बैशाख १२, २०८१ बुधबार

यो चिसोमा किन जुस पिउँछिन करिश्मा ?



karishma-manandhar११ पुस, काठमाडौं- यस्तो चिसो मौसम छ तर नायिका करिश्मा मानन्धरले अन्नपूर्ण होटेलको कफी सपमा एक ग्लास जुस मगाइन् । ‘जाडोमा जुस नै पिउनुहुन्छ?’
‘मलाई जुुस मनपर्छ । तर बढी चिया पिउँछु ।’ – उनले प्रष्ट्याइन्,चिया नपिई चित्त नबुझ्ने उनको बानी छ ।
चियासँगै बिहान एक कप दूध चिया नपिई उनलाई चित्तै बुझ्दैन । हिजोआज पेट अलि लागेझैं लागेर तौल नियन्त्रणको लागि उनले दिनमा तीन पटक ग्रिन टी खाने गरेकी छन् । जडीबुटीयुक्त नेपाली ग्रिन टी उनलाई मनपर्छ ।
कहिलेकाहीँ धनियाँको पातलाई पिनेर पानीमा हाली त्यसमा थोरै दालचिनीको धुलो हालेर हट लेमनमा मिसाइखाने उनको बानी छ । आफूलाई मोटो बनाउनेमा दूध पनि एक हो जस्तो लाग्छ उनलाई । बिहान ब्रेकफास्टमा दूधमा कर्नफ्लेक्स हालेर एउटा अन्डा खाने गरेकी छिन् उनले । जाडो महिना भएकाले भात पनि असाध्यै रुच्छ उनलाई । तरकारीमा विशेषगरी साग मन पराउँछिन् करिश्मा । तर तरकारी अग्र्यानिक होस् भन्ने उनको चाहना हुन्छ ।
गोदावरीस्थित आफ्नो घरबारीमा फलेका स्कुस, लसुन, धनियाँ, प्याज, लप्सी उनी खुब खान्छिन् । सागसब्जीमात्रै नभई घरमा कुखुरा पनि पालेको हुनाले मासु खान मन लागे लोकल कुखुरा रोज्छिन् उनी । मासु प्रायः सधैँ हुन्छ । तर उनी जतिसक्दो थोरै खाने प्रयास गर्छिन् । मासुमा माछा र सिफुड मीठो मान्छिन् करिश्मा । मासु खाएपछि सलाद अनिवार्य चाहिन्छ उनलाई ।
शारीरिक रूपमा फिट रहन खानामा नियन्त्रण गर्नुपर्छ । धेरै पटक खानु तर थोरै थोरै खानु । छ भने सानै भए पनि बारीमा, नभए घरको छतमा रोपेर अग्र्यानिक तरकारी खाए स्वस्थ रहन सकिन्छ ।
हिजोआज शिशिर राणाको चलचित्र ‘तिमीसँग’को एउटा गीतको छायांकन भइरहेकाले त्यसको लागि शरीरलाई सन्तुलित राख्न उनले मासु र सलादमात्रै खाने गरेकी छन् । जाडो महिना भएकाले दालमा एक चम्चा घिउ हालेर खान रुचाउने करिश्मा भन्छिन्, ‘जाडोमा शरीरलाई चिल्लो चाहिन्छ । त्यसैले घिउ, चिज, बटर खाए अनुहारमा चमक आउँछ ।’ उनको अनुभवमा मैदा, भात, चिनी र नुन धेरै खानु राम्रो होइन । त्यसैले जति सक्दो कमै खाने गर्छिन् । तर मम र आलुको नाम सुनेपछि सम्झौता गर्नै नसक्ने उनी भन्छिन्, ‘आलु र ममको लागि नो डाइटिङ ।’
चलचित्र र विभिन्न कार्यक्रमको सिलसिलामा हिँडिरहनुपर्ने भएकाले जहाँ पुग्यो त्यहीको खानामा भिज्न सक्ने उनको बानी छ । चाडपर्व अनुसारका खानाकी पारखी हुन् उनी । खासै डाइटिङ गर्दिनन् । तर एक पटक चलचित्र ‘वसन्ती’को छायांकनको क्रममा करिब सात महिना छायांकन अवधिभर उनले आफ्नो तौललाई ४५ किलोमै राखिरहन डाइटिङ गरेकी थिइन् । यो उनको जीवनकै सबभन्दा लामो डाइटिङ हो ।
करिश्मा खानाले आफ्नो जीवनमा विशेष महत्व राख्ने बताउँछिन् । खानाको पारखी उनी जति हुन् त्यति नै मीठो खाना पकाउँछिन् । उनले बनाएको खसीको पक्कु सबैले प्रशंसा गर्छन् । शारीरिक रूपमा फिट रहन खानामा नियन्त्रण गर्नुपर्छ र तरिकाले खानुपर्छ भन्ने उनलाई लाग्छ । ‘धेरै पटक खानु तर थोरै थोरै खानु’, उनकाे सुझाव छ । छ भने सानै भए पनि बारीमा, नभए घरको छतमा रोपेर अग्र्यानिक तरकारी खाए स्वस्थ रहन सकिन्छ भन्ने उनलाई लाग्छ ।

दिनमा पटकपटक गरेर पाँच लिटरभन्दा बढी पानी पिउने करिश्मा अरुलाई पनि धेरै पानी पिउन सल्लाह दिन्छिन् । आफ्नो शरीरलाई सधै‌ सन्तुलित र राम्रो राख्न व्यायामलाई उनी अनिवार्य मान्छिन् । खानामा नियन्त्रणका साथै नियमित व्यायामले उनलाई अहिलेसम्म पनि उत्तिकै सुन्दर र फुर्तिलो बनाएको छ । प्रस्तुति : रामकला खड्का/अन्नपूर्ण टुडे