चैत्र १६, २०८० शुक्रबार

स्वास्थ्य मन्त्रालयमा फेरी पनि महिला सचिव, डा. पुष्पा चौधरी नियुक्त



काठमाडौं- सरकारले स्वास्थ्य सचिवमा डा पुष्पा चौधरीलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयमा १२औं तहमा कार्यरत प्रमुख विशेषज्ञ डा चौधरीलाई सचिवमा नियुक्त गरेको हो।

बढुवा समितिले हिजो गरेको सिफारिसका आधारमा डा चौधरीलाई सचिवमा बढुवा गरेको हो। समितिले डा चौधरीसहित डा सुशील प्याकुरेल र डा विनोदमान श्रेष्ठको नाम सिफारिस गरेको थियो।

डा चौधरी स्वास्थ्य सचिवमा बढुवा भएसँगै स्वास्थ्य मन्त्रालयले महिला डाक्टर सचिवका रुपमा तीन जना सचिव पाएको छ। यसअघि डा. किरण रेग्मी र डा. सुधा शर्मा स्वास्थ्य सचिव थिए।

डा सुधाले स्वास्थ्य सचिवबाट राजीनामा दिएर गएकी थिइन् भने डा रेग्मीले गत मंसिर १८ गते अनिवार्य अवकाश पाएकी हुन्।

आज सचिव नियुक्त भएकी डा चौधरी ०४८ सालमा आठौं तहबाट सरकारी सेवामा प्रवेश गरेकी हुन्। उनी ०६२ सालमा ११औं तहमा प्रतिस्पर्धामा बढुवा भएकी थिइन्। गत असार ८ गते उनी १२ औं तहमा बढुवा भएकी थिइन्।

त्यसअघि उनी स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक, परिवार स्वास्थ्य महाशाखाकी निर्देशक र प्रसूतिगृहकी निर्देशक समेत थिइन्।