बैशाख ११, २०८१ मंगलबार

आफ्नै श्रीमानको भोट नपाउने श्रीमती,दुर्गालाई भोट हाल्न गएनन् मोहनविक्रम



काठमाडौं, मंसिर २१ –नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती दूर्गा पौडेल प्यूठानमा वाम गठबन्धनकी उम्मेदवार छिन् ।
लामो विवादपछि प्यूठानमा जनमोर्चाले माओवादी र एमालेको साथ पायो । सुरुमा मोहनविक्रम सिंह उम्मेदवार बने मात्रै समर्थन गर्ने अडान लिएका एमाले र माओवादीले अन्तिम समयमा सिंहकी श्रीमती दूर्गालाई समर्थन गरेका हुन् ।

श्रीमती नै उम्मेदवार भए पनि अर्धभूमिगत रहेका मोहनविक्रम सिंह श्रीमतीको लागि भोट माग्न प्यूठान गएका थिए । श्रीमतीलाई जिताउन कार्यकर्ता प्रशिक्षण र घरदैलो अभियानमा समेत लागेका सिंहले आफ्नै श्रीमतीलाई भने भोट दिन गएनन् ।उनी मतदानको दिन काठमाडौंको बनस्थलीमा रहेको निवासमा बसेर देशैभरीको चुनवी गतिविधि हेरिरहेको उनका सहयोगीले जानकारी दिए ।

‘उनले आफू नै उम्मेदवार हुँदा त मत हाल्नुभएन, अहिले म उठ्दा पनि उहाँ भोट हाल्न आउनुभएन’ सिंहकी श्रीमती दूर्गा पौडेलले भनिन् । ,‘उहाँले मेरो लागि चुनावी अभियानमा भाग लिनुभयो तर भोट चाहिँ हाल्नुभएन ।’

सिंह चुनावी प्रचार सकेर मंसिर १८ गते प्यूठानबाट काठमाडौं आएका थिए । महामन्त्री सिंहले अहिले आफ्नै श्रीमतीलाई मात्रै भोट नहालेको होइन, आफै उम्मेदवार रहँदासमेत उनले भोट भोट हालेका थिएनन् ।

सिंह पहिलो पटक विक्रम संवत २०१५ मा भएको संसदीय चुनावमा तत्कालीन क्षेत्र नम्बर ८५ प्यूठानबाट नेपाल कम्युनिष्ट पार्टीबाट सांसदका उम्मेदवार थिए । त्यसबेला उनी एक हजार २ सय मत अन्तरले पराजित भएका थिए । उनको मतदाता नामावली भने झिमरुक गाउँपालिकाको बाल शिक्षा उच्च मावि ओखरकोटमा रहेको छ ।