बैशाख ७, २०८१ शुक्रबार

मायामा कुपोषण



Sarala Gautam

नाकको डाँडीमा चस्मा अड्याँउदै मास्टर्नीले बिल्याक बोर्डमा लेखिन्ः ‘मायामा कुपोषण।’

‘तोइट! टाइटल बबाल! अगाडि बेन्चमा चिँउडोमा हात अड्याएर बसेको चारआँखे (चस्मे) ले सटाइलमा कमेन्ट गरो।

बन्द गर्या ढोका चुइयाँ करायो। हैट झक्स ब्रोले इन्ट्री मार्यो। उसका बाजेका पालामा जसरी कापी बटारेर कागजबाट तेल निकाल्छ कि जस्तो गरी हातमा समात्या छ।

अन्डरवेयरको कलर र प्यान्टको कलर मिक्स म्याच खाइरा हुन्छ जैले पनि झक्सको। मायामा पाँचपटक गुल्टीसको। लास्ट टाइमकी गर्लफिरिन्डले स्यान्डलले ढाडमा खोबिल्टो नै पार्देकी छ। बरा घाइते छ। अर्की केटीसंग बसेर मोमोका ताता डल्ला मुखमा हाल्दै मस्किराको बेला केटीले रंगेहात भेटेर गोदेकी रे। खै किलासाँ हल्ला त्यसतै गर्छन्।

झक्सको पछिपछि एन्टेना छिरी ए राता मकै! बाटो हिँड्दा सीधा हिँडे पनि यसको खोपडीको एन्टेनाले सबथोक टिप्छ। यो पनि मायामा गोडा चार पटक गुल्टी। लेटेस्ट ब्वाइफ्रेन्ड ओशोको सन्यासी भएर मुन्टेछ। स्वर्गकी मेनकाभन्दा पनि कडा तौरतरिका अपनाएर सन्यास फिर्ता गराउन खोजिछ। तर हावा खाएपछि उसले पनि मायाको कोचिङ किलास ज्वोइन गरेकी छ। बाटोमा को हात समातेर हिँड्छ, मोटरसाइकलमा च्याप्प टाँसिएर कोको हिँड्छन्, कसको फेसबुक वालमा के पोष्ट छ, ककसको बुढाको गर्लफ्रेन्ड छ, अनि दुईचारतिर गर्लफ्रेन्ड राख्ने अधवैँशे बुढाहरुले फेसबुुकमा हर रोज कस्ता ‘ह्याप्पी फेमिली’ वाला पोष्ट हान्छन्, तीज, भ्यालेन्टाइनका कुरा छाडौँ आमा ख्वाउने औँसीमा पनि आमालाई मिठाई ख्वाउँदै भनेर कपल पिक्चर नै पोष्ट गर्ने एक नम्बरका प्लेम्यानको यसले लिस्ट उतारेकी छ। ‘बिचरा यी पात्तेका बुढाहरुका बरा बुढीहरु स्वामी ज्युको राम पारामा लठ्ठ!’ भन्दै दिनको पाँचपटक उडाउँछे।

एउटा मात्र डिप लभ गर्ने बुढाहरु कसरी डिसेन्ट बस्छन्, सबको नालीबेली यसलाई कन्ठ छ। यसको नाम मिस एन्टेनाबाट मिस इन्साइक्लोपिडिया भएको छ।

बडेमान टिफिन बक्स बोक्छे हातमा। किलास सकेपछि एक्लै ग्वामग्वाम खान्छे। यही भएर यसको केटो विरक्तिएको भन्छन्। खै होला त केरे!

लठ्ठीले बेन्च ठोकिन् मास्टरनीले। ‘मायाको किलासमा पनि के लौरोले तर्साइरा होला? थोडी फिजिक्स किलास हो?’ चस्मेले फेरि अर्को कमेन्ट पास गरो म्यामले सुन्नेगरी।

चस्मेको पछि एन्टेना, एन्टेनाको पछि झक्स ब्रो लहरै बस्छन्।

‘आफैँ त मायामा ब्याक दिईदिई पास भएजस्ती हुनुहुन्छ म्याम!’ झक्सले ह्युमर ठेल्यो। एन्टेना मस्की।

‘मस्कन त राम्रै मस्किन्छे तर यसको केटो कसरि सन्यासी भो? यसको कहानीमा थेसिस हान्दिम क्या?’ मेरो आडको ताइरे बोल्यो।

‘वा ! क्या कमेडी ! हाँस्दिम त?’ ताइरेलाई ट्याटुले पेली।

नाम त यसको प्रनिशा। ताइरी छे। केटोसंग डिप गइराबेला घिच्रोमा केटोको नाममा ट्याटु खोपाई। लास्टाँ केटो नर्स टिपेर अस्ट्रेलिया उड्यो। अनि यसको नामै ट्याटु।

