चैत्र १५, २०८० बिहीबार

एकै वर्ष १५ हजार ३ सय ६ जना महिलाले गरे गर्भपतन



abortion-620x330काठमाडौं, ७ पुस – नेपालमा गर्भपतन गराउने अविवाहित किशोरीहरुको संख्या ह्वात्तै बढेको छ । काठमाडौंमा एकै वर्ष १५ हजार ३ सय ६ जना विवाहित र अविवाहित महिलाले गर्भपतन गराएका छन्, तीमध्ये २० वर्षमुनिका किशोरीको संख्या ३१ प्रतिशत छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार आर्थिक वर्ष ०७२/७३ मा काठमाडौंमा गर्भपतन गराउनेहरुको संख्या १५ हजार ३ सय ६ थियो । यसमध्ये २० वर्ष मुनिका किशोरीहरुको संख्या ३१ प्रतिशत अर्थात् ४ हजार ७ सय २३ रहेको जनाइएको छ । गत वर्ष गर्भपतन गराउने किशोरीहरुको  संख्या २५.२७ प्रतिशत मात्रै थियो ।

अघिल्लो वर्ष गर्भपतन गराउनेहरुको संख्या १३ हजार ६ सय ९ रहेकोमा यो वर्ष १५ हजार नाघेको छ ।

जनस्वास्थ्य कार्यालय, काठमाडौंका तथ्यांक अधिकृत पुष्कर बिजुक्छेका अनुसार, गर्भपतन गराउने २० वर्षमुनिका किशोरीहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

असुरक्षित यौन सम्पर्क, अस्थायी साधनको प्रयोगमा बेवास्ता एवं यौन शिक्षाबारे जानकारी नहुँदा असुरक्षित गर्भ रहन गई गर्भपतन गराउने क्रम बढेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो समय कानूनीरुपमै सुरक्षित गर्भपतन सेवाको उपलब्धताका कारणले पनि सुरक्षित गर्भपतन गर्ने किशोरीहरुको संख्या बढेको कतिपयको धारणा छ ।

‘पहिले लुकिछिपी गर्भपतन गराउँदै आएकोमा अहिले मानिसहरु खुला हुन थालेका छन्’ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. जागेश्वर गौतम भन्छन्, ‘अहिले मान्यताप्राप्त स्वास्थ्य संस्थाहरुबाट गर्भपतन गराउने क्रमले संख्या बढेको देखिएको हो ।’

समाजको खुलापनका साथै सूचना प्रविधिको विकास लगायतको कारणले गर्भपतन गराउनेहरुको संख्या बढ्दो क्रममा रहेको स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाका प्रमुख डा. आरपी बिच्छाले बताए ।

‘गर्भपतन गराउने किशोरीहरुको संख्या बढिरहेको अवस्थामा गर्भपतनको समस्यालाई कसरी सुरक्षित अवतरण गराउन सकिन्छ भनेर स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालय मिलेर अझै धेरै काम गर्नुपर्ने देखिन्छ’, बिच्छाले अनलाइनखबरसित भने ।

नि:शुल्क गर्भपतन सेवा

सुरक्षित गर्भपतनमा टेवा दिन महाशाखाले यसै वर्षदेखि विभिन्न जिल्लाका १२ सय ६५ वटा ठाउँमा ‘किशोर यौन प्रजनन स्वास्थ्य’ नामक विशेष कार्यक्रम लागू गरेको उनले बताए ।

यसका साथै विभिन्न विद्यालयसित मिलेर कार्यक्रम पनि सञ्चालनमा ल्याइएको छ । किशोरीहरुलाई आर्थिक अभावका कारण गर्भपतन गर्न समस्या नहोस् भन्नाका लागि ठाउँ-ठाउँमा निशुल्क सुरक्षित गर्भपतन सेवा सञ्चालनमा पनि ल्याइएको डा. विच्छाले जानकारी दिए ।

गर्भपतन गरेमा के समस्या हुन्छ ?

प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. जागेश्वर गौतमका अनुसार, गर्भपतन आफैंमा जटिल प्रक्रिया हो । यसैले सुरक्षित भन्दैमा पटकपटक गर्भपतन गराउने स्थिति आउन नदिनु नै उचित हुन्छ । असुरक्षित गर्भपतनले स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै ज्यानै जाने अवस्था आउँछ ।

दुई-तीन पटकभन्दा बढी सुरक्षित गर्भपतन गरेमा पनि त्यसले स्वास्थ्यमा प्रतिकूल असर पार्छ । विशेष गरी धेरैपटक गर्भपतन गरेमा पाठेघर पातलो हुने, फुट्ने, पाठेघरमा बच्चा बसिहालेमा पनि नरहने, बच्चा नै नबस्ने लगायतका समस्या निम्तिन सक्छ । त्यस्तै, गर्भपतनका कारण कयौं महिलामा मानसिक असर समेत पर्छ ।

यसैले प्रजनन र गर्भबारे सचेतना आवश्यक रहेको डा. गौतम बताउँछन् । उनी भन्छन्, ‘महिनावारी सुरु भएदेखि नै जुनसकै बेला गरेको असुरक्षित यौन सम्पर्कले गर्भ रहन सक्छ भनेर बुझ्नु आवश्यक छ । त्यसपश्चात् यौन शिक्षाबारे जानकारी आवश्यक छ ।’

असुरक्षित यौन सम्पर्कबाट गर्भ रहन नदिन परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न हिच्किचाउन नहुने उनी सुझाव दिन्छन् । सरकारले यस्ता साधन सहज रुपमा उपलब्ध गराउन ध्यान दिनुपर्ने डा. गौतम बताउँछन् ।