बैशाख १३, २०८१ बिहीबार

महिलाको नाममा जग्गा बढ्यो



napi

सुर्खेत – सरकारले मालपोत करमा छुट दिएपछि यहाँ भूमिमा महिलाको स्वामित्व बढ्दै गएको छ । घरमूली पति रोजगारी क्रममा विदेश रहनु, सरकारले महिलाका नाममा जग्गा पास गर्दा लाग्ने राजस्वमा छुट दिनुजस्ता कारणले पनि महिलाको स्वामित्व भूमिमा बढेको हो ।

मालपोत कार्यालयका अनुसार आव ०७२/७३ मा सहरी क्षेत्रका ८ हजार १९ र ग्रामीण भेगका २ हजार १ सय ५५ गरी १० हजार १ सय ७४ महिलाले आफ्नो नाममा जग्गा पास गरेको तथ्यांक छ । जग्गा रजिस्ट्रेसन पास गरेबापत महिलाले १ करोड ४७ लाख ५९ हजार २ सय २० रुपैयाँ छुट पाएका छन् ।
‘सरकारले महिलालाई जग्गा रजिस्ट्रेसनबापत लाग्ने दस्तुरमा २५ प्रतिशत छुट दिन थालेपछि उनीहरूको स्वामित्व पनि बढेको हो,’ मालपोत प्रमुख काशीराम खत्रीले भने, ‘चेतनास्तर वृद्धिले पनि महिला आफ्नो अधिकार प्रयोग गर्न अग्रसर भएका हुन् ।’ उनले सशक्तीकरण, छुटको आकर्षण, पुरुष घरबाहिर, शिक्षामा पहुँच पुगेका कारण भूमिमा महिला स्वामित्व बढेको दाबी गरे ।
सरकारले महिला, दलित, सहिद परिवार, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, उद्योगधन्दा, हाइड्रोपावर, चिया खेतीलगायत शीर्षकमा जग्गा पास गर्दा लाग्ने दस्तुरमा छुट दिने व्यवस्था गरेको छ । यसले गर्दा जग्गाधनी महिला बढेका हुन् । ०६४ देखि भूमिमा महिलाको स्वामित्व बढाउन महिला जग्गाधनीलाई प्रोत्साहन गर्न कर छुट दिने नीति सरकारले लागू गरेको हो ।
सहरी क्षेत्रको तुलनामा ग्रामीण भेगका महिलाको संख्या कम नै छ । जग्गा खरिद–बिक्री गर्दा महिलाको नाममा पास गरिने जग्गा गाविस क्षेत्रको भए ३० र नगरपालिकाको हो भने २५ प्रतिशत छुट पाउने व्यवस्था छ । मालपोतका सूचना अधिकारी गणेशप्रसाद आचार्यका अनुसार आव ०७१/७२ मा जग्गा पास गर्ने ८ हजार ९४ मध्ये ४ हजार ६ सय ७८ महिला थिए । यसमध्ये ६ सय ७९ ग्रामीण र ३ हजार ९ सय ९९ सहरी क्षेत्रका छन् । त्यस्तै, आव ०७०/७१ मा ७ हजार ९ सय ४५ ग्रामीण क्षेत्र र दुई हजार ४९ सहरी क्षेत्रका गरी कुल ९ हजार ९ सय ९४ जनाले लालपुर्जा लिएका थिए । जसमध्ये २ हजार ६३ ग्रामीण क्षेत्रका महिला थिए भने ४ सय ८५ सहरी क्षेत्रका गरी २ हजार ५ सय ४८ महिलाले आफ्नो नाममा जग्गाधनी पुर्जा बनाएका थिए ।
महिला तथा बालबालिका कार्यालय सुर्खेतकी प्रमुख जमुनादेवी पौडेलले सम्पत्तिमा महिलाको पहुँच स्थापित हुनुले लैंगिक विभेद न्यूनीकरणमा मद्दत पुगेको बताइन् । पछिल्ला वर्ष संयुक्त लालपुर्जा (पति–पत्नी) कै नाममा लिने क्रम पनि बढदो छ ।