चैत्र १६, २०८० शुक्रबार

‘बच्चालाई स्तनपानका लागि आमालाई ६ महीना सुत्केरी विदा’



Rajkumar_pokhrel 1 महीना सुत्केरी विदा दिने प्रस्तावसहित प्रजनन तथा मातृ सुरक्षासम्बन्धी विधेयक तयार गरेको स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य महाशाखाको पोषण शाखा प्रमुख राजकुमार पोखरेल भन्छन्, “बाल मृत्युदर घटाउन सहयोग पुगोस् भनेर ६ महीना सुत्केरी विदाको प्रस्ताव गरिएको हो।”

प्रजनन तथा मातृ सुरक्षासम्बन्धी विधेयकमा सुत्केरी विदासम्बन्धी के प्रस्ताव गर्नुभएको छ ? 

शिशुको शारीरिक विकासका लागि ६ महीनासम्म स्तनपान गराउन अनिवार्य हुन्छ । अहिलेको ६० दिनको सुत्केरी विदाको व्यवस्थाले शिशुलाई स्तनपान गराउने समय अपुग भएको छ । त्यसैले ६ महीना सुत्केरी विदा दिने प्रस्ताव गरेका छौं ।

यसको आवश्यकता किन पर्‍यो ?

अन्तर्राष्ट्रिय क्षेत्रमा पहिल्यैदेखि नै ६ महीना सुत्केरी विदा दिने अभ्यास छ । विश्व स्वास्थ्य सभाले सन् २०१७–२०२६ सम्म घोषणा गरेको विश्व स्तनपान दशकमा हस्ताक्षर गरेर नेपालले पनि प्रतिबद्धता जनाएको छ । अन्तर्राष्ट्रिय मञ्चमै प्रतिबद्धता जनाएपछि यो अनिवार्य जस्तै भयो । शिशुलाई ६ महीना स्तनपान गराउन आवश्यक भए पनि अनिवार्य थिएन । अब कानूनी व्यवस्था गरेर अनिवार्य बनाउन खोजेका पनि हौं ।
यस्तो व्यवस्थाले के फाइदा हुन्छ ? 

अहिलेसम्मको अध्ययनले ५० प्रतिशत बाल मृत्युदर कुपोषणकै कारण हुने गरेको देखाएको छ । ६ महीना स्तनपान गराउँदा कुपोषणबाट हुने बाल मृत्युदरलाई घटाउन सकिन्छ । जसले शिशुको शारीरिक, मानसिक विकाससँगै रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।
पर्याप्त स्तनपान नगराएकै कारण बाल मृत्युदर घट्न नसकेको हो र ? 

स्तनपान मात्रै त होइन, तर अपर्याप्त स्तनपान पनि एउटा मुख्य कारण हो । ६ महीनासम्म स्तनपान गराउँदा बाल मृत्युदर घट्ने मात्र होइन, शिशुको मानसिक, शारीरिक र संवेगात्मक विकासमा महत्वपूर्ण भूमिका हुन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा गरिएका अध्ययनहरूले अहिले पोषणमा गरिएको लगानी भन्दा १६ गुणा फाइदा हुने देखाएको छ । यसबाट २–७ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा वृद्धि पनि हुन्छ ।

यो प्रक्रिया कहाँ पुगेको छ ? 

हामीले विधेयकको मस्यौदा तयार गरेर रायका लागि कानून मन्त्रालयमा पठाएका छौं । कानून मन्त्रालयबाट राय प्राप्त भएपछि मन्त्रिपरिषद्मा पठाउँछौं ।