चैत्र १५, २०८० बिहीबार

४६ वर्षीय श्रृजना कक्षा १ मा भर्ना



Mahila education

रुपन्देही – बुटवल १४ की ४६ वर्षिय श्रृजना गौतम आफूले पढ्न नपाए पनि आफ्ना सन्तानहरुले धेरै पढुन् भन्ने चाहन्छिन्। त्यति मात्र होईन बिभिन्न कारणले पढ्ने अवसरबाट बञ्चित भएकाहरुले पनि पढ्ने बातावरण पाए पढ्न सक्छन् भन्ने सोचाई राख्छीन् ।

उनीहरूका लागि हाम्रो समाजले उपयुक्त बातावरण तयार गर्नुपर्छ भन्ने सोचाईका साथ  सावित्रा अर्यालको नेतृत्वमा सञ्चालनमा आएको साधना महिला विद्यालयलाई बिभिन्न ढंगले सहयोग गरिन् र बिद्यालय ब्यवस्थापन समिती सदस्य समेत बन्न सफल भईन्। औपचारिक शिक्षाको अवसर नपाएकी श्रृजनालाई आफूले नपढी मनले मानेन र सोही बिद्यालयमा कक्षा एकमा भर्ना भएर औपचारिक रुपमा अध्ययनको बाटो तयार गरिन्। पाल्पाको कुसुमखोलामा हुर्किएकी श्रृजनाले सानोमा पढ्न पाईनन्, १३ वर्षको उमेरमा विवाह भयो। त्यो बेलाको पढ्ने रहर अहिले पुरा गर्दै छिन्।

दिनभर नियमित विद्यालय आएर पढ्ने गरेकी उनले साँझ बिहान छोराछोरी सँगै घरमा पढ्ने र गृहकार्य गर्ने गर्छिन्। ‘घरमा छोराछोरी सँगै बसेर पढ्छु नजानेको र बुझेको पाठ छोराछोरीसँग सोधेर पढ्छु,’ उनले सेतोपाटीसँग भनिन्। हालसम्म बुटवल आठमा बसोबास गर्दै आएकी श्रृजनाको परिवार अहिले बुटवल १४ तामनगर बसाईसराई गरेको छ । एउटै वडामा घर र विद्यालय हुँदा विद्यालय आउन जान सहज भए पनि अबको पढाई कसरी अगाडि बढाउने भन्ने उनलाई पिरलो थपिएको छ।

‘नियमित विद्यालय आउन धेरै भाडा खर्च गर्नुपर्छ, घरबाट पढेर पनि परिक्षा दिने ईच्छा छ हेरौं कतिसम्म पढ्न सक्छु,’ उनले भनीन्, ‘केटाकेटीलाई पढ्न कर हुन्छ हामीलाई रहर छ, गाह्रो भयो भनेर घरमा भन्यो भने स्कुल नजाउ भन्छन् त्यसैले गाह्रो भए पनि घरमा त्यसको सुईको समेत दिँदिनँ।’ उनकी २७ वर्षीय छोरी किरण ज्ञवाली पनि अहिले सोही बिद्यालयमा आठ कक्षामा पढ्दै छन्। सात कक्षामा पढ्दै गर्दा विवाह भएपछि पढ्न छोडेकी किरण गत वर्ष मात्र आठ कक्षामा भर्ना भएकी हुन्। छोरीकै अध्ययनका कारण अभिभावकको तर्फबाट व्यवस्थापन समितिको प्रतिनिधित्व गर्दै बैठकमा आउने क्रममा पढ्ने मन जागेपछि उनी पनि एक कक्षामा भर्ना भएकी हुन्। श्रृजनाका कान्छो छोरा कक्षा नौमा पढ्दै छन्।

रिक्सा चलाएर परिवारको जिवीकोपार्जन गर्दै आएका श्रीमान राजकुमार गौतम पनि श्रृजनालाई पढ्न हौसाउँछन्। आफ्नो हस्ताक्षर मात्र गर्न सक्ने राजकुमारले बैंकमा खाता संचालन गर्नेदेखि हरेक काममा हस्ताक्षर अनिवार्य जस्तै भएपछि श्रीमतीलाई पनि पढ्न उत्साहित गराएको बताउँछन्। त्यही हस्ताक्षरले मुलुकलाई साक्षर बनाउने अभियानमा सघाएका छन्। श्रृजना गौतम मात्र होईन बुटवल देविनगरकी ३५ वर्षिय भुमा राउत पनि सोही बिद्यालयमा कक्षा आठमा पढ्दैछन्।

ईन्जिनीयरिङ पढ्दै गरेकी छोराकी आमा भुमा सात कक्षा पढ्दै गर्दा बिवाह भएपछि पढ्न नपाएको पीडा भुलाउन १८ वर्षपछि फेरि नियमित बिद्यालय आउँन थालेकी छिन्। ‘सानैमा विवाह भएपछि बुहारी मान्छेले पढेर के गर्ने भन्ने सोँचका कारण पढ्न आउन सकिएन, पछि पढ्नुपर्ने रहेछ भन्ने लागे पनि छोराछोरी हुर्काउँदा र घरपरिवार हेर्दा समय मिलेन, अहिले छोराछोरी ठूला भईसके घरपरिवारको सबै काम सकेर दिउँसोको समय विद्यालय आउँछु,’ आठ कक्षाको अन्तिम परिक्षा  दिँदै गरेकी उनले भनिन्। छोराछोरी हुर्किसकेका र आफूभन्दा माथिल्लो कक्षामा  पढ्ने भएकोले पनि उनलाई नजानेको पाठ पढ्न र सोध्न सहज हुने गरेको छ ।

