बैशाख ११, २०८१ मंगलबार

लुम्बिनी अस्पतालमा गर्भवतीको मृत्यु



Lumbini-Hospital

बुटवल-  सुत्केरी हुन भर्ना भएकी महिलाको मृत्यु भएपछि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा तनाव भएको छ । बुटवल-११ न्यु दर्गानगरकी २७ वर्षीय मीना बुढामगरको मृत्युपछि उनका आफन्तहरु विरोधमा उत्रिएका हुन् । उपचारमा भएको बेवास्ता र लापरबाहीले गर्भवती महिलाको मृत्यु भएको आफन्तहरुको आरोप छ । दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै आफन्तहरुले अहिले अस्पताल परिसरमा धर्ना दिएका छन् ।

सुत्केरी बेथा सुरु भएपछि सोमबार बिहान करिब १० बजे मीना अस्पताल भर्ना भएकी थिइन् । घरबाट १५ मिनेटको बाटो हिँडेर आएकी मीनाको साँझ उपचारका क्रममा मृत्यु भएको हो । पति कुलबहादुर बुढाका अनुसार दिउँसोदेखि मीनालाई निरन्तर बेथाले च्यापेको थियो । साँझपखबाट ओठ मुख सुन्निने, काप्ने र बच्चामाथि सर्ने भएको थियो । नर्सहरुलाई पटक पटक समस्या बताउँदा पनि सिकारुको जिम्मा छोडेको र बेलामा चिकित्सकलाई खबर नगर्दा मृत्यु भएको उनले बताए । अस्पतालले अहिलेसम्म शव समेत हेर्न नदिएको उनले बताए ।

अस्पतालले भने आफन्तले भनेजस्तो बेवास्ता नगरेको दाबी गरेको छ । अस्पतालका प्रवक्ता लक्ष्मीराज रेग्मीले विशेषज्ञकै टोलीले प्रसूती समस्या हेरेकाले त्यसको कारण केही समयमै सार्वजनिक गर्ने बताए ।