बैशाख ८, २०८१ शनिबार

महिलाहरुले तालिम लिएपछि गाउँका दिन फर्के



dhakaइलामः इलामको महमाईमा पुग्न कठोर यात्रा पूरा गर्नुपर्छ । माइखोलाको भेलले कतिबेला कसलाई बगाउने हो थाहा नै हुँदैन । हाट बजार गर्न पनि माइको पीर खपिनसक्नु छ । उब्जाएको तरकारी बेच्ने ठाउँ छैन ।

बर्खा लागेपछि अरुसँगको सम्बन्ध बिच्छेद हुने महमाईकी विष्णेटारकी बिमला लोक्तामको खाली समय ढाका बुनेर बित्न थालेको छ । उनको हातमा सानोतिनो रकम पर्न थालेपछि जीवन अलिक सहज भएको छ ।

उनी खेतीको सिजनमा खेती गर्छिन् । खेतीबाट बचेको समय ढाकाको कपडा बुन्ने तानमा बिताउँछिन् । बिकट गाउँका लागि रोजगारीको यो उपाय भित्रिएको धेरै भएको छैन । उनि भन्छिन्, ‘काम थालेको एक वर्ष भयो ।’ उनले बनाएको एउटा साडी पाँच हजारदेखि १० हजारसम्ममा बिक्न थालेको छ । उनको सीप धेरै घरबाटै बिक्छ । नबिकेको इलाम सदर मुकामबाट बिक्ने गरेको छ ।

एउटा साडी बनाउन चार दिन लाग्छ । उनले बनाउने धागो ल्याउने गरेकी छन् । १४ जनाले तालिम लिएकामा अहिले सात जनाले निरन्तर काम गरिरहेका छन् ।
एउटा तान बनाउ तीन हजार भए पुग्छ । ठूलो लगानी पनि परेन । बनाएको कपडा नबिक्ने समस्या छैन । स्थानीय डिल्ली तामाङ, सुस्मीता लोक्तान, सुमनमाया सिञ्चिउरीलगायतका महिलाले आय आर्जनका लागि राम्रो बाटो पाएको बताए ।

घरेलु तथा साना उद्योग विकास समिति इलामले विपन्न उद्यमीलाई एकै ठाउँमा बसेर काम गर्ने सुविधाका लागि बिस्नेटार साझा सुविधा केन्द्र स्थापना गरिदिएपछि घरमा काम गर्ने ठाउँ नहुने त्यही ठाउँमा बसेर ढाका बुन्ने योजनामा छन् ।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तरगत स्थानीयलाई रोजगार बन्ने तालिम दिएपछि महमाईको दिन फर्कैको स्थानीय सेतु तामाङ बताउँछन् । त्यहा ढाका बाहेक, कुसन, कृषि, वायरिङ तालिम पाएका स्थानीयमध्ये धेरैले राम्रो आरर्जन गर्न थालेको बताए । तरकारीखेती तालिम लिएका किसानले रोग कीराको रोकथाम बारेमा समेत प्रयास थालेको बताए ।

तालिमको सीप प्रयोग गरेर मल र विषादी बनाउने कृषक पनि निस्कीएका छन् । स्थानीय खेमबहादुर खड्काले स्थानीय झारपातबाट विषादी बनाएको सुनाए । उनले भने, ‘यसपटक आलुमा रोग लाग्दा आफैंले बनाएको विषादी प्रयोग गरें । यसपटक विषादीमा खर्च भएन ।’ अहिलेसम्म रोगले नछोएको उनले बताए ।

स्थानीयमा आफ्नै खुट्टामा उभिएर केही गर्ने हौसला पनि थपिएको गाविस सचिव चन्द्र पौड्यालले बताए । यस्ता प्रयासले स्थानीयलाई उद्यमी बन्न मद्दत गरेको घरेलु तथा साना उद्योग विकास समिति इलामका प्रमुख नवीन पौड्याल बताउँछन् । इलाममा स्थानीय साना उद्यमी बनाउन सात सयलाई तालिम दिएको पौड्यालले बताए ।