‘छोराछोरीले गृहकार्य पुरा गरे नगरेको ख्याल गर्छन्, नजानेको सिकाउँछन् बाहिर ट्युसन पढ्नु पर्दैन,’ उनले भनिन्। १८ वर्षपछि झोला बोकेर विद्यालय आउँदा रमाईलो लागेको बताउने भुमाले १० कक्षासम्म भए पनि पढ्ने ईच्छा भएको बताउँछिन्। बुटवल मिलनचोककी ४४ वर्षकी कमला बराल पनि २८ वर्षपछि फेरि नियमित विद्यालय आउने गरेकी छन्। चार कक्षा पढ्दै गर्दा विवाह भएपछि पढ्न छोडेकी कमला चार वर्षअघि पाँच कक्षामा भर्ना भएकी हुन्। अहिले आठ कक्षाको अन्तिम परिक्षा दिईरहेकी उनले नियमित पास हुने गरेको बताईन्।

उनका पनि २ छोराले मास्टर्स गरीसकेका छन् भने सानो छोरा बुटवलकै बोर्डिङ स्कुलमा कक्षा आठमै  पढ्दैछन्। ‘शिक्षण पेशाबाटै अवकास प्राप्त श्रीमान र अध्ययनशिल छोराहरुका कारण पनि पढ्न उत्साह थपिएको र वातावरण मिल्दै गएको भन्ने लाग्छ,’ उनी भन्छिन्। ‘सानो उमेरभन्दा उमेर ढल्केपछिको पढाईमा कठिन हुँदो रहेछ कम उमेरका नानीहरु भन्दा हामी अलि ढिलो बुझ्छौं तर ढिलो टिपेको कुरा छिटो बिर्सिदैन,’ कमला भन्छिन्, ‘सबैभन्दा अप्ठ्यारो गणित विषय लाग्छ आधा भन्दा बढी उमेर बेहिसाब चलेको भएर पनि होला हिसाब अप्ठ्यारो लाग्ने,’ उनले हाँस्दै भनिन्।

पढ्ने उमेरमा पढ्न पाउने अवसरबाट बञ्चित भएकाहरुका लागि सञ्चालित साधना महिला बिद्यालय यस क्षेत्रका आमाहरूका लागि नयाँ संसार चिनाउने माध्यम बनेको छ। २०६३ सालमा बुटवलका महिला अगुवाहरुले स्थापना गरेको साधना महिला बिद्यालय आफैं पनि उमेरमा पढ्न नपाएर अहिले संघर्ष गरिरहेका महिलाहरु जस्तै संघर्ष गरि रहेको छ । अर्काको भाडाको घरमा सूरू भएको उक्त बिद्यालय अहिले आफ्नै भवनमा सञ्चालन हुन सूरु भएपनि उमेर नाघेकाहरुका लागि पढ्न सहज हुनेगरी प्रबिधिको विकास र सूधारका लागि प्रयासरत छ ।

साधना महिला बिद्यालय जहाँबाट थुप्रै आमाहरुले प्रवेशिका परिक्षा उतिर्ण गरिसकेका छन् । अन्य बिद्यालयबाट परीक्षा दिदा २ नं नपुगेर अनुर्तिण भएकाहरु समेत साधनामा अध्ययन गरी प्रथम श्रेणिमा उतिर्ण गरेको दावी बिद्यालय व्यवस्थापन समितिको छ। पाको उमेरका महिला मात्र नभई विभिन्न कारण विद्यालय जान नपाएका किशोरीहरुका लागि लक्षित गरि २०६३ सालदेखि सञ्चालन गरिएको यस विद्यालयबाट हालसम्म २५ जनाले एसएलसी परीक्षा पास गरिसकेको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सावित्रा अर्यालले जानकारी दिईन्। यसवर्ष पनि एसइई परिक्षामा पाँच जना सहभागी छन्।

अरू कक्षामा गरी १ सय ३५ जना विद्यार्थी अध्ययनरत रहेका छन्। अहिले एसइई दिईरहेकी १८ वर्षिय पुजा गुप्ता नजिकैको तिलोत्तमा माध्यमिक विद्यालय मा कक्षा ८ मा अनुतिर्ण भएपछि तीन वर्ष अघि साधनामा पढ्न आएकी हुन्। साधनामा आएपछि पढाईमा राम्रो प्रगति भएको उनको भनाई छ । यस पटक एसईई परीक्षा पास हुनेमा उनी विश्वस्त छन्। एसईई परिक्षा पास गरेपछि पनि साधनामै प्लस टु पढ्न पाए हुन्थ्यो भन्ने लागेको छ ।

 बुटवल १० सुख्खानगरकी १६ बर्षिय सुन्दरी जयशवाल यसअघि बुटवलकै कालिका माध्यमिक बिद्यालयमा ९ कक्षासम्म अध्ययन गरीन र पढन छोडिन्। अहिले फेरि साधना महिला विद्यालय रोजेकी छन्। यो बिद्यालय रोज्नुको उनको एउटै कारण छ यहाँ सबै महिलाहरु मात्र पढ्ने गर्छन्, अध्ययनको लागि विद्यालय आउँदा र दिनभरीको बसाईमा सहज हुन्छ। त्यसैगरी बुटवल माझगाउँकी १७ वर्षकी सुस्मीता थापा कक्षा ८ देखि साधना महिला बिद्यालय रोजेर पढ्न थालेकी छन्। सात कक्षासम्म ईडेन बोर्डिङ स्कुलमा पढेकी उनले पनि साधनाको पढाई राम्रो लागेको र सबै महिलाहरु भएकोले समेत सहज भएको बताउँछिन्।