बैशाख ८, २०८१ शनिबार

दँशैमा छोरी भएर जन्मन नपाएकोमा पछुतो



Kamal

नयाँ नयाँ कपडा जुत्ता लगाएर सिठी बजाउँदै हिडिन्थ्यो र पो दशैं आएझै लाग्थ्यो ।
खरले छाएको (रातोमाटो)ले लिपेको घरमा माकुरोले लगाएको जालो पन्छाउँँदै घर पोत्ने चटारो हुन्थ्यो र पो दशैं आएझै लाग्थ्यो ।
दसैलाई भन्दै घोर्ले बोको घरको पालिमा बाधिन्थ्यो र पो दशैं आएझै लाग्थ्योे ।
दशैंंलाई भन्दै साचेर राखेको काक्रो थाङ्ग्रामै पाकेर पट्पटी फुट्थ्यो र पो दशैं आएझै लाग्थ्यो ।
रोटे पिङ्को लागी माद्लखाबो काट्न गइन्थो, लिङ्गे पिङको डोरी बाट्न गाउँभरी (बाबियो उठाउँदै हिडिन्थो र पो दशैं आएझै लाग्थ्यो ।
दशैँलाई भन्दै टेको लगाएर राखेको केरा बोट्मै पहेलपुर हुन्थ्यो र पो दशैं आएझै लाग्थ्यो ।
दसैलाई भन्दै चिउरा कुट्न रातभरि गाउँका ढिकी भक्राइट्याइ भक्राइट्याइ गर्थे र पो दशैं आएझै लाग्थ्यो ।
दशैँलाई भन्दै गाउँघरका कुवाँपदेरो बाटोघाटो सरसफाइमा जुटिन्थ्यो र पो दशैं आएझैँ लाग्थ्यो ।
दशैँलाई भन्दै मिठो मसिनो कुट्नु(पिन्नु गर्न ढिकीजातोमा भ्याइ नभ्याइ हुन्थ्यो र पो दशैं आएझै लाग्थ्यो ।
दशैँमा फलानो आयो ढिस्कानो आउदैन रे नासो पठाएछ भनेर कुरा गर्न पाइन्थो र पो दशैं आएझै लाग्थ्यो ।
पोहोरको दशैँमा यती दक्षिणा भाथ्यो अहिले कती हुने हो भनेर मनमनै हिसाबकिताब गरिन्थ्यो र पो दशैं आएझै लाग्थ्यो । बर्ष कुरेर बल्लबल्ल नयाँ लुगा आङ्मा पर्थे र पो दशैं आएझै लाग्थ्यो ।
अघिपछी एक फिर्को मासुसँग कचौरो भरि झोल खाने बानी परेको मान्छेलाई आफ्नै घरमा सिङै खसी ढालिन्थ्यो र पो दशैं आएझै लाग्थ्यो ।
मुग्लानीहरु हररर अत्तर बसाउँदै भरियालाई भारी बोकाएर खाङग्रे डोकोमा खत्राक्कखुत्रुक सामान हालेर टेप रेकर्डर घन्काउदै गाउँ छिर्थे र पो दशैं आएझैलाग्थ्यो ।
सधै निख्लो ढिडो मकैको भात पाक्ने अगेनामा एक्कासी धानको भात पाक्दा अचम्म लाग्थ्यो र पो दशैं आएझै लाग्थ्यो ।
निधारले नपुगेर गालासम्म रातो अक्षता लगाएर दक्षिणामा पाएको सिक्का पैसा झिल्झिलेमा हालेर छन्द्राङछन्द्राङ पार्दै हिड्न पाइन्थ्यो र पो दशैं आएझै लाग्थ्यो ।
फुलै फुलको मगमगाउदो बास्नाले गाउँ नै ढकमक्क हुन्थ्यो र पो दशैं आएझै लाग्थ्यो ।
टिका लगाउदै हिड्दा कोहिकोही मान्यजनले यो बज्या त छोरोमान्छे पो हो त, छोरो मान्छेलाई त दक्षिणा दिनु पर्दैन भन्दै पैसा नदिएर जमरा मात्रै हातमा राखिदिदाँ छोरी भएर नजन्मेकोमा पछुतो मानिन्थ्यो र पो दशैं आएझै लाग्थ्यो ।तर खै त अहिले त्यो दशैँ उफ् १ सम्झिदा पनी बैराग लाग्छ ,त्यसैले मागेर पाउने भए म मेरो त्यो बेलाको दशैं माग्थे
नागरिकतामा उमेर घटाएर फेरी त्यो बालापन फर्कने भए ,म जुनसुकै मुल्य चुकाएर पनि त्यो बालापन साट्थे
तर अपसोच नियती सामु म निरिह छु ।