बैशाख १३, २०८१ बिहीबार

सर्वोच्च अदालत र उच्च अदालतको मुख्य न्यायाधीशमा महिला नियुक्त गर्न माग



काठमाडौँ – नेपाल बार एशोसिएशन महिला समितिले सर्वोच्च अदालत न्यायाधीश र उच्च अदालतमा मुख्य न्यायाधीश महिलालाई नियुक्ति गर्न माग गरेको छ ।

बारका महिला समितिका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकको नेतृत्वमा गएको समूहले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष ज्ञापनपत्र बुझाउँदै आज न्यायाधीश नियुक्ति गर्दा संवैधानिक व्यवस्थाअनुसार समानुपातिक र समावेशीतालाई ध्यान दिन माग गरिएको हो ।

ज्ञापनपत्रमा यही पुस २० गते बसेको न्याय परिषद्को बैठकले गरेको उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको र संविधानले व्यवस्था गरेअनुसारको समावेशी सिद्धान्त गर्नुपर्ने व्यवस्थालाई उपेक्षा गरिएको उल्लेख छ । परिषद्ले उच्च अदालतको मुख्य न्यायाधीशमा चार नाम सिफारिश गर्दा एक महिला कानून व्यवसायीको पनि समावेश गरेको थिएन ।

यसअघि सर्वोच्च अदालतमा र उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति आपत्ति प्रकट गर्दै सक्षम र योग्य महिला कानुन व्यवसायीलाई सर्वोच्च अदालत र उच्च अदालतको मुख्य न्यायाशीश नियुक्ति गर्न माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश पराजुलीले आगामी दिनमा सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा आफूले यस कुरालाई गम्भीरतापूर्वक लिएर महिला कानून व्यवसायीलाई नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गरे ।