चैत्र १५, २०८० बिहीबार

जीतमा पनि मुस्कुराउँन नसकेकी बिना !



काठमाडौ-भारी मतान्तरले विजय भएको खबर सुन्दा उनी अक्क न मक्क परिन् । यो ठूलो खुशीको कुरा थियो । प्रतिनिधि सभा निर्वाचनमा अत्यधिक मतले जित्नु उत्सवको निमन्त्रणा थियो ।
तर, उनका आँखाबाट भने बर्बरी आँसु झरे, यी हर्षका होइनन्, पीडाका आँसु थिए ।

आफ्नो जीतमा पनि हाँस्न सकिनन् बिना मगर, न त अबीर नै लगाउन सकिन उनले ।

बीना मगरका लागि निर्वाचन एउटा दायित्व मात्रै थियो, जनताप्रतिको उत्तरदायित्व । देशका लागि केही गर्ने अठोट पुरा गर्ने दायित्व । व्यक्तिगत जीवनमा त उनले आफ्नो सबैभन्दा प्रिय बस्तु चुनावकै क्रममा गुमाइसकेकी थिइन ।

–यो खुशीमा प्रकाश सँगै भएको भए‘

– आफू भारी मतान्तरले जितेको कुरा हर्षित हुँदै प्रकाशलाई सुनाउन पाएको भए‘

तर यो अवसर उनले पाइनन् ।
प्रकाश दाहालको निधन बिना मगरका लागि निकै ठूलो चोट थियो । निर्वाचनको प्रचारमा रहेको बेला आफ्नो अनुपस्थितिमा श्रीमान गुमाउनु परेको पीडा‘।

जनताप्रतिको उत्तरदायित्वलाई सम्झेर उनले जसो तसो आफूलाई सम्हालिन । अशान्त र छटपटिएको मन बोकेर जनताको घरदैलोमा पुगिन । प्रतिनिधिसभा उम्मेदवार बिना मगर घरदैलोमा पुग्दा मतदाताले केही माग गरेनन, बरु सान्त्वना र ढाडस दिए । “आफूलाई समाल्नु । यहाँ नआएको भए पनि हुन्थ्यो, भोट दिइहाल्थ्यौं” यही माया अहिले विजयमा परिणत भएको छ ।

अन्ततः जनताले उनलाई माया गरे, साथ दिए । तर यो साथले पाएको खुशी साट्ने आफ्नो प्रिय उनीसँग थिएन् । अभियानका क्रममा स्थानीय बासिन्दाले देखाएको मायाले साहस बढेको बताउँदै बिनाले भनेकी थिइन, “यस्तो पीडाको समयमा आफ्नै छोरी सम्झेर यहाँका बासिन्दाले माया गरेका छन्, आत्मबल भरिदिएका छन । अहिलेसम्म पनि यस क्षेत्रकै विकासका लागि क्रियाशिल थिए, अब मेरो जीवन यहाँकै बासिन्दाको सेवामा समर्पित गर्नेछु ।” यो बिनाको महानता थियो ।

अब भने उनका अगाडि चुनौती र जिम्मेवारीका पहाड तेर्सिएका छन् । जनताका अगाडि समृद्धिको सपना छ । बिनाबाट ठूलो आशा छ । कञ्चनपुरको दक्षिण क्षेत्रका जनताका अपेक्षा उनीसँगै जोडिएका छन् । यो ठूलो जिम्मेवारीलाई आफूभित्रको पीडालाई दबाउँदै उनले पुरा गर्नुपर्ने चुनौती छ ।

त्यसो त संघर्षको प्रतिबिम्ब हुन बिना मगर । २७ महिनासम्म भैरवनाथ गणको कालरात्री छिचोलेकी छिन् उनी । भाग्यवश जीवन पाएकी हुन उनले । त्यसपछि परिवारमा आइपरेको कहालिलाग्दो पीडा । यसलाई पनि उनले झेलिरहेकी छिन् ।
नेपाली समाजमा महिला भएर संघर्ष गर्दै अघि बढ्नु त्यति सहज छैन । बिनाका लागि पनि कठिन बाटो अगाडि छ । तर उनलाई साथ दिने, हरेक पाइलामा उनीसँगै हिँड्ने हजारौंको जमात पनि छ । उनी एक्ली छैनन् । उनका पछाडि हजारौं लामबद्द छन् ।

बिनाले २० हजारको मतले प्रतिद्वंदी दीवान बिष्टलाई पराजित गरेकी छिन । यसको अर्थ जनताले ऊनीमाथी ठूलो भरोसा गरेका छन । बिना जीते बिकास हुने उनिहरूको बिश्वास छ । यो बिस्वासको सम्मान पार्टीले गर्न सक्नु पर्छ । उनलाइ उचित ज़िम्मेवारी दिएर ।