बैशाख १२, २०८१ बुधबार

महिला डाक्टर भेट्दा खुसी



mahila-doctor१२ पुस, दैलेख-  रानीवन– ९ की मैनकला विक ४० वर्षकी भइन् । उमेर छिप्पिँदै जॉदा रोगले च्याप्दै गएपछि एक वर्षदेखि अस्पताल धाइरहेकी छन् । तर, तल्लो पेट दुख्ने समस्याबाट भने छुट्कारा पाएकी छैनन् ।

वर्ष दिनदेखि बिरामी उनी गाउँकै स्वास्थ केन्द्रबाट सामान्य उपचार गरेर बसेकी थिइन् । रोग जटिल बन्दै गएपछि जिल्ला स्वास्थ्यमा आइन् । यस पटक भने पुरुष डाक्टरलाई झैं उनलाई रोग लुकाउनुपरेन । महिला चिकित्सक भेटेपछि उनले आफ्ना सबै समस्या खुलस्त सुनाउन सकिन् । मैनकला मात्र होइन, पुरुष डाक्टरसँग आफ्ना सबै समस्या बताउन नसक्ने बिरामी महिलामा पाएपछि खुसी छन् । ‘लोग्नेमान्छेसँग कसरी सबै समस्या भन्ने । गाह्रो हुन्थ्यो । महिला पाउँदा सजिलो भएको छ,’ उनले भनिन् ।
तल्लो पेट दुख्ने र रगत बग्ने समस्याबाट ग्रसित उनी अहिले निकै खुसी छन्् । जिल्ला स्वास्थ्यमा डा. खिमकुमारी न्यौपाने कार्यरत छिन् । उनी हाजिर भएसँगै महिला बिरामीले सहज महसुस गरेका छन् । न्यौपाने दुई साताअघि मात्रै दैलेख आएकी हुन् । रानीवन स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले ‘जिल्ला अस्पतालमा महिला डाक्टर छन् । उनैलाई देखाउनुहोला,’ भनेपछि मैनकला सरासर सदरमुकाम आएकी हुन् ।
‘पुरुष डा..सँग आफ्नो समस्या भन्न लाज लाग्थ्यो । महिला देख्दा खुसी लाग्यो,’ मैनकलाले भनिन्, ‘रोग लागेको एक वर्षभन्दा बढी भइसक्यो । बल्ल जचाउन पाइयो ।’
डा. न्यौपानेकै छेउमा जाँच गर्दै गरेका डा. अनील खरेल उपचारमा पनि महिला र पुरुषमा धेरै फरक हुने गरेको अनुभव सुनाउँछन् । लाजले रोग लुकाएर बस्न बाध्य महिला जिल्लामा महिला डाक्टर छन् भन्न सुनेपछि उत्साही छन् ।
धेरैले श्रीमान्को डरले पनि आङ खस्ने रोग लुकाएर बस्ने गरेको पाइएको छ । सुर्खेत तातापानीकी डा. न्यौपाने अध्ययन पूरा गरेलगत्तै दैलेख पुगेकी हुन् । एमबीबीएस नेपालगन्ज मेडिकल कलेजबाट गरेकी उनी दैनिक २०–२२ महिलाको स्वास्थ्य उपचार गरिरहेको बताउ‘छिन् ।
उनले दुर्गम जिल्लामा आएर सेवा गर्न पाउँदा खुुसी लागेको बताइन् । ‘ग्रामीण भेगका महिला आफ्नो स्वास्थ्य समस्या पुरुषसँग भन्न लजाउँछन् । त्यसैले म आएपछि मेडिकलमा जाँच गराउने महिला बढेका छन्,’ उनले भनिन् । अस्पतालले २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । उनीसहित जिल्ला अस्पतालमा दुई, दुल्लु अस्पतालमा एक महिला र प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्र र नौमुलेमा १/१ डाक्टर कार्यरत छन् । कान्तिपुरबाट