चैत्र १६, २०८० शुक्रबार

अव छोरीहरुको पालो



काठमाडौं – वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार प्रदेश नम्बर ३, ४ र ६ मा उम्मेदवारी दर्ता सम्पन्न भएको छ। तीन प्रदेश भित्रका चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र एक सय ८६ गाउँपालिका गरेर दुई सय ८३ स्थानीय तहमा पहिलो चरण अन्तर्गत वैशाख ३१ गते निर्वाचन हुनेछ।

दुई दशकपछि पहिलो पटक हुन लागेको स्थानीय निर्वाचनका उम्मेदवार बुबा उमेरदेखी छोरी उमेरसम्मका छन्। नेपाली राजनीतिमा २० देखि ३० वर्षको अवधिमा राजनीतिक गर्नुलाई छोरी पुस्ता मान्न सकिन्छ। किनकी सत्ताको बागडोर सम्हाल्ने सबै नेता ५० देखि ६५ वर्ष उमेरका छन्। स्थानीय तहको उम्मेदवारी दर्ताको क्रममा समेत केही बाहेक धेरै वृद्ध नेताले नै प्राथमिकता पाएका छन्। यहाँ स्थानीय निर्वाचनमा उम्मेदवार बनेका छोरी पुस्ताको चर्चा गर्दैछौँ।

मेयर:  रेणु दाहाल

नेकपा (माओवादी केन्द्र) की पोलिटब्यूरो सदस्य तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहालले भरतपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ। जिल्ला निर्वाचन कार्यालय चितवनमा रेणु दाहालले उम्मेदवारी दर्ता गराउनु भएको हो। अखिल क्रान्तिकारीका उपाध्यक्ष रामचन्द्र अधिकारीका अनुसार रेणु आफ्ना पार्टीका नेता तथा कार्यकर्तासहित निर्वाचन आयोगको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो।

अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव दाहाल २०३३ सालमा चितवनको शिवनगरमा जन्मिनु भएको हो। बाल्यकाल चितवनमा बिताउनु भएकी दाहाल ०६१ सालमा माओवादीको रोल्पा जिल्लाको सहइञ्चार्जको भूमिका निर्वाह गर्नु भएको थियो। माओवादी शान्ति प्रक्रियामा आएपछि भने उहाँ काठमाडौं सचिव हुनु भएको थियो। ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा चार हजार ६ सय मत ल्याउनु भएकी रेणुले अहिले भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनु भएको हो।माओवादी केन्द्रले सुरेन्द्र गुरुङलाई भरतपुरको उपमेयर पदमा उम्मेदवार बनाएको छ।

मेयरः कल्पना शर्मा

अधिवक्ता कल्पना शर्माले काठमाडौंको टोखा नगरपालिकामा मेयर पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ। नेकपा माओवादी केन्द्रका तर्फबाट टोखा नगरपालिकामा मेयरपदमा उम्मेदवारी दर्ता गराउने शर्मा सोही पार्टीका नेता दीनानाथ शर्माकी पुत्री हुनुहुन्छ। दिनानाथ शर्मा शिक्षामन्त्री हुँदा कल्पना स्वकीय सचिव हुनुहुन्थ्यो। उहाँको उम्मेदवारी बाबुको सम्बन्धले भन्दा पनि राजनीतिक सक्रियताले नै आएको देखिन्छ। यद्यपी उहाँको पेशा भने कानुन व्यवसाय हो।

मेयरः रञ्जु न्यौपाने (दर्शना)

सबै राजनीतिक दललाई चकित पार्दै विवेकशील नेपाली पार्टी समर्थनमा स्वतन्त्र उम्मेदवार २१ वर्षीय रञ्जु न्यौपाने (रञ्जु दर्शना) ले काठमाडौं महानगरपालिकाको मेयरको रुपमा उम्मेदवारी दर्ता गराउनु भएको छ। कामनपा ३ महाराजगञ्ज स्थायी घर हुनुभएकी रञ्जु मेयरमा आफ्नो उम्मेदवारी यथास्थितिलाई चुनौती भएको बताउनु भएको छ।

उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै रञ्जुले यस्तो बताउनु भएको हो। ‘सर्वप्रथम सबैलाई मायाको लागि आभार प्रकट गर्न चाहन्छु। मेरो उम्मेदवारी यथास्थितिलाई चुनौती हो’, रञ्जु दर्शनाले भन्नुभयो, ‘अब नेपाली राजनीतिमा नयाँ आयाम सुरु भइसक्यो। आज हामी युवाको उपस्थितिले यो कुरालाई प्रमाणित गर्छ।’ उहाँको प्रस्तावक विद्याप्रसाद गौचन र समर्थक सरदराज खनाल हुनुहुन्छ।

उपमेयरः जानुका पराजुली

नेकपा माओवादी केन्द्रका तर्फबाट चौतारा साँगाचोकगढी नगरपालिकाको उपमेयरमा उम्मेदवारी दर्ता गर्नु भएकी जानुका पराजुली ध्रुव पराजुलीकी छोरी हुनुहुन्छ। जनजागृति माद्यामिक विद्यालय साँगाचोकको शिक्षक पद त्यागेर सशस्त्र संघर्षमा होमिनु भएका ध्रुव पराजुली नेकपा माओवादीको पोलिटव्यूरो सदस्य हुनुहुन्थ्यो।

