बैशाख १, २०८१ शनिबार

विज्ञान भन्छ: पुरुषभन्दा बलिया हुन्छन् महिला



get_img

चार वर्षअघि पूर्ण थकित अवस्थामा म अस्पतालमा पल्टिरहेकी थिएँ। अघिल्लो दिन मैले छोरो जन्माएकी थिएँ। मलाई खुट्टा टेक्न सक्ने बनाउन रगत चढाइँदै थियो। मेरो परिवार अत्यन्त खुसी थियो किनकि मैले उनीहरुलाई छोरो दिएकी थिएँ। छोरै जन्मिने भविष्यवाणी पहिले नै गरिसकिएको थियो। ऊ मेरो आँखाको नानी मात्र बन्नेवाला थिएन, कुनैदिन मेरो स्याहार पनि उसैले गर्नेवाला थियो। ऊ त्यस्तो नायक बन्न गइरहेको थियो, जो ‘डु–इट–योरसेल्फ’ आफैँ गर्नेवाला थियो। ऊ बलियो हुनेवाला थियो, किनभने ऊ पुरुष थियो।

तर शारीरिक शक्तिलाई अन्य तरिकाले पनि अर्थ्याउन सकिन्छ। विज्ञानले पनि पूर्ण रुपमा बुझ्न नसकेको शक्ति हामी महिलामा हुन्छ भन्ने कुरा त्यसबेलासम्म मलाई थाहा थिएन। बाँच्ने मामिलामा हामी पुरुषभन्दा अब्बल छौँ। हामी जन्मिँदै यस्तै हुन्छौँ।

‘जुनसुकै उमेर समूहमा पनि बाँच्ने मामिलामा पुरुषभन्दा महिला अब्बल हुन्छन्,’ उमेर वृद्धिसम्बन्धी विशेषज्ञ तथा युनिभर्सिटी अफ अलाबामाका बायोलोजी डिपार्टमेन्ट प्रमुख स्टेभेन अस्टाड भन्छन्। उनी दुई दशकदेखि किन पुरुषभन्दा महिला बढी बाँच्छन् भन्ने विषयमा अनुसन्धानरत छन्। यो विषयमा अझै पर्याप्त अनुसन्धान भइसकेको छैन। उनीसँग रहेको दिघार्युसम्बन्धी तथ्यांक हेर्दा विश्वभर पुरुषभन्दा महिला पाँच–छ वर्ष बढी बाँच्छन्। अस्टाड यसलाई महिलाहरु बढी ‘तगडा’ हुन्छन् भनी अर्थ्याउँछन्।

तगडापन, कडापन वा शक्ति, जे भने पनि यो जीवित रहने क्षमताले ‘स्टेरियोटाइप’ भत्काएको छ। शारीरिक रुपमा शक्तिशाली महिला लगभग मिथकजस्तै बनिसकेका छन्। महिला एथ्लेटहरुलाई हामी अर्कै संसारका मानिसझैँ हेर्छौँ। मात्र ग्रीसेली दन्त्यकथामा महिला लडाकुहरु पुरुषजत्तिकै शक्तिशाली हुन्थे। तिनले प्रकृतिको नियमलाई नै उल्ट्याइदिएका थिए। आम धारणा के छ भने हामी महिला सबै शारीरिक रुपमा पुरुषभन्दा आधा मात्रै शक्तिशाली हुन्छौँ। बसाइको भूगोल हेरी हामी उनीहरुभन्दा ६ इञ्च होचा हुन्छौँ। हामी आफैँसँग भन्ने गर्छौँ, हामीसँग शक्ति त छ, तर त्यो मात्र भावनात्मक र बौद्धिक हुन्छ। हाम्रो शरीर शक्तिहीन छ।

यो कुरा साँचो नभएको अस्टाड बताउँछन्। उनी दीर्घ जीवनको कुञ्जी महिलामा रहेको विश्वास गर्ने सानो संख्याका अनुसन्धानकर्ताहरुमध्ये एक हुन्।