मायामा होल फयलहरु क्यान्टिनमा आफ्ना भूपूहरुको भक्कु कुरा काट्छन्। त्यही बेला चारैतिर कानको तार घुमाउँदै सुन्या के मैले। सबका सबले मायाको अन्तरिम संविधानले गुजारा गरिरहेछन्। त्यसमा पनि अन्तरिम सरकार छ मायाको। मायालु अन्तरिम सरकारका राज्यमन्त्रीजस्ता। सबै मायाको बलियो समावेशी संविधान र स्थायी सरकार बनाउने लक्ष्य सहित जम्मा भएका छन्। राज्यमन्त्री होइन, प्रधानमन्त्रीकै खोजिमा छन् सबै।

कोइकोइ फेँकुवाहरु धाकै लाउँछन ‘यु नो, हाम्रो त सबकुरा मिल्थ्यो। उ पनि डिपमा चल्ने म पनि डिपमा। तर खास सिचुएसनले नै भिलेन खेल्यो हाउ। कास्ट, रिलिजनको कुरा जत्ति नै चेन्ज भो भन्दा नि हाम्रो सोसाइटी यु नो।’

यु नो भनेर सेन्टी भइदिने क्या फेरि। बाँकी कल्पनाको बोझ अर्काको खोपडीमा थोपरेर।

उता म्याम बिजी छन् राधा र कृष्ण वाला प्रवचन दिन, यता मनितेले आफ्नो सुरु गरी।

हाफ् ट्याम सम्म नि कुर्न सकिन आज उसले गफ दिन। हेर्दै फिजिक्समा पिएचडी गर्लि जस्तो बोरिङ अनुहार छ तर यसले पनि मायामा छक्का हानिसकिछ। चौका घटी त कोइ छैनन् यो किलासमा। सबको बायो खत्रा छ।

मनितेको फुसफुस लट्टेको कानमा ‘ओइ सुन्न, मेरो अहिलेसम्म छ जनासंग पर्यो। तर फुल फेज चाहिँ चारजना हो। बुझिस् साला कोही बेडमा हट कोही हेर्दा!’

ओ माई गड! लट्टेको मुखमा पानी सड्कियो। पानीका पिच्का उडेर एन्टेनाको गालासम्म पुग्यो। एन्टेनाले गोरुले जस्तो आँखा तरी। लट्टे भर्सेस झक्स, एन्टेना भर्सेस मनिता। सब खल्ली यार!

आज मास्टरर्नीले किलासाँ बढी नै लठ्ठी बजारिन्।

अगाडि बसेको छ ओसन। नेपालीमा नाम समुद्र राखे हुने ओसन रे उस! उसकै आडमा अनिशा। दुवै मायाको चास्नीमा माखाजस्तो डुब्या छन्।

दुवै यो किलासमा हौसलाको लागि प्रयोग गरिएका क्याटलिस्ट। नेपालको हनिमुन पिलेसका बात नगरम् यिनले त बंैकक, पताया, युएस, सबै सके समुद्रका बीचमा मायाको होली खेलेर। पितृसत्ताका दुश्मनहरु। कस्सम यिनका बाउआमा घरमा वरवधुको खोजीमा अनुसन्धान गर्दै सोधपत्र नै लेख्दै होलान्।

एक्कासी म्याम कुर्लिन्। आज म्यामले क्लास टेस्ट लिने रे। अब मरिएन!

सबका सबले रोमियो जुलियटलगायतका लपरका कहानी घोकेर आका होलान् आफू मठ्ठै। आफैँ गुल्टुङ खाएर हिँड्या तीनका बाजेका कहानी घोक्ने जाँगर कताबाट आओस्।

मेरो परम मित्र विरहीको पनि उही ताल। मायामा छक्का हान्न एक रन मात्र बाँकी छ। यसपालीको रनले त मायाको म्याच नै जित्छु भन्ने उसलाई लाइराछ। दुइवटा त विरही कविता संग्रह निकालेछ। मायाको लिजेन्ड कोहीलाई गन्दैन। खुदलाई महालिजेन्ड ठान्छ र जसको कोइसनमा नि आफ्नै कहानीको उत्तर लेख्छ। यो मुला आज पनि रेष्टिकेट हुन बेर छैन।

यसका आडमा बसेर हुन्न। मायामा होलफस अनिशा र ओसनकै आडमा जान्छु।

हल्का चिट नचोरी दायाँबायाँ नगरी त मायाको जाँचमा पनि फयल का फयल होइन्छ हौ।

लट्टेले पछाडिबाट प्लेब्याक दियो ‘पिरतीको हिसाबमा बात लाग्ला बात लाग्ला, मिलाई हाल दश परसेन्ट भ्याट लाग्ला।’ त्यसकी आमै मास्टरर्नीले झन्डै भकुरिनन्।

