बैशाख ९, २०८१ आईतबार

मतपत्र च्यातिएको भरतपुरमा मतगणना गर्न महिला प्रतिनिधि पठाउन आग्रह



Mataganana

चितवन – मतगणनाको क्रममा मतपत्र च्यातेर विवाद भएको चितवनमा महिलालाई मात्र मतगणना प्रतिनिधीका रुपमा पठाउन मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले आग्रह गरेका छन् । महिला स्वभावतः शालीन र भद्र हुने भएकोले निर्वाचनको विश्वासनियताका लागि उम्मेदवारका प्रतिनिधिका रुपमा महिलालाई मात्र समावेश गर्न उनले आग्रह गरेका हुन् ।

‘महिला प्रतिनिधी भएमा एउटा फरक संस्कृतिको विकास गर्न पनि सकिन्छ’, संयुक्त राष्ट्रसंघीय विकास नियोग (युएनडिपी)को सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम भरतपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने – ‘‘त्यसैले मतगणनाका क्रममा सबै उम्मेदवारले महिला प्रतिनिधि पठाएमा गणना प्रक्रिया अरू बढी राम्रो हुन्छ ।’

गएको स्थानीय तहको निर्वाचनमा मतगणनाका क्रममा उम्मेदवारका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिका–१९ को मतदान पुनः भएको थियो । सो पश्चात् तारको जाली लगाएर जालीभित्र प्रतिनिधिलाई राखेर मतगणना गरिएको थियो । उनीहरुको आवाज ठूलो नहुने जसले सद्भाव खलबलिन नदिने बताउँदै मुख्य निर्वाचन अधिकृत शर्माले यसले निर्वाचनको विश्वसनीयता अझ बढेर जाने धारणा व्यक्त गरे ।

कार्यक्रममा सहभागी महिलाहरुले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दलहरुले प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार नबनाएको गुनासो गर्दै निर्वाचनको प्रचार प्रक्रियादेखि मतगणनासम्म हुन सक्ने चुनौतीलाई समयमै आँकलन गरी सुरक्षा रणनीति बनाउनुपर्नेमा बताए ।

निर्वाचन प्रक्रिया खर्चिलो भएको, आचारसंहिताको पालना कम भएको, सञ्चारमाध्यम र कर्मचारी निष्पक्ष बन्न नसकेको र मानव अधिकारकर्मी स्वतन्त्र नभएको गुनासो उनीहरुले व्यक्त गरेका थिए ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले निर्वाचनपूर्व, निर्वाचनको समय र मतदानपछिको समयको सुरक्षा प्रबन्ध मिलाइएकाले ढुक्कसँग मतदान गर्न सबैमा आग्रह गरे ।