छि ! मान्छेको जात, पोईला जा सम्म भने !

भरत पाण्डेय / माघ २, २०७४ - मङ्लबार


गुल्मी- ‘बाउ हराएको पाँच महिनापछि जन्मेकी यही छोरी छे, यही हो मेरो सपना भनेपनि विपना भनेपनि । यसैलाई डाक्टर पढाउने ईच्छा छ’, रीनाले गहभरी आँशु पार्दै छोरी सुम्सुम्याईन् ‘म संग भेट भएको जम्मा जम्मी १० महिनामा श्रीमान बेपत्ता भईहाल्नुभयो, अव यसैको मुख हेरेर बसेकी छु ।’

झमक्क साँझ परेको थियो । दँशैको बेला । गाउँघरमा खुसीयालि । परपाहुना आएर सबैका घर रमाईलो । रीना भने भर्खर २ खेप पानी ल्याएर आँगनको डिलमुनि मान्द्रोमा सुकाएको सुकेसाग उठाउँदै थिईन् ।

‘एकुल्टे मान्छे, घाँसपात गोवरसोत्तर गर्नैप¥यो’, पाहुनालाई एकैछिन कुराउँदा पनि उनले आफ्नो काम र कुराउनु परेको विवसता एकसाथ विस्तार गरीन ।

कालो बर्ण । २५ वर्षिया रीना बस्नेतको बोलिमा झल्कने लवजले लामो समय भारतमै बसेको जस्तो जस्तो छुट्याउन कसैलाई मुस्किल पर्दैन । तर १५ वर्षे उमेरमा आफ्नो देश छाडेर नेपाल पसेकी उनी १० वर्षसम्म न जन्मदिने बा आमाका साथमा छिन्, न आफूलाई जीवनभरी साथ दिन्छु भनेर पराईदेशमा भित्र्याउने श्रीमानको नै ।

आसामको कोक्राजारबाट २०६१ सालमा नेपाल पसेकी उनी ससुरा, देवर र छोरीको हेरचाह गरेर बसिन् । बिहे गरेर नेपाल आएको १० महिनापछि खसम बेपत्ता भए । त्यसको पाँच महिना पछि जन्मेकी छोरी र विरामी ससुराको हेरचाहमा उनी १२ वर्षदेखि निरन्तर छिन् ।

‘म नेपाल आएको १० महिनापछि पुसमा उहाँ हिँड्नुभयो, पाँच महिना पछि बैशाखको ३० गते नानी जन्मीई । भदौमा फेरी ससुरा प्यारलाईसिसले अपाङ्ग हुनुभयो । छोरा हराएको १० महिना पछि आमा पनि बित्नुभयो’, नेपाल पसेको विगत सम्झँदै उनले भनिन् ‘मैले यहाँ के के भोगेँ तर संगै दुःखसुख गरौँला भनेको उहाँँ भने ११ वर्षसम्म फर्कनुभएन ।’

सौतेनी आमाले पुर्‍याईन नेपाल

धुर्कोट रजस्थल २, धुर गाउँका विष्णु बहादुर बस्नेत संग बिबाह गरेर भित्रीएकी रीनाको जन्मघर आसामको कोक्राजार । स्कूलको छुट्टीमा बाबुलाई भेट्न भनेर भारतकै गहाना पुगेकी उनी त्यतैबाट कर्मघर बनाएर नेपाल पसिन् । स्कूले जीवनमा जस्तै भएपनि बाबुआमाको लहडप्यारमा हुर्केकी उनका बिबाहपछि भने संघर्षका दिन शुरु भए ।

‘म यहाँ आउँदा ९ कक्षामा पढ्थेँ । स्कूल विदा थियो । सानीआमाले हिँड् तेरो बाबा संग पैसा लिन भन्दाखेरी आफ्नी आमाले भो नजा एक महिना विदा सम्म यहिँ बस्, जानेहैन भन्नुभयो ।’

उनले जीवनमा अर्कोपटक जन्मदिने आमाको विर्षिसकेको माया सम्झिन् ‘मैले ईण्डिया जाने भनेपछि लालकिल्ला घुमेको राम्रो हो रे भनेर जवर्जस्ती आएँ । त्यहाँ सानीआमाले श्रीमानसंग बिबाह गरीदिन खोजेको रैछन् । आउनेवित्तीकै भगाएर यता ल्याईहाले ।’

