कहाँ जाने हो बुढेसकालमा झोला बोकेर ? रहर एसएलसी दिनलाई

जीवन पराजुली / चैत्र १, २०७३ - मङ्लबार


Praudh sikshya

काभ्रे  – उमेरले ४० कटेकी चण्डेनी गाविसकी देवी सापकोटा प्रवेशिका परिक्षा कसरी दिन सकिन्छ भन्ने चिन्तामा छिन् । कसैले नियमित पढाइदिने वातावरण बनाइदिए आफू एसएलसी दिने सोचमा रहेको सापकोटा बताउँछिन् ।

 “गाउँभरिका पुरुष पढेलेखेका छन् । हातहातमा मोबाइल बोकेर संसारभरिका मान्छेसँग कुराकानी गर्छन् तर आफूलाई भने कागलाई बेल पाक्यो हर्ष न विस्मात झैं हुन्थ्यो ।”

गाउँमा शुरु भएको प्रौढ कक्षासँगै उनी यत्तिखेर मोबाइल चलाउनसक्ने भएको बताउँछिन् । त्यसका साथै उनी आफ्ना भावना गीत र कवितामार्फत व्यक्त समेत गर्न थालेको बताउँछिन् । “अब यत्तिले पुग्दैन, हामी एसएलसी दिन चाहँन्छौ । यसको व्यवस्थापन सरकारले गरिदिओस्,’ सापकोटाले आफ्नो पढ्ने इच्छा पूरा गरिदिन अनुरोध गरिन् ।

चण्डेनी गाविसस्थित रायोबारीकी कालिका नेपाल उमेरले ६० कट्न लागिन् । उनको दैनिकी पनि सापकोटाको जस्तै छ । बिहान भान्छाको कामसँगै गाई भैंसीलाई दानापानी र नातीनातिनीलाई खाना खुवाएर विद्यालय पठाएसँगै आफू पनि कापीकलम र किताब बोकेर प्रौढ कक्षामा जानु उनको दैनिकी बनेको छ अचेल ।

‘शुरुमा बुढेसकालमा पढ्न सकिएला जस्तो लागेको थिएन तर पढ्नका लागि उमेरले छेक्दो रहेनछ,’ उनले आफ्नो अनुभव सुनाइन् । अहिले त नाति नातिनी जस्तै आफू पनि सामान्य अक्षर चिन्न र पढ्न सक्ने भएको नेपालले सुनाइन् ।

आफूलाई पनि एसएलसी दिने खुब रहर भएको नेपालले सुनाइन् । ‘पहिला–पहिला सवारी साधन चढ्नको लागि पनि सहचालकसँग सोध्नुपर्थ्यो र कहाँ पुगियो, ओर्लने बेलामा समेत समस्या पर्ने गर्थ्यो । तर अहिले त्यो समस्या हुँदैन,’ उनले भनिन्, ‘म खुशी छु । अब अंग्रेजी जान्ने ठूलो इच्छा छ’, उनले भनिन् ।कालिका नेपालजस्तै यहाँका अधिकांश महिला यत्तिखेर गाउँमा प्रौढ कक्षाले ल्याएको परिर्वतनको महसूस गरिरहेका छन् । उनीहरू पढाइसँगै सीप तथा तालिम प्राप्त गर्न सके दाउरा, घाँस, मेलापात र भान्छाचुलोसँगै अन्य आम्दानीको कामसमेत गर्न सकिन्थ्यो भन्दै थप पढाइको माग गरिरहेका छन् ।

काभ्रेको महादेवस्थान रानीटारका अधिंकाश महिला पढ्नका लागि उमेरले छेक्दैन भन्दै यत्तिखेर प्रौढ कक्षा लिन जान थालेका छन् । तीन महिना अघिदेखि शुरु भएको प्रौढ कक्षालाई उनीहरू बीचैमा छोड्नु नपरोस् भन्नेमा छन् ।
करीब ३५ जना महिला नियमित प्रौढ कक्षाबाट लेख्न, पढ्न जान्ने भएपछि यत्तिखेर उनीहरू प्रवेशिका परीक्षा दिन पाए हुन्थ्यो भन्दै गैरसरकारी संस्थाहरूलाई त्यसको चाँजोपाँचो मिलाइदिन आग्रह गरिरहेका छन् ।

गाउँका अधिकांश निरक्षर महिला  यत्तिखेर सामान्य लेख्न र पढ्न त जान्ने भए तर उनीहरू  आफ्नो पढाइ दुईचार महिनामै छोड्नुपर्ने भो भन्ने चिन्तामा रहेको बताउँछन् ।

चिअर नेपाल नामक संस्थाले  महिलाको शिक्षामा विशेष तवरले कार्यक्रम ल्याउने संस्थाका अध्यक्ष सन्तोष दाहालले बताए । ‘हामी महिलाहरूको इच्छा मार्दैनौं जसले पढ्ने चाहना राखेको छ, उसले पढ्न पाउनुपर्छ यसका लागि संस्थाले आवश्यक पहल गर्छ,’ दाहालले भने । लोकान्तरबाट


प्रतिक्रिया दिनुहोस


सब्य र भब्य तरिका ले आफ्नो धारणा राख्नुहोस।

error: Content is protected !!