बैशाख ११, २०८१ मंगलबार

सुन्तला फलाएर धनी बन्दै म्याग्दीका महिला



suntala-2-2म्याग्दी – भकिम्ली २ मरेककी एकल महिला जमुना थापाले यसबर्ष साढे ३ लाखको सुन्तला उत्पादन गरिन् । अविवाहित थापाले सुन्तला अधिकांस समय सुन्तला बगैँचामै दिन विताउँछिन् । गाउँकै कर्ण कुमारी पुर्जाले बारीबाटै ३ लाख बराबरको सुन्तला विक्री गरिन् । करिव २२ घरधुरी रहेको मरेकमा थापा र पुर्जाले सबैभन्दा धेरै सुन्तलाबाट आम्दानी गरेका छन् । पछिल्लो समय म्याग्दीमा ब्यवसायीक सुन्तला खेती महिलाको आम्दानीको बलियो माध्यम बनेको छ । घरायसी काममा सिमित र परिवारका अन्य सदस्यमा निर्भर रहेका महिलाले आफ्नै सक्रियतामा धमाधम सुन्तला खेती विस्तार गरेपछि तीनबर्ष यता रहरलाग्दो आम्दानी गरिरहेका छन् ।
सामान्य खर्चको जोहो गर्न श्रीमान तथा छोराछोरीमा निर्भर महिलाको आम्दानी पुरुष सरह रहेको छ ।‘सुन्तला खेतीले आत्मनिर्भर बनाएको छ । आर्थिक अभावकै कारण आफन्तलाई सापटी माग्नुपरेको छैन’ मरेककी जमुना थापाले भनिन् । उनले एकल महिलालाई समाजमा फरक दृष्टिकोण हेर्ने गरिएको अवस्थामा आफ्नो साहरा सुन्तला बनेको बताईन् । सुन्तला विक्री गरेर महिलाले बार्षिक गाउँमै तीन लाखसम्म नगद बुझ्न थालेपछि सुन्तला खेतीप्रति पुरुषको समेत आर्कषण बढेको छ । ‘एउटा महिला शिक्षत भए परिवार शिक्षित हुन्छ भन्ने भनाईको यहाँका महिलाल पुष्टी गरेका छन् । महिलाकै मेहनतामा सुन्तला खेती विस्तार भएको छ’ नवजनज्याती प्राविका प्रधानध्यापक प्रेम बहादुर थापाले भने ।
उनले सुन्तला बारीको रेखदेख, मलजल, पुराना बोटको उपचार, कृषि कार्यालयसंग परार्मश तथा तालिममा समेत महिलाको सहभागिता रहने गरेको समेत बताए । आफ्नो श्रीमतिले समेत सुन्तला विक्रीबाट बार्षिक २ लाख कमाउने गरेको बताउँदै थापाले महिलाले सुन्तलाबाट आम्दानी गर्न थालेपछि गाउँमा पुरुषले समेत सिको गर्न थालेको बताए । भकिम्लीको मरेक र राखु गाउँमा महिला सुन्तला खेतीप्रति आर्कषित भएपछि दुईगाउँबाट यसबर्ष करिव ३३ लाखको सुन्तला पोखरा, काठमाण्डौ, बुटवल लगाएतका जिल्लामा खपत भएको छ ।सुन्तला खेतीमा सक्रिय रहेका महिलाले धेरै आम्दानी गर्न थालेपछि गाउँमा रहेको कृषक समुहको नेतृत्वमा समेत पुरुषले दावी गर्न छाडेका छन् ।
भकिम्ली–५ राखुकी मन कुमारी पुनको नेतृत्वमा रहेको ओखरबोट सुन्तला कृषक समुहले यसबर्ष २० लाखको सुन्तला गाउँबाटै विक्री गरेको छ । ‘सुन्तला महिलाको शक्ती बनेको छ । आम्दानीमा पुरुषसंग प्रतिस्पर्धा गर्ने हैसियत महिलाले बनाएका छन्’ समुहकी अध्यक्ष पुनले भनिन् । उनले आफ्नो सुन्तलाबारीबाट करिव ३ लाख २० हजार बराबरको आम्दानी गरेको बताईन् । गाउँमा भिम कुमारी घर्ती, जसिकला रोका, लिला पुन र भुमी पुन पुरुषको तुलनामा सुन्तलाबाट आम्दानी गरेका छन् । महिला आफ्नै प्रयासमा गरेका सुन्तला लगाएतका कृषिजन्य खेतीमा समेत पुरुषको सहयोग भनेर महिलाको सक्रियतालाई अपमान गर्ने गरेको समेत उनीहरूको गुनासो छ ।
यता जिल्ला कृषि विकास कार्यालय म्याग्दीका प्राविधिक श्यामराज क्षेत्रीले महिलाको सक्रियतामा गरिएको सुन्तलाले राम्रो फल दिएको बताए । ‘सुन्तला टिपेपछि अर्को फल टिप्ने बेलासम्म महिलाले रेखदेख गरेको देखियो । तालिममा पनि महिलाको तुलनामा पुरुषको सक्रियता धेरै छ’ क्षेत्रीले भने । उनले कृषिजन्य बस्तुको उत्पादन सम्बन्धि तालिममा सहभागि हुन समेत आनाकानी गर्ने महिलाहरूले कुनै समस्या देखिए तत्कालै फोनबाट जानकारी गराउने र परार्मशका आधारमा उपचार विधीको प्रयोग गर्ने गरेको समेत बताए । सुन्तलाको पकेट क्षेत्र मानिएका जिल्लाका विभिन्न गाउँमा महिलाहरूको सक्रियता बढेपछि उत्पादनमा बृद्धिका साथै नयाँ विरुवा समेत धमाधम विस्तार भइरहेको छ ।