बैशाख ११, २०८१ मंगलबार

यूएई पुगेका अधिकाँस महिला तस्करको फेला परेको खुलासा, ज्यान बचाउन भाग्दै दुतावास पुग्दै



Uae

काठमाडाैं – नेपालबाट यूएई लगिएका महिला तस्करको फेला परेको खुलासा भएको छ । यूएई पुगेका महिला भटाभट भागेर दुतावासको शरणमा पुग्न थालेपछि उनीहरु तस्करको फेला परेको खुलासा भएको हो ।
यूएई पुगेका अधिकाँस महिलाले आफूहरुलाई बन्दी जस्तो बनाउने र ओमान लगायत अन्य मुलुकमा ओसारपोसार गर्न थालेको भन्दै भागेर दूतावासको शरणमा पुगेका छन् ।
दलालमार्फत अवैधानिक रुपमा कतिपय नेपालबाटै र कतिपय भारत हुँदै श्रीलंका तथा युएई र यहाँबाट ओमान सम्म पुग्ने गरेका छन् । ओमान पुर्‍याइएका महिलालाई केही दिन घरमा काम गराउने र फेरि युएईमै फर्काएर अलपत्र पार्ने गरेका छन् ।

युएईको अजमानमा रहेको पोस्ट अफिस नजिक एउटा कार्यालय सन्चालन गरेर बसेका जीवन पुन र उनकी श्रीमती शिखा पुनले त्यसरी महिलाहरु ओसार पोसार गर्ने गरेका छन । उनीहरुले त्यहाँ रहेको मोनालिसा रिक्रुट्मेन्ट एजेन्सी मार्फत महिलाहरुलाई महिनौ बन्दी बनाएर राख्ने, दुब्र्यबहार गर्ने गरेको पीडित महिलाले बताएका छन् ।

दूतावासको सेल्टरमा एकै पटक १५ जना महिला

पथरिया ४ झापाकी सविता गौतम, झापा प्रिथिविनगरकी जसु शाही र सोही ठाउँकी मेनुका खरेल अहिले दुतावासको शरणमा पुगेका छन् । उनीहरुलाई गएको जुलाईमा भिजिट भिसा मार्फत भारतको बाटो हुँदै दुवई ल्याइएको थियो । जीवन पुन र शिखा पुनले काममा लगाउने भनेर थुनेर राखेको पीडितले बताएका छन् ।

त्यस्तै झापा शिवसतासी धामकी प्रेजिना योङ्ह्याङ र तारालाल ५ बर्दियाकी पार्वती ओलीलाई डेढ महिना अघी भिजिट भिसामा भारत हुँदै दुबई ल्याइएको थियो । दुबई ल्याएर अर्जुन बजगाईंले अजमानमा रहेको कम्पनीमा राखेका थिए । योङ्ह्याङलाई झापाकी स्थानिय एजेन्ट सरस्वती मगर र बर्दियाकी ओलीलाई सलीम मियाले नेपालबाट भारत पुर्‍याएको र भारतमा दिनेश भन्ने एजेन्टलाई बुझाएका थिए । दिनेशले उनीहरुलाई भारतबाटै युएई उडाएका थिए । यहाँ ल्याएर पनि अभिमुखिकरण तालिम दिने भन्दै दुब्र्यबहार गरेको र ओमान पठाउन खोजेपछि भागेर दुतावास आएको उनको भनाई छ ।

त्यस्तै शिखरपुर ४ मकवानपुरकी रन्जिता घलेलाई भिमसेन गुरुङले र मकवानपुरकै राईगाउँ ६ की चरिमाया बस्नेतलाई मिङ्गमार तामाङले, सिन्धुपाल्चोक बाराम्ची ८ कि मंङगली तामाङ र इचुकी शर्मिला नेपालीलाई स्थानिय दलाल धन बहादुर तामाङ र लालमान तामाङले डेढ महिना पहिले भिजिट भिसामा भारत हुँदै युएई ल्याएका थिए ।

उनलाई युएईमा जीवन पुनले अजमानमा रहेको एजेन्सीमा लगेको र पछि  जहाँ काम पाइन्छ त्यहिँ पु¥याउँन थालेपछि भागेर दुतावास पुगेको बताईन। उनीसँगै गोल्झे ६ सिन्धुपाल्चोककै ठुलीकान्छी लामा पनि दूतावास पुगेकी छन् । उनलाई पनि जीवन पुनले नै समस्यामा पारेका हुन् ।

