले सम्धिनी कैलासी ठाकुरको नामबाट आफ्नो नाममा जग्गा आएपछि छोरीलाई दाईजो स्वरुप दिएको भन्दै जितेश्वरकी श्रीमती अर्थात आफ्नै छोरीका नाममा पास गरिदिईन् । गोलबजार नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा रहेको पैत्रिक सम्पत्ति घर र जग्गा सबै जितेश्वरले ससुरालीका नाममा गरेर श्रीमतीको नाममा सारेपछि आफैले दुःखले बनाएको घर बुहारीको दाईजोमा परिणत भएको छ । श्रीमानको मृत्युपछि कैलासी ठाकुर, उनका कान्छा छोराको घरबाट समेत निकालिएकी छन् ।

अशिक्षाका कारण महिलामाथि हिंसा भईरहेको छ भनिन्छ । तर शिक्षितबाटै हुने हिंसा झन क्रुर देखिएको छ समाजमा । कैलासी ठाकुरले, छोराले पढे सम्पत्ति किन चाहियो भन्दै भएको सम्पत्ति बेचिन दःुख जिलो गरेर छोरा पढाईन् । तर अहिले छोरा बुहारीले दिनहुँ गाली गलौज गर्छन्, खान दिँदैनन् र घरबाट निकाल्छन् ।

यता ठाकुर समाजमा उनका छोराले आफूले गरेको जालसाजी स्वीकार्दै २५ लाख रुपैयाँ आमा र कान्छो भाईलाई दिने भनेर कागज पनि गरेका छन्, तर अहिलेसम्म नदिएपछि कैलासी ठाकुरले अदालतमा मुद्दा दर्ता गरेकी छन् ।

पत्रकार सम्मेलन मार्फत आफ्नै परिवारले आफूमाथि गरेको अन्याय बारे जानकारी गराउँदै सुमित्रा शाह ।

                     पत्रकार सम्मेलन मार्फत आफ्नै परिवारले आफूमाथि गरेको अन्याय बारे जानकारी गराउँदै सुमित्रा शाह ।

धरै महिलामाथि हिंसा आर्थिक कारणले हुने गरेका छन् । त्यसमा पनि श्रीमानको मृत्युपछि सम्पत्तिको कारणले हिंसा हुने गरेको घटनाक्रमले देखाउँछ ।

लहान नगरपालिका कै दशनी दासका श्रीमानको मृत्यु भयो । श्रीमानको मत्युपछि गाउँलेले श्रीमानको संस्कार गर्न दिएनन् । छिमेकीले उनलाई श्रमानको दाहसंस्कार गर्ने भए लहान नगरपालिकामा दशनी दासको नाममा रहेको एक कठ्ठा जग्गा दिनु पर्ने अत्तो थापे । उनकी ६ वर्षकी एक छोरी छन्, आफू दृष्टिविहीन । आफन्तहरू घरपटिका कोही छैनन् । उनका श्रीमान जनकपुरका हुन् । दशनीसँग विवाह गरेपछि उनका श्रीमान ससुरालीमै बस्दै आएका थिए ।

दशनीका श्रीमानको लास उठाउन २४ घन्टासम्म दशनीका आगनमा कोही आएनन् । उनले घरै पिच्छे गएर खुट्टा ढोग्दै श्रीमानको अन्तिम संस्कार गर्नका लागि याचना गरिन् ।

तर छरछिमेकीले लहान नगरपालिकामा रहेको एक कठ्ठा जग्गा धर्मशाला बनाउन दिएमात्र लास उठाउने भन्दै कसैलाई आउन दिएनन् । त्यो जग्गाको अहिलेको बजार मुल्य करोड भन्दा बढी छ । उनले लाख अनुनय बिनय गरिन् । गाउँलेका , खुट्टा ढोगिन् । तर छर छिमेकी कोही आएनन् ।

जग्गा नदिए नगरपालिकाबाट ट्याक्टर ल्याएर फाल भन्दै उल्टै जंगिए । अन्तिममा केही सीप लागेन उनले नगरपालिकाबाट ट्याक्टर ल्याईन् । तर जब ट्याक्टर लिएर आईन उनी छिमेकीले ट्याक्टर घेरेर राखे । मृत्यु भएको २४ घन्टासम्म लास उठेन ।

दशनीले जग्गा दिन नमानेपछि जग्गा नदिए १५ लाख रुपैयाँ दिनुपर्ने कपाली कागज बनाएर ल्याएको भन्दै छिमेकीले सही गरे श्रीमानको शब उठाउन दिने भने । दशनी दासलाई गाउँलेले पछि यो कागज च्यातौला अहिले सही गर भनेर उनलाई करकाप गरे । दुबै आँखा नदेख्ने दशनीलाई जबरजस्ती कपाली कागजमा सही गराईयो ।

अहिले उनी भन्छिन् ‘श्रीमानको लास कति दिन राख्नु भनेर सही गरिदिएँ उनीहरूले १५ लाखको कागज हो भने पन्ध्र लाख थियो कि पचास लाख थियो म आँखा पनि देख्दिन पढ्न पनि जान्दिन।’ अहिले आफ्नै घरमा बस्न कठिन भएको उनी बताउँछिन् । दशनी दास आफूमाथि अन्याय भएपनि उजुरी गर्न नसकेको बताउँछिन् । आफू आँखा नदेख्ने र आफन्तका नाममा नाबालिका छोरीमात्र भएकाल सहारा दिने कोही नहुँदा न्यायका लागि कतै नगएको उनले बताईन् ।

यता लहान नगरपालिकाकी सुमित्रा देवी शाहले आफ्ना श्रीमानको मृत्यु भएपछि लहानमा रहेको आफ्नो किराना पसलका कागजपत्र, बिल भरपाई, देबर महेश शाहले कब्जा गरेको बताईन् ।

लहान नगरपालिकामा आफ्नो नाममा रहेको पाँच धुर जग्गा जेठाजु बैद्यनाथ शाहले मान्छे लगाएर कब्जा गराएको सुमित्रा देवीले पत्रकार सम्मेलन गरेर जानकारी दिईन् । साथै उनले आफू बस्दै आएको लहान ६ मा रहेको घर कब्जा गर्न परिवारका सदस्यले घरभित्र पस्न नदिने, कुटपीट गर्ने , सार्वजनिकस्थलमा गाली गलौज गरेको र चरित्रमाथि आरोप लगाउने गरेको उनले सुनाईन् । सुमित्रा भन्छिन् ‘श्रीमानको मृत्यु भयो, भएको सम्पत्ति पनि परिवारले हत्याउन लागिसके, मेरा साना साना तीन जना छोरी छन,् उनीहरूको पढाईलेखाई लालनपालन कसरी गर्ने, त्यसमा पनि म मुटु रोगी छु ।’

परिवारले भएभरको सम्पत्ति कब्जा गर्न खोजेपछि उनले अदालतमा मुद्दा दर्ता गरेकी छन् ।

एकल भएपछि धेरै महिला हिंसाका शिकार भएको एकल महिला सिरहाकी उपाध्यक्ष मनिता चौधरी बताउँछिन् । सबै एकल महिला संगठित नभएकाले उनीहरूले भोगेका समस्या एकल महिला समूहसम्म पनि आई नपुगेको उनको भनाइ छ । एकल हुने बित्तिकै महिलामाथि आर्थिक, सामाजिक , सांस्कृतिक हिंसा हुने गरेकाले आगामी दिनमा सिरहा भरी रहेका एकल महिलालाई संगठित गर्ने आफूहरूको योजना रहेको उनले बताईन् । महिलाखवरबाट