वृद्धावस्थामा महिला र पुरुषबीचको फरक अझ स्पष्ट हुने गर्छ। जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार आज ११० वर्षभन्दा बढी उमेरका ज्ञात ४३ व्यक्ति जीवित छन्। तीमध्ये ४२ जना महिला छन्। हाल सबैभन्दा बढी उमेरकी जमैकाकी भायोलेट ब्राउनले अन्तर्वार्ताहरुमा आफू माछा र मासु खान मन पराउने बताएकी छन्। उनी एक पटक कृषि मजदूरका रुपमा काम गर्थिन्। उनको जीवनशैलीले पनि उनको दीर्घजीवनबारे केही संकेत गर्दछ। तर हामीलाई थाहा भएको एउटा पक्ष के हो भने उनी महिला भएको कारण दीर्घजीवी बनिन्।

 

सबैभन्दा वृद्ध व्यक्ति जमैकाकी भायोलेट ब्राउन

यसपछाडिको विज्ञानबारे निकै कम अध्ययन भएको छ। यद्यपि वैज्ञानिकहरु के कुरामा स्पष्ट छन् भने दीर्घायुको कुरा महिलाको शरीरमा पछि उत्पन्न हुने चीज होइन। जन्मदेखि नै बालिकाहरुमा यो चीज हुन्छ।

‘नवशिशु युनिटमा केटा जन्मिनेबित्तिकै उसको मृत्युको सम्भावना बढी हुने कुरा सिकाइन्छ,’ लण्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनका जोय लन भन्छिन्। विश्वभर वार्षिक दश लाख बच्चाको जन्मेकै दिन मृत्यु हुने उनले बताइन्।

ठ्याक्कै उत्तिकै स्याहारको व्यवस्था हुँदा पनि बालिकाभन्दा बालकको मृत्युको खतरा १० प्रतिशत बढी हुने तथ्यांक छ। भर्खरै जन्मेका बालिकाहरुलाई के ले यति तगडा बनाउँछ, त्यो लगभग रहस्यमै छ। युनिभर्सिटी अफ एडिलेडका वैज्ञानिकहरुद्वारा प्रकाशित २०१४ को एक अध्ययनअनुसार गर्भमा रहेको शिशुको लिंगअनुसार आमाको नालले फरक किसिमको व्यवहार देखाउन सक्छ। अज्ञात कारणले गर्भमै बालिकाहरुले आमाबाट त्यो शक्ति बढी प्राप्त गरेका हुनसक्छन्।

जे होस् पछिसम्म पनि यसले महिलाहरुलाई बिरामीबाट रोक्ने गरेको देखिन्छ। ‘महिलामा भन्दा कम उमेरमा पुरुषमा मुटुरोग देखापर्छ। उच्च रक्तचापको समस्या पनि पुरुषमा निकै अघि देखा पर्छ। केही रोगमा रोगको बिस्तार पनि लिंगअनुसार फरक पर्नेगर्छ,’ जर्जटाउन युनिभर्सिटीकी सेन्टर फर द स्टडी अफ सेक्स डिफेरेन्स इन हेल्थ, एजिङ एन्ड डिजिजकी निर्देशक क्याथरिन स्यान्डबर्ग भन्छिन्।

अमेरिकामा सन् २०१० मा क्यान्सर, मुटुरोगजस्ता १५ मृत्युका प्रमुख कारणहरुमध्ये १२ मा पुरुषभन्दा महिलाको मृत्युदर कम देखिएको थियो। यी तीन अपवादमध्ये पार्किन्सन्स् वा स्ट्रोकमा मृत्युदर महिला र पुरुषको उस्तै रहेको देखियो भने अल्जाइमरबाट मृत्यु हुने सम्भावना चाहिँ पुरुषमा भन्दा महिलामा बढी भएको देखियो। ‘अध्ययनमा मृत्युका प्रमुख कारक सबैजसो रोगमा महिलाहरुको प्रतिरोध क्षमता बढी पाइयो,’ अस्टाड भन्छन्।