पार्टीले आफूलाई जिम्मेवारीविहिन बनाएको र माओवादी आन्दोलनका घटक दलहरु विभाजित भएको अवस्थामा ध्रुव पराजुली बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा प्रवेश गर्नु भएको थियो। सो पार्टीमा पनि सन्तुष्ट हुन नसकेपछि ध्रुव पराजुली राजनीतिबाट निस्क्रिय भएर गाउँमै बस्नु भएको थियो। विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिनु भएकी जानुका भने माओवादी केन्द्रमा नै हुनुहुन्थ्यो। ध्रुव पराजुलीलाई पनि राजनीतिमा सक्रिय बनाउन माओवादी केन्द्रले छोरी जानुकालाई उपमेयरको उम्मेदवार बनाएको बुझिएको छ। जानुका सिन्धुपाल्चोकको साँगाचोकमा जन्मनु र हुर्कनु भएको हो। चौतारासाँगाचोक गढी नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार अमानसिंह तामाङ भने पूराना नेता हुनुहुन्छ। ०४९ सालमा तत्कालीन कुविण्डे गाविसको उपाध्यक्षमा संयुक्त जनमोर्चाका तर्फबाट उपाध्यक्ष विजयी हुनु भएका तामाङ स्थानीय तहमा परिचित नेता हुनुहुन्छ।

उपमेयरः राधिका ढकाल

आर्थिक पत्रकारितामा सक्रिय कारोबार दैनिकमा कार्यरत राधिका ढकालले नेपाली कांग्रेसको तर्फबाट काभ्रेको मण्डन देउपुर नगरपालिकाको उपमेयरको रुपमा उम्मेदवारी दर्ता गर्नु भएको छ। पत्रकारिता विषयमा स्नातकोत्तर गर्नु भएकी राधिकाले उपमेयरको रुपमा उम्मेदवारी दर्ता गर्नु पत्रकारिता क्षेत्रको राजनीतिमा प्रतिनिधित्व भएको रुपमा धेरैले लिएका छन्। संवैधानिक प्रावधानमा नै महिला प्रतिनिधित्वलाई अनिवार्य गरिएपछि धेरै महिला नेतृ राजनीतिमा सक्रिय भएका छन्। पत्रकार ढकालको उम्मेदवारी माधव ढकालको प्रस्ताव र सानुछोरी श्रेष्ठको समर्थनमा दर्ता भएको हो। मण्डल देउपुर नगरपालिकाको मेयरमा भने काभ्रे जिल्ला कांग्रेसका उपसभापति अच्युत पौडेलको उम्मेदवारी दर्ता भएको छ।

राधिकाका पिता जीवनाथ स्थानीय राजनीतिमा सक्रिय हुनुहुन्छ। यद्यपी उहाँको परिवारमा राजनीतिमा होमिने उहाँ नै पहिलो उम्मेदवार बन्नु भएको छ। पत्रकारिता गर्दागर्दै स्थानीय निर्वाचनमा होमिनु भएकी ढकाल गाउँमा राजनीतिक वातावरण सोचेभन्दा राम्रो भएको बताउनु हुन्छ। ‘यहाँको वातावरण सोचेभन्दा राम्रो छ, आज चार बजे उम्मेदवारी दर्ता गरेपछि निर्वाचन तयारीका लागि हामी पूर्ण रुपमा सक्रिय भएका छौँ,’ ढकालले भन्नुभयो, ‘मेरो प्रमुख प्राथमिकता नै यहाँको सडक हो, काठमाडौँबाट नजिक भएर पछि आधारभूत पूर्वाधार नभएकाले मेरो ध्यान त्यसमा गएको छ।’ उहाँले नगरपालिकालाई पर्यटकीय क्षेत्र बनाउने घोषणा समेत गर्नु भएको छ।

उपमेयरः कविता ढुंगाना

नुवाकोटको वेलकोटगढी नगरपालिकाको उपमेयरमा अधिवक्ता कविता ढुंगानाले उम्मेदवारी दर्ता गराउनु भएको छ। नुवाकोट जिल्ला निर्वाचन कार्यालयमा ढुंगानाले नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको हो। कविता नुवाकोट जिल्ला विकास समितिका पूर्व सभापति भरत ढुंगानाकी छोरी हुनुहुन्छ। कविता विद्यार्थी राजनीतिबाटै सक्रिय हुनुहुन्थ्यो। संविधानले नै मेयर महिला भए उपमेयर पुरुष र पुरुष मेयर भए उपमेयर महिला हुनुपर्ने प्रवधानलाई अनिवार्य बनाएपछि धेरै महिला नेतृहरुले स्थानीय तहमा उम्मेदवारी दर्ता गराउन सफल भएको देखिन्छ।

यी प्रतिनिधिमुलक पात्र मात्र हुन्। स्थानीय तहमा प्रमुख र उपप्रमुख मध्ये एकजना महिला हुनुपर्ने संवैधानिक व्यवस्था रहेका कारण निर्वाचनमा छोरी पुस्ताको प्रतिनिधित्व बढेको छ। प्रमुख राजनीतिक दलले नयाँ पुस्तालाई राजनीतिमा सहभागी हुने अवसर दिए युवा पुस्ताको राजनीतिप्रति आकर्षण बढ्ने अपेक्षा गर्न सकिन्छ।

स्रोत: अन्नपूर्ण पोस्ट