चैत्र १५, २०८० बिहीबार

झारफुकमा भर पर्दा बालिकाको ज्यान गयो



Sarita

पाँचथर -धामीझाँक्रीको भर पर्दा एकबालिकाले अकालमै ज्यान गुमाउनुपरेको छ ।  पेट दुखेर सिकिस्त बिरामी भएकी आङ्ना ३ की आठ वर्षीया एक बालिकाको उपचारमा धामीको भर पर्दा मृत्यु भएको छ । बलबहादुर तामाङ र सरिता तामाङकी जेठी छोरी अञ्जुको उपचारमा धामीको भर पर्दा मृत्यु भएको हो ।

‘पेट दुखेर सिकिस्त बिरामी भएकी छोरीलाई बचाउन सकिन्छ कि भनेर गाउँकै धामीलाई झारफुक गर्न लगाएँ तर बचाउन सकिनँ’, सरिताले भनिन् । साथीहरूसँग जंगलमा घाँस काट्न गएकी अञ्जु पेट दुख्यो भन्दै घर आएपछि आमा सरिताले गाउँमै नाम चलेका धामी टटबहादुर तामाङलाई जोखना हेर्न लगाइन् । धामीले बच्चालाई कालो र सेतो भूत लागेको भन्दै झारफुक गरेका थिए । धामीले बच्चालाई झारफुक गरेपछि पनि सन्चो नभएपछि गाउँका अरू धामीलाई पनि जोखना हेर्न लागाएर सरिताले बिरामी छोरीलाई बचाउने प्रयास गरेकी थिइन् ।

‘दुई दिनमा गाउँका सातजना धामीलाई झारफुक गर्न लगाएँ’, सरिताले भनिन्, ‘बिरामी भएको दुई दिनपछि हुर्किएकी छोरीको ज्यान गयो ।’ पेट दुखेर सिकिस्त बिरामी भएकी अञ्जुलाई अत्यधिक पखाला चलेको र बान्ता गर्ने गरेको सरिताले बताइन् ।

‘बिरामी भएको दुई दिनमै छोरीको मृत्यु भयो’, सरिताले बिलौना गर्दै भनिन्, ‘धामीको कुरा सुनेर उपचारका लागि अस्पताल लगिनँ । अहिले पछुतो भएको छ ।’ श्रीमान् घरमा नभएकाले सरितालाई बिरामी छोरीको उपचार गर्न अस्पताल लैजाने सल्लाह दिने कोही नभएपछि धामीको झारफुकमै भर परेपछि हुर्किएकी छोरी गुमाउनु परेको हो । सरिताले तीन छोरीलाई जन्म दिएकी थिइन् । उनले तीन छोरीमध्ये दुई छोरी गुमाइसकेकी छन् । ‘गत साल कान्छी छोरी अनिस्काको मृत्यु भयो, यो साल जेठी छोरी गुमाएँ, दैवले पनि मलाई नै ठग्छ’, सरिताले आँसु झार्दै भनिन् ।

आफू बिरामी भएपछि कान्छी अनिस्काले उचित स्यहार नपाएर मृत्यु भएको उनले बताइन्।जिल्लाको ग्रामीण क्षेत्रमा अझै पनि बालबच्चा बिरामी भए धामी झाँक्रीको झारफुकमा विश्वास गर्ने गरिएको छ ।