बैशाख ११, २०८१ मंगलबार

पाठेघरको पीडा दबाएर बस्छन् महिला



patheghar ८ पुस, काठमाडौं – ओखलढुंगाकी ३३ वर्षीया मेनुका खत्रीलाई ढाड दुख्ने, योनीबाट सेतो पानी बग्ने, तारन्तार पिसाब लाग्ने र कमजोरी हुने समस्या देखियो । दुखाइ बढ्दै गएपछि उनी घरको कामकाजसमेत गर्नै नसक्ने भइन् । दुखाइको महिनौंपछि काठमाडौं आएर उपचार गर्दा पत्तो लाग्यो, उनको पाठेघर खसेको रहेछ ।

थापाथलीस्थित प्रसूति गृह अस्पतालमा उपचार गर्न आएकी मेनुकाले भनिन्, ‘मैले काम गर्न नसक्ने भएपछि घरमा छोराछोरी र गाईबस्तु भोकै हुने अवस्था भयो, असह्य पीडा भएपछि घर व्यवहार सबै लथालिंग छाडेर आएँ ।’ मेनुकाका अनुसार गाउँमा राम्रो स्वास्थ्य चौकी छैन, स्वास्थ्यकर्मी भेटिँदैनन् त्यसैले गाउँमा उपचार भएन । धेरै पीडाकै कारण तीन महिनादेखि पेनकिलर खाएर पीडा दबाउनुपरेको उनले सुनाइन् । मेनुकाले पाठेघरकै कारण दु:ख खेपेको वर्ष दिन भइसकेको थियो ।

आङ खसेको शंकाले काठमाडौंसम्म उपचार गर्न आएकी उनले दुवै सन्तान शल्यक्रिया गरेर जन्माएकी थिइन् । सुत्केरी बेला राम्ररी आराम गर्न र पर्याप्त पौष्टिक खाना सेवन गर्न नपाएको उनको अनुभव छ । उनले अनुमान गरिन्, ‘त्यसैले चाँडै रोगले समात्यो कि ?’
ओखलढुंगाकी मेनुकाको जस्तै व्यथा छ गोरखाकी नानीमैयाँ आलेको पनि । आलेको पनि पछिल्ला आठ महिनादेखि पाठेघरमा समस्या देखिएको थियो । २० वर्षकी नानीमैयाँलाई योनीबाट सेतो पानी बग्ने, यौनांग पोलिरहने, समयमा महिनावारी नहुने, कोखा घोचिरहनेजस्ता समस्या छन् । गाउँमा उपचार हुन नसकेपछि उनी पनि काठमाडौं नै आइन् ।

उनले भनिन्, ‘गाउँमा अस्पताल छ तर राम्रो उपचार नै हुँदैन ।’ उनले सुरुमा त लामो समयसम्म गाउँकै हेल्थपोस्टमा उपचार गरिन् तर व्यथा उस्तै रह्यो । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका डा. गेहनाथ बरालका अनुसार प्रजनन उमेर भएका अधिकांश महिलामा पाठेघर खस्ने समस्या देखिन्छ । उनका अनुसार यस्तो समस्या सहरभन्दा ग्रामीण महिलामा धेरै छ । बराल भन्छन्, ‘छोटो समयान्तर बच्चा जन्माउने, पोषणयुक्त खाना नखाने, गह्रुँगा भारी बोक्ने, धुवाँयुक्त चुलो प्रयोग गर्नेजस्ता जीवनशैलीका कारण ग्रामीण महिलामा पाठेघरको समस्या धेरै छ ।’ पाठेघरको समस्या हुने महिलाले शारीरिक समस्या त भोग्नु नै छ ।

यसकै कारणले महिला सामाजिक र मानसिक समस्यामा पनि परिरहेको डा. बराल बताउँछन् । ‘पाठेघरको समस्याबारे खुलेर नबोल्ने, उपचार गर्न लाज मान्ने र उपचारमा ढिलाइ भएकै कारण महिलाहरूले आङ खस्नेसम्मका समस्या भोगिरहेका छन्,’ उनले भने । उनका अनुसार महिलाको पाठेघरमा समस्या देखिएपछि यौन जीवन बिग्रने, घर झगडा हुने, श्रीमान्ले दोस्रो विवाह गर्ने र सम्बन्ध विच्छेदसम्म हुने समस्या देखिएका छन् ।

प्रसूति गृह अस्पतालमा दैनिक आउने प्रत्येक एक सय बिरामीमध्ये १५ जना पाठेघरकै समस्यासँग सम्बन्धित हुन्छन् । जसमध्ये दुई जनाको आङ खस्ने समस्याको शल्यक्रिया गर्नुपर्ने देखिन्छ । स्त्री रोग विशेषज्ञका अनुसार नेपालमा पाठेघरको उपचारमा औसत १५ हजारदेखि ५० हजारसम्म लाग्छ । नेपाल सरकारले पाठेघरको समस्यामा लाग्ने उपचार खर्च शतप्रतिशत नि:शुल्क गरेको छ । तर पनि पाठेघरको उपचारकै लागि दिनहुँ प्रसूति गृहको ढोकामा लामो लाइन देखिन्छ । स्त्री रोग विशेषज्ञहरू बर्सेनि बच्चा नजन्माउन, पोसिलो खानामा जोड दिन, सुत्केरी र गर्भवती अवस्थामा नियमित स्वास्थ्य जाँच गराउन सुझाउँछन् । बराल भन्छन्, ‘पाठेघरको समस्याको समयमै उपचार नभए यसले अरू धेरै स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।’

स्वास्थ्यमन्त्री गगन थापा महिलाको पहुँचमा अस्पताल र जनशक्तिबारे अनुसन्धान कार्य अघि बढिरहेको बताउँछन् । उनका अनुसार स्वास्थ्य मन्त्रालयले पाठेघर रोगसम्बन्धी आवश्यक पर्ने उपकरण किन्ने तयारी अन्तिम चरणमा पुगेको छ । कान्तिपुरबाट