‘कस्तो तोर्पिनीलाई लपको टिचर बनायो यार। कोही नभए उसैलाई हेरेर ट्याम पास होस्, यस्तो राख्नु नि टिचर!’ लट्टेको रोजरोजको शिकायत हो यो।

हेभी ब्रेकअप वाला सिनेमा लेख्दैछ उ भोजपुरीमा। ‘लभको किलासमा पनि मोबाइल ब्यान्ड छ, यस्तो पनि हो!’ उसले फेरि शिकायत थप्यो। फेसबुक, टुइटर सब बन्द। नो पोलिटिकल टुइट ड्युरिंङग मायाको याम। तैपनि कसैको खास प्रगति भएको छैन।

इक्जाम सुरु, सब साइलेन्ट। एन्टेनाले मोबाइल थाइमा लुकाएजस्तो छ। कोइसन हेर्दै साँप्रा हेर्दै गरेकी छ। एसएलसी नि भक्कु चिट चोरेर पास गर्या रे यसले।

अनिशा र ओसन ओ माई गड! किलासमै चुम्बन चाहिँ नगरे हुने। प्र्याक्टिकल हान्देलान् भन्ने पीरको पसारो। सब होलफेलको दिलको धड्कन ठप्प हुन्छ।

जसोतसो इक्जाम सकियो। छुट्टी मकै भुट्टी।

भोलिपल्ट ..
‘आज झक्से सिधै माथि गयो!’ यति भन्दै एन्टेना गोमन साँपजसरी किलासमा आई। लट्टेले खितखित गर्यो।

मास्टरर्नी आकी छैनन्। कुरो के हो अलमल भो। झक्से किलासमा छिर्यो। जिनको पँयेट खस्लाझैं गरेर तान्दै। ‘मरिस् तँ,’ एन्टेनाले कँठालो समाती।

लट्टे र मनितेको हड्डी हाँसेको छ। सत्तुरहरुको लडाईं हुन आँटो।

‘कुरो के हो?’ विरहीले विरही मुद्रामै सोध्यो।

चस्मेले बेलिबिस्तार लायो, ‘कुरो के भने हिजो झक्सले पूरै उत्तर पुस्तिकामा एन्टेनाको बखान गरेछ। कोइसन के छ उसलाई बाल! अनि त्यसकै पुच्छर बनाएर एन्टेनेको फ्रकमा छिराइदिएछ। अनि पुच्छर हल्लाँउदै एन्टेने घर पुगिछे। आमाचाँहिको रामधुलाई भेटिछे। हो त्यही रामधुलाईको रिटर्न ब्याक झक्सेले भेट्दैछ। मालको तालमा झ्याप छ ब्रो।’ किलासाँ ग्याङ फाइट सुरु भो। विरहीले मानवअधिकारकर्मीको रोल खेलिराछ।

‘मायामा झगडा, कैले झेल निर केलै खेल।

जाँउला दिल्ली सरर मुया आँउदैछ नेपालमा रेल।’

विरहीले फुराएको रोमान्टिक कविता लट्टेले वाचन गर्यो। कलहको टोन डाउन भयो।

सबै मिलेर झक्स र एन्टुलाई हल्का जिस्काउन पो थाले। सिन चेन्ज यार!

एन्टेना रोज डेकी गुलाफजस्ती भई। झक्स ब्रोले घाँटी मुसार्यो।

‘हिजो थ्योरीमा हावा खाका आज प्र्याक्टिकलमा सौ का सौ मार्यो’। यति भनेर लट्टेले पनि दुस्मनीको भोलुम डाउन गर्यो।

परपरपर ताली यार किलासाँ त। विरहीले बोर्डमा लेख्यो, ‘मायामा कोही फयल हुँदैन। फल्दै जान्छन्, फुल्दै जान्छन्।’ लट्टुले थपो, ‘बायो झकास बलियो बनाँउदै जान्छन्।’

बातबातमा झकास भनेर उपनाम नै झक्स भएको झक्स ब्रो नि लट्टेले उडाउँदा खिस्स हाँस्यो। बिचराको नाम कति राम्रो छ शम्भो।

अनिशाले दिई आज प्ले ब्याक ‘पिरतीको हिसाबमा बात लाग्ला बात लाग्ला मिलाई हाल दश परसेन्ट भ्याट लाग्ला।’ …….हेर्दै जाम अब यो मायाकोे कोचिङ किलासाँ के के होला?