रुघाखोकीजस्ता सामान्य रोगमा पनि महिला बढी तगडा हुन्छन्। ‘तपाइँले फरकफरक प्रकारका संक्रमणहरुलाई हेर्नुभयो भने महिलाको रोग प्रतिरोधात्मक क्षमता तगडा हुन्छ,’ स्यान्डवर्ग थप्छिन्, ‘निकै खराब संक्रमण छ भने पनि बाँच्ने दर महिलाको बढी हुन्छ। यदि रोग अवधिसँग सम्बन्धित भएमा पनि महिलामा नै चाँडो रोग निको हुन्छ।’ यसको एउटा कारण हर्मोन हो। ओस्ट्रोजेन र प्रोजेस्टेरोनको उच्च मात्राले महिलाहरुलाई केही हदसम्म रक्षा गरेको हुनसक्छ। यी हर्मोनले प्रतिरक्षा प्रणालीलाई बलियो मात्र होइन लचकदार पनि बनाउँछ। यसले स्वस्थ गर्भावस्थाका लागि मद्दत गर्न सक्छ। महिलाको प्रतिरक्षा प्रणाली मासिक चक्रको दोस्रो भागमा अझ बढी सक्रिय हुन्छ, किनभने उनी त्यसबेला गर्भधारणका लागि तयार हुन्छिन्।

यसको बेफाइदा पनि छ। शक्तिशाली प्रतिरक्षा प्रणालीका कारणले महिलालाई ‘र्‍युमाटोइड आथ्र्राइटस’ र ‘मल्टिपल स्क्लेरोसिस’जस्ता रोगहरुप्रतिको जोखिम बढाउँछ। उनीहरुको शरीर संक्रमणविरुद्ध लड्न यति सक्षम हुन्छ कि यसले आफ्नै कोसिकाहरुमाथि पनि आक्रमण गर्छ। महिलाले पुरुषले भन्दा बढी दुःखाइ र बिरामीको गुनासो गर्नुको कारण यो पनि हुनसक्छ। ‘अधिक बाँच्नुको यो एक सजाय हो। तिमी बाँच तर पहिलेजस्तै सकुशल होइन,’ अस्टाड भन्छन्। यसको अर्को पक्ष पनि छः बढी पुरुषहरुको मृत्यु भइरहेको छ। ‘अस्वस्थ अवस्थामा रहेका पुरुषको भन्दा महिलाको संख्या बढी हुनुको अर्को कारण भनेको पुरुषहरुको मृत्यु बढी हुनु हो। महिलाहरु त्यस्तो घटनाबाट पनि बचिरहेका छन्, जसमा पुरुषहरुको मृत्यु हुने गर्छ।’ उनी थप्छन्।

महिला र पुरुषबीच शारीरिक भेद देखिएजति मात्र हुँदैन। स्वास्थ्य र जीवनमा देखिएको फरकको केही कारण सामाजिक र लैंगिक व्यवहारमा निर्भर हुनसक्छ। उदाहरणका लागि महिलाहरु चाँडै र धेरै चिकित्सकीय सहयोग लिन्छन्, पुरुषहरुले अस्वस्थ खाना बढी खान्छन् र जोखिमपूर्ण काम गर्छन्। तर यसको प्रमुख कारण प्राकृतिक नै रहेकोमा अस्टाड र स्यान्डवर्ग विश्वस्त छन्।

यदि उनीहरु सही भए यसले वैज्ञानिकहरुले गर्नुपर्ने कामको सूची अझ लामो हुनेछ। हजारौँ वर्षदेखि हाम्रो शरीरले यो वातावरणलाई ग्रहण गरेको छ। हाम्रो विगतमा त्यस्तो के हुनसक्छ, जसले महिलाको शरीरलाई यो जादुमयी तगडापन थपिदियो? किन र कसरी दुईमध्ये एक लिंगले जीवनको मामिलामा अर्कोलाई थोरैले पछि पार्‍यो?

शिकारी समाजको अध्ययनले केही संकेत गर्दछ। अफ्रिका, दक्षिण अमेरिका, एसिया र अष्ट्रेलियाका आदिवासी समुदायको अध्ययन गरेका धेरै मानवशास्त्री प्राचीन मानवहरु समान जीवन बाँच्थे भन्ने कुरामा विश्वास गर्छन। उनीहरु गाँस, बास र केटाकेटी हुर्काउने जिम्मेवारी सबैले बराबर लिन्थे। महिलाहरु पुरुषले जत्तिकै शारीरिक काम गर्दथे र उनीहरुमा थप बच्चा जन्माउने बोझ पनि हुन्थ्यो।

