बैशाख ११, २०८१ मंगलबार

ढाकाको तानमा भविष्य खोज्दै महिला



मोरङ :  मोरङको उर्लाबारी–४ की निरु चौहानले ‘निरु घरेलु ढाका उद्योग’ सञ्चालनमा ल्याएपछि निरुजस्ता थुप्रै उद्यमशील महिलाले काममात्र पाएका छैनन् ढाका कपडा, जहाँ जुन भूगोलमा बुनेपनि गुणस्तरीय भए बजारको अभाव नहुने पनि प्रष्ट भएको छ । गत मंसिरमा उद्योग दर्ता गर्नुभएकी चौहानले हाल पाँचवटा तानबाट ढाका उत्पादन गरिरहेकी छिन्  ।

पाँचवटा तानमा दैनिक पाँचजना उद्यमशील महिलाले काम गरीरहेका छन्  । त्यसैगरी, निरुले आफ्नै उत्पादनबाट तयार भएका सिलाइका सामग्रीको बिक्री कक्ष सञ्चालनमा ल्याएकी छिन्  । बिक्री कक्षमा साडी, चौबन्दी चोलो, रुमाल, कुर्ता सलबार, झोला र थैली राखिएका छन् । यसैगरी, धनकुटा बुधबारेकी २४ वर्षीया रेखा लिम्बू स्नातक तेस्रो वर्षको परीक्षा दिइसकेपछि अहिले ढाकाको तानमा आफ्नो भविष्य खोज्दै छिन्  । उनी भन्छिन्, “पढ्ने सबैले जागिर पाउँदैनन्, प्रमाणपत्र सिरानीमुनि थन्किएको छ । पाएको जागिरबाट सबैलाई सन्तुष्टि कहाँ मिल्छ र ?

l58695

रेखाको जीवनमा पनि जागिर नपाएको तीतो अनुभव छ । त्यसैले उनी आफ्नो सीपलाई पैसामा बेच्न बाध्य छिन्  । हुन त नेपाली बजारमा तेह्रथुमे ढाका कपडाको एकछत्र राज छ । जहाँ जुन भूगोलमा बुनेपनि त्यस उत्पादनको नाम तेह्रथुमे ढाका नभने बिक्री नहुने समस्या अझै पनि छ ।  चारलाख लगानीबाट शुरु गरेको उद्योगबाट हाल मासिक  एक लाखको कारोबार भइरहेको सञ्चालिका निरु चौहानले बताइन्  । विसं २०५५ मा झापा हस्तकला प्रशिक्षण केन्द्रबाट सीप सिक्नुभएकी निरु अहिले उत्साहित छिन्  ।

उद्योग दर्ता गरेर काम थालेको छ महिनासम्म ठूलै संघर्ष गर्नुपर्यो । कसैले नक्कली भनेर निरुत्साहित गरे, कसैले आधुनिक जमानामा ढाकाका कपडा कसले किन्छ रु भनेर खिल्ली उडाए । आफूसँग भएको सीपसँग उनी पूरै विश्वस्त छिन्  । नेपाली धागो उद्योगले उत्पादन गरेको सुती धागो प्रयोग गरेर निरुले ढाकाको तान लगाउछिन्  र नेपाली उत्पादनकै धागोले बुन्छिन्  ।

हाल चौहानले उत्पादन गरेको ढाकाको माग उच्च छ । उनी भन्छिन् , “खासगरी साडी र सर्टका कपडा युरोप अमेरिकासम्म जान थालेका छन् । साडीको माग थेग्न सकेको छैन ।  विभिन्न गैरसरकारी संस्थाले उर्लाबारी क्षेत्रमा पनि बारम्बार ढाका बुन्ने तालीम सञ्चालन गरेपनि दक्ष जनशक्ति उत्पादन नहुँदा उर्लाबारीकै उद्योगहरू धरासायी बनेका छन् ।उनी भन्छिन् , “ढाका कपडा टिकाउमात्र हैन बिकाउ पनि हुने गरेकाले देशैभरबाट माग आउँछ । तर, जनशक्ति छैन ।” निरुसँगै सीप सिकेर स्वावलम्बी बन्दै गएकी देवका बाँस्कोटा ढाकाको माग उच्च भएपनि स्वदेशी उत्पादन र पहिचानप्रति युवापुस्ताको ध्यान जान सके ढाकाको माग फस्टाउने बताउछिन्  ।