चैत्र १६, २०८० शुक्रबार

उपचारका क्रममा सुत्केरीको मृत्यु, लापर्बाहीले मृत्यु भएको आफन्तको अारोप



Narayani hospital

पर्सा – वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा  एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ। नगरदाहा गाविस– ४ निवासी जवाहिर साह तुरहाकी २० वर्षीया श्रीमती चन्द्रज्योतिको उपचारका क्रममा मृत्यु भएको हो।

उपक्षेत्रीय अस्पतालको प्रसूति केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीको लापर्बाहीका कारण श्रीमतीको मृत्यु भएको श्रीमान् जवाहिरले आरोप लगाए।

उनले राति करिब १ बजे श्रीमती चन्द्रज्योतिले पहिलो सन्तानका रुपमा घरमै छोरीलाई जन्म दिएको र सालनाल मात्र ननिस्किएका कारण नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा सञ्चालित एम्बुलेन्स मार्फत बिहान २ बजे उपक्षेत्रीय अस्पताल भर्ना गराइएपछि अस्पतालमा चिकित्सकको अनुपस्थितिले उपचार अभावमा उनकोे मृत्यु भएको जिकिर उनले गरे।

‘अस्पताल भर्ना गएको दुई घन्टासम्म चन्द्रज्योति पीडाले छट्पटिए पनि तत्काल कार्यरत स्वास्थ्यकर्मीले चिकित्सकलाई खबर नै नगरेका कारण उनको उपचार अभावमा मृत्यु भएको हो’,  मृतकका आफन्तको भनाइ छ।

उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरन्जन साहले चन्द्रज्योतिको अत्यधिक रक्तस्राबका कारण मृत्यु भएको जानकारी दिए। उनले घरमा प्रसवका बेला सुत्केरीको शरीरबाट अत्यधिक मात्रामा रगत बगेको र अस्पतालमा भर्ना हुँदा स्वास्थ्य अवस्था गम्भीर भएपछि काममा खटिएका चिकित्सकले उपचारमा अपनाउनुपर्ने सबै उपाय अपनाए पनि उनको बिहान ४ बजे मृत्यु भएको जिकिर गरे।

शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। शव परिवारको जिम्मा लगाइएको अस्पतालले जनाएको छ।