बेलुका आउनुहोला भनेर पर्खेँ, १२ वर्ष भयो आउनुभएन

देशमा द्वन्दकाल चलेको थियो । भारतबाट श्रीमति लिएर आएका विष्णु छिमेकी जिल्ला अर्घाखाँचीको खनदह, डाँडाकटेरी, जिल्ला सदरमुकाम तम्घास, र छिमेकी गाविसहरु नयाँगाउँ पिपलधारा, जैसिथोक लगायत पुगेर तरकारी, खसीबोका, कुखुरा ल्याउनु र गाउँमा विक्री गरेर गुजारा चलाउँथे ।

उनका गुजाराका लागि भन्दा पनि गाउँमा पनि ताजा तरकारी र मासु पाउन थालेपछि गाउँलेलाई निकै सजिलै भएको थियो । सदा झैँ विष्णु सदरमुकाम जान हिँडे । सँधै आउने जाने साँझ फर्किहाल्लान भन्ने भयो रीनालाई पनि ।

बाटो हेरेर कुरीरहिन तर उनी फर्केनन् तर अहिलेसम्म फर्केनन् । ‘यस्तो ठाउँ जान्छु, उस्तो ठाउँ जान्छु भनेको पनि हैन बिहान गएको हो, बेलुका निश्चय पनि आउनुहुन्छ भनेर बसेँ । आउँछन् आउँछन् भन्दा भन्दै ११ वर्ष वित्यो’ आफ्ना खसम सम्झँदै रीना भन्छिन् ‘उहाँ नआएपछि मैले कति जनालाई कहाँ हुनुहुन्छ विष्णु भनेर सोधेँ ।

अहिलेसम्म कसैले पनि यस्तो ठाउँमा छन् पनि भनेनन् ।’ दक्षिण भारतबाट आएकी चेली रीना, नेपाली भाषा पनि नजानेकी । सिकाउने उनै खसम थिए । तर पेटमा पाँच महिनाको गर्भ छाडेर गुजाराका लागि हिँडेका न खवर, न मान्छे । दिन महिना हुँदै बर्ष विते । अन्तत उनी जीवन यस्तै रहेछ भनेर सम्हालिईन ।

आफ्नो देश छाडेर पराई देशमा पराईघर सम्हाल्न आईपुगेकी कोमल नारी आखिर कठोर मुटु लिएर घरको जेठो छोराको भूमिकामा रहिन् । ‘योे ठाउँमा ल्याएर मलाई पनि यस्तो विपत्ता पारे, आफू पनि कता गए’ रीना भन्छिन् ‘त्यो बेला रुनपनि कति रोएँ । ससुरा बा ले भन्नुहुन्छ मेरो जेठो छोरो यही हो, त्यसैले आजभोली मलाई आँशु पनि जाद्रै खसाल्दीन ।’

श्रीमान हिँडेपछि घरमा आपतै आपत

विष्णु हिँडेपछि घरमा आमाको निधन भयो । बाबु प्यारालाईसिसले थलिए । बहिनीको बिहे भयो । एउटा भाई पढ्न निकै कठिन भयो । श्रीमतिले छोरी जन्माईन् । हुने हार दैव नटार भन्छन्, भगलानले पनि त्यही बेला हेरेनन् । बस्नेत परीवारले सबैबज्रपात सहनु नै बाध्यता भयो ।

गाउँमा दुकानमा जाँदा साहुले पत्याउन छाडे । ‘तेरो त अव कमाएर दिने कोही छैनन्, तँ कहाँबाट तिर्छेंस्, भनेर साहुले पनि भने’ उनी ति दिन सम्झन्छिन् ‘एकपटक त ढाँटेर मेरो बुढा त दाङ्गमा त छन् रे एक दिन न एकदिन त देलान त नि, नत्र मैले भएपनि काम गरेर तिरुँला भनेर मैले तेलको पोका ल्याएँ ।’

त्यसपछिका दिनमा