‘शिकारी समाज पूर्ण रुपमा समान नभएपनि निकै कम असमान रहेको कुरामा अहिले सर्वसम्मति छ,’ एटलान्टाको एमोरी युनिभर्सिटीका मानवशास्त्र विषयका प्राध्यापक मेल्भिन कोनेर भन्छन्, ‘समूहको गतिशीलताको स्तरका कारण पुरुषहरुले महिलालाई बाहेक गर्न असम्भव थियो।’
जति धेरै अनुसन्धान गर्‍यो, यो तर्क उत्तिकै बलियो भएको छ। शिकार, जसलाई पुरुषहरुको पहिलो कामको रुपमा लिने गरिन्थ्यो, पनि महिलाहरुको कामको रुपमा बुझिन थालिएको छ। पेन्सलभानिया स्टेट युनिभर्सिटीकी प्राध्यापक रेबेका ब्लिज बर्डले मलाई पश्चिमी अष्ट्रेलियाको एबोरिजनल समुदाय ‘मार्तु’ बारे बताइन्। ‘मार्तु महिला शिकार गर्न जाँदा उनीहरुको मनपर्दो शिकार जंगली बिरालोकै शिकार गर्छन्। यो उति उत्पादनशील काम त होइन तर महिलाहरुलाई आफ्नो शिकार कौशल देखाउने राम्रो अवसर हो।’

त्यस्तै दौडमा महिलाहरुको सहनशीलता अत्याधिक हुने कुरा युनिभर्सिटी अफ मिनोसेटामा उद्विकास विज्ञानसम्बन्धी ल्याब सञ्चालन गर्दै आएकी मर्लिन जुकले टिप्पणी गरेकी छन्। सन् २०१३ मा प्रकाशित पुस्तक ‘प्यालियोफेन्टासी’ मा उनले बुढेसकालमा पनि महिलाहरुमा दौडिने क्षमता निकै धीमा गतिमा ह्रास हुने लेखेकी छन्। महिलाहरु गर्भवती अवस्थामा समेत लामो दूरी दौडेर पार गर्न सक्छन्। २०११ मा अम्बेर मिलरले बच्चा जन्माउनुभन्दा सात घण्टाअघि सिकागो म्याराथनमा भाग लिएकी थिइन्। विश्व कीर्तिमानधारी पाउला रेडक्लिफले दुई गर्भावस्थाको बीचमा पनि आफ्नो अभ्यास कायम राखेकी थिइन्।

उसोभए हामी सबै किन ग्रीसेली दन्त्यकथाका पात्रजस्ता छैनौँ त? किन हामी नारी भन्नेबित्तिकै सानो सुलुत्त परेको शरीरको कल्पना गर्छौँ? वास्तवमा यस्तो धारणालाई म्यागेजिनका पानाबाहिरका धेरैजसो महिलाको जीवनले नै गलत साबित गर्छ। भारत भ्रमणमा मैले महिला निर्माण मजदूरहरु जहाँसुकै देखेँ। उनीहरु इँटा बोकेर भवन निर्माणस्थलतिर लामबद्ध रुपमा गइरहेका थिए। केन्यामा मैले जताजतै महिला सुरक्षा गार्ड देखेँ, जो विभिन्न कार्यालय र होटलहरुमा गस्ती गरिरहेका थिए। ग्रामीण क्षेत्रमा पनि महिलाहरु बच्चा चेपेर कठिन शारीरिक श्रम गरिरहेका थिए। हाम्रा पुर्खाहरुले पनि त्यसै गर्थे।

विकासवादी शब्दमा भन्ने हो भने यस्तै परिस्थितिमा हाम्रो शरीरले आकार प्राप्त गरेको थियो। मानव इतिहासको लामो अवधिमा हामी अफ्रिकाबाट बाँकी विश्वमा बसाइँ सर्‍यौँ। महिलाहरुले पनि थुप्रै वातावरणीय कठिनाइका बावजूद हजारौँ माइल यात्रा गरे। ‘यस्तो अवस्थामा बच्चा जन्माउनु अनि जीवित पनि रहनु, प्राकृतिक छनोटलाई सम्झौँ न!’ युनिभर्सिटी अफ क्यालिफोर्नियाकी मानवशास्त्री एड्रियान जिलम्यानले भन्छिन्। जिलम्यानले आफ्नो पूरै करिअर महिला शरीरको उद्विकासबारे अध्ययन गरेकी छन्। ‘महिलाले बच्चा जन्माउनै पर्थ्यो। यसको अर्थ हो, नौ महिना गर्भवती रहनु। उनीहरुले दुध उत्पादन गर्नुपर्थ्यो, बच्चा बोक्नुर्थ्यो। क्रमविकासले आकार प्रदान गरेको मानव महिला बन्नुमा केही विशेषता त छ। गर्भवती अवस्थामा मृत्यु पनि उच्च दरमा हुन्छ।’

