बैशाख १३, २०८१ बिहीबार

जाँचेर मात्रै औषधी खान्छन महिलाहरु



Sanjivaniजाँचेर मात्रै औषधी खान्छन महिलाहरु

नेपालगन्ज – बाँके टिटिहिरियाकी लक्ष्मी थारू विशेषज्ञ चिकित्सकको सल्लाहमा मात्रै औषधि सेवन गर्छिन् । चिकित्सकको सल्लाहबमोजिम औषधि खाए मात्रै रोग निको हुने थाहा पाएपछि चिकित्सकको सिफारिसविना औषधि सेवन गर्न छाडेको उनले बताइन् । ‘रोग पत्ता लागेर औषधि खाएपछि चाँडो निको हुने र पैसासमेत बचत हुने रहेछ,’ उनले भनिन् ।

बाँकेको १५ गाविस र दुई नगरपालिकाका बासिन्दाले विशेषज्ञ चिकित्सकको सुझाबमा मात्र औषधि सेवन गर्ने गरेका छन् । समुदायमा आधारित लघु स्वास्थ्य कार्यक्रम (सञ्जीवनी) लागू भएपछि रोग पत्ता लागेपछि मात्र औषधि सेवन गर्नेको संख्या वृद्धि भएको छ । ‘कार्यक्रम सञ्चालनमा आएपछि समयमै उपचार गराउने र विशेषज्ञ चिकित्सकको सेवा लिने महिला बढेका छन्,’ सञ्जीवनी कार्यक्रमका व्यवस्थापक जिताराम गौतमले भने ।

स्वास्थ्य बिमा र सेवा लिनेमा महिला अघि
सञ्जीवनी कोषबाट सेवा लिनेमा २२ प्रतिशत बालबालिका, ६३ प्रतिशत महिला र १५ प्रतिशत मात्रै पुरुष छन् । अस्पतालमा भर्ना भएका बिरामीले एकपटकको तीन हजारका दरले सानो परिवारले वार्षिक २० हजार र ठूलो परिवार (चार वा सोभन्दा माथि)ले वार्षिक ४० हजार उपचार खर्च पाउने गौतमले बताए । ल्याब टेस्ट (बहिरंग सेवा)का लागि प्रतिपटक पाँच सय र एक्स–रेका लागि सात सय रुपैयाँ पाउने गरेको उनले बताए ।

‘लाभ प्याकेजअन्तर्गत अस्पताल भर्ना, ल्याबजाँच र यातायात खर्चबापत हालसम्म २९ हजार तीन सय २८ जनाले सुविधा लिएका छन्,’ गौतमले भने । लाभ प्याकेज पाउने भएकाले बिरामीहरू अस्पताल भर्ना हुने क्रमसमेत बढेको उनले बताए । हालसम्म दुई हजार सात सय ३२ जना अस्पताल भर्ना भएको र १४ हजार एक सय ६० जनाले ओपिडी सेवा लिएको सञ्जीवनी कार्यक्रमले जनाएको छ । सहभागीले जम्मा गरेको रकममध्ये एक करोड ९० लाख ६८ हजार दुई सय २३ रुपैयाँ बैंकमा मौज्दात रहेको समेत गौतमले जानकारी दिए ।

पाँच वर्षमा ६२ हजार चार सय ५४ को स्वास्थ्य बिमा
पाँच वर्षको अवधिमा सञ्जीवनी कार्यक्रममा बाँकेका २० हजार एक सय २४ घरधुरीका ६२ हजार चार सय ५४ जना आबद्ध भई स्वास्थ्य बिमा गराएका छन् । उनीहरूबाट दुई करोड ७२ लाख ६४ हजार तीन सय २२ रुपैयाँ संकलन भएको छ । ‘सञ्जीवनी कोषमा सहभागी सदस्यमध्ये हालसम्म २० हजार चार सय ४३ दाबीलाई एक करोड ७४ लाख १३ हजार सात सय ९० रुपैयाँ उपचारका लागि सहयोग गरिएको छ,’ गौतमले भने ।

उनले स्वास्थ्य बिमा गराउनेको संख्यासमेत बढेको बताए । स्वास्थ्य बिमाका लागि रकम जम्मा गर्न नसक्ने परिवारले थोरै–थोरै गरी स्वास्थ्य बिमाका लागि रकम जम्मा गर्ने बानीको विकास भएको औँल्याए । ‘साँझ–बिहानको छाक टार्न समस्या हुनेहरूसमेत अलिअलि गरेर उपारका लागि बचत गर्न थालेका छन्, अन्य क्षेत्रका लागि बचत गरेजस्तै स्वास्थ्यका लागि बचत गर्ने बानीको विकास भएको छ,’ उनले भने ।