बैशाख ८, २०८१ शनिबार

ग्रामिण क्षेत्रका अपांग महिला र बालिकाहरु विभेदको दोहोरो चपेटामा



Apanga

काठमाडाैँ – ग्रामिण क्षेत्रका अपांग महिला र बालिकाहरु विभेदको दोहोरो चपेटामा परेको तथ्याँक सार्वजनिक भएको छ । अपांगताको क्षेत्रमा काम गर्ने व्यक्तिहरुले यस्तो विवरण सार्वजनिक गर्दै उनीहरुको समस्याप्रति दातृ निकाय र सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताएका छन् ।

१०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अष्ट्रेलियन दुतावास, अपांग महिला संघ र संचारिका समूहद्धारा आज काठमाडौंमा आयोजित ‘अपांगमैत्री गुणस्तरीय शिक्षा’ विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरुले उक्त कुरा उठाएका हुन् । समाजले गर्ने विभेदका कारण अपांग महिला तथा बालबालिकाहरुले बढी मात्रमा मानसिक समस्या झेल्नुपरेको उनीहरुको भनाई छ । समावेशीको नाममा अपाङगता भएका सबैलाई एउटै प्रकारले सम्बोधन नहुने भन्दै उनीहरुले फरक किसिमका अपा‌गता भएकालाई फरक – फरक किसिमको आवश्यकता पर्ने हुँदा शारीरिक र मानसिक अवस्था र क्षमता सुहाउँदो शिक्षा र भौतिक सुविधा राज्यले व्यवस्था गरिदिनुपर्नेमा अन्तर्कियाले जोड दिएको थियो ।

सो अवसरमा बोल्दै अष्ट्रेलियन राजदूत ग्लेन हवाइट्ले महिलाको आर्थिक सशक्तिकरणमा शिक्षा र सीपले महत्वपूर्ण भूमिका खेल्ने बताए । यसले जीवनस्तर सुधार मात्र नभएर देशको आर्थिक विकासमा समेत टेवा पुग्ने उहाँको भनाई थियो ।

अपांग महिलाले तुलनात्मक रुपमा धेरै समस्या झेल्नुपर्ने भएकाले यसतर्फ राज्य र सरोकारवाला सबैको ध्यानाकषर्ण हुनुपर्ने उनले बताए । लैगिक समनताको विषय मानव विकास र आर्थिक विकाससगँ प्रत्येक्ष सरोकार राख्ने भएकाले दूतावास लैंगिक समानता र महिला सशक्तिकरणमा काम गर्न निरन्तर लागिरहने बताए ।

कार्यक्रममा शिक्षा मन्त्रालयका उपनिर्देशक गणेश प्रसाद पौडेलले महिलाको सशक्तिकरणका लागि शिक्षामा जोड दिनुपर्ने बताए । नेपाल अपांग महिला संघकी अध्यक्ष निर्मला धितालले सन् २००७ मा संघले गरेको अध्ययन अनुसार नेपालमा ४ प्रतिशत महिला अपांग रहेको र त्यसमध्ये ५० प्रतिशत यौन हिंसामा परेको जानकारी दिईन ।

नेपाल पत्रकार महासंघकी उपाध्यक्ष अनिता विन्दुले अपांग महिलाको विषयलाई संचारमाध्यममा स्थान दिन महासंघले पहल गरिरहेको बताए ।