बेगान ४ धनकुटाकी भिमकुमारी लिम्बुलाई स्थानिय दलाल दुर्गा भुजेलले युएई पठाएका  थिए । आहाले ३ धनकुटाकी श्रीजना राईलाई गएको पुष १८ गते भिजिट भिसा मार्फत त्रिभुवन बिमानस्थल बाट युएई ल्याएर जीवन पुनले ओमान पुराएका थिए । ओमानमा ३ दिन काम गराएर फेरी युएई ल्याएको र अरबीको घरमा केही दिन काम लगाएको पछी काम नदिएर थुनामा राखेको पीडितको भनाइ छ ।

झस्कू ९ दोलखाकी सुकुमाया तामाङलाई स्थानिय दलाल छत्रे विकले १८ महिना अघी युएई पठाएका हुन् । उनलाई रसअलखेमामा स्थानिय नागरिकको घरमा काममा लगाइएको थियो । त्यहा केही दिन काम लगाएर दिपा रानाले मोनालिसा एन्जेसीमा लगेर ओमान पुराएको बताईन ।  १० महिना ओमानमा लगेर घरमा काम गराएको पैसा नदिएर फेरी युएई पठाएको र त्यही मौकामा घरबाट भागेर उहाँपनि दुतावास पगेकी थिईन ।

पर्सौनी चितवनकी सविता पाठक पनि अहिले दुतावासको सेल्टरमा छिन् । सीला कोईराला मार्फत एजेन्ट रमेश गुरुङले ३ महिना पहिले भिजिट भिसामा भारत हुँदै युएई ल्याएका थिए । यहाँ ल्याएर १ महिना ओमान र फेरि युएई ल्याएर अलसामाह आबुधाबीमा स्थानियको घरमा ५ दिन मात्र काममा लगाएको र दुब्र्यबहार गरिरहेको भन्दै फागुन २६ गते दुतावास पुगेकी थिईन ।

टिकापुर १६ कैलालीकी अनुजा भण्डारीलाई डेढ महिना पहिले भिजिट भिसा मार्फत भारतको बम्बै हुँदै युएई ल्याइएको हो । उनलाई काठमाडौंकी माया सापकोटाले अजमनमा रहेको जीवन र शिखा पुन सम्म पठाएको र अजमानमै एक स्थानिय नागरिकको घरमा काममा लगाईको बताईन ।

शारीरिक यातना र दुव्र्यबहार गरेर मोबाइल समेत खोसेपछि भागेर दुतावासको शरणमा पुगेकी छन् । ममय ७ इलामकी आशामाया राइलाई झापाकी निर्मला लावातीले २५ महिना पहिले युएई पठाएकी थिइन् । सारजाहमा स्थानिय नागरिकको घरमा बुवा बिरामी हुँदा समेत जान नदिएको र साँढे तीन महिनाको तलब पनि नदिएपछि दूतावासमा पुगेकी छन् ।

गएको साता मात्रै नेपाली दूतावास आबुधाबीले त्यसरी युएई पुर्‍याएर समस्यामा परेका ६ जना महिलालाई उद्धार गरेर नेपाल पठाएको थियो । यो साता थप २ जनालाई नेपाल पठाइएको दूतावासले जनाएको छ ।

यसरी दूतावास आउने प्रायः सबै घटनामा जीवन पुन र शिखा पुन संलग्न रहेको पाइएको छ । घरेलु महिला कामदारको रुपमा उनीहरुलाई यहाँ सम्म ल्याएर अलपत्र पार्ने दलालहरुको गतिबिधी बारे दुतावासले अध्ययन सुरु गरिसकेको र कारबाहीको प्रकृया सुरु गर्न लागेको दूतावासका दितिय सचिव कृष्ण अर्यालले जानकारी दिए ।

दूतावासले धेरै पटक शेल्टर हाउस खाली गर्ने अभियान चलाएर काम गरे पनि अबैध बाटोबाट घरेलु महिला कामदार युएई ल्याउने दलालका कारण महिलाहरु समस्यामा परिरहेका छन् । दलाल र एजेन्टहरुको नाम सूची तयार पारेर कारबाहीको प्रकृयामा जान लागेको दुतावासकी श्रम सहचारी हिरा कुमारी यादवले बताईन ।