दुई गर्भधारणका बीच पनि दौडको अभ्यास कायम राखेकी पाउला रेडक्लिफ छोरो जन्माउँदा मैले एक मानवले गर्न सक्ने सबैभन्दा कठिन शारीरिक काम गरेँ। तै पनि मलाई लैंगिक रुपमा कमजोर ठानिन्छ। मअघिका अनगिन्ती पुस्ताका महिलाहरुको संघर्षले मेरो शरीरलाई बलियो बनाएको कुरा जिलम्यानले मलाई सम्झाइन्।

‘नारी बनोट, नारी मनोविज्ञान, पूरैमा केही न केही खास छ। हजारौँ, लाखौँ वर्षदेखि बाँच्नका लागि गरेको संघर्षले महिलामा त्यस्तो पाइन चढाएको छ,’ उनी मुस्कुराइन्। त्यहीबेला मैले सम्झेँ, घरमा म सारा (डिआइवाइ) काम आफैँ गर्छु।

महिला र पुरुषबारे कम जानिएका पाँच तथ्य

१. एउटै रोगमा पनि महिला र पुरुषले फरक लक्षण प्रकट गर्छन। हृदयघात हुनुभन्दा हप्तौँअघि महिलाहरुलाई अनिद्रा र थकान महसुस हुन्छ। जबकि प्रायः पुरुषहरुको छाती दुख्ने गर्छ।

२. भारत, जापान र चीनका महिलाहरुले रजोनिवृत्तिको लक्षण पश्चिमा महिलाभन्दा कम महसुस गर्छन्। पश्चिमा महिलाहरु सामान्यतयाः गर्मी हुने, राती पसीना आउने, चिन्ता र अनिद्रा लाग्ने बताउँछन्। किंग्स कलेज लण्डनका वैज्ञानिकहरुको तर्कअनुसार महिलाहरुले बढ्दो उमेर र रजोनिवृत्तिजस्ता परिवर्तित जीवनका अनुभवलाई मिसाउँदा यस्ता लक्षण देखिनेगर्छ।

३. आकस्मिक यौनसम्बन्धको मामिलामा महिलाहरु ‘चुजी’ भए पनि उनीहू पुरुषभन्दा पवित्र हुँदैनन्। आन्द्रेस बारानोव्स्की र हेइको हेस्ट नामक दुई जर्मन अनुसन्धानकर्ताका अनुसार महिला पनि पुरुषजत्तिकै आकस्मिक यौन चाहन्छन् र सुरक्षित वातावरण भएमा पुरुषजत्तिकै संख्यामा अपरिचितसँग शारीरिक सम्बन्ध राख्दछन्।

४. सन् २०१० मा युनिभर्सिटी अफ क्याम्ब्रिजकी प्राध्यापक मेलिसा हाइन्सको अध्ययनअनुसार केटीहरु खेलौना छनोट गर्दा आनुवंशिक रुपले नै अत्यन्त संवेदनशील हुन्छन् र उनीहरु गुडिया छान्ने गर्छन्। जबकि केटाहरु रेल, कारजस्ता खेलौना चाहन्छन्।

५. टेस्टोस्टेरोन हर्मोन आक्रमकताभन्दा बढी उच्चा आशासँग सम्बन्धित छ। लण्डन स्टक एक्सचेन्जका व्यापारीहरुको र्‍यालको नमुना जाँच गर्दा उनीहरुमा औसतभन्दा उच्च मात्रामा टेस्टोस्टेरोन पाइएको थियो। बेलायत, अमेरिका र स्पेनका वैज्ञानिकहरुले सो हर्मोनको उच्च मात्राले व्यापारीहरुलाई आशावादी बनाउने र उनीहरुले ठूला आर्थिक जोखिम मोल्ने निष्कर्ष निकालेका छन्।

(११ जुन २०१७ मा द अब्जर्भरमा प्रकाशित आलेखको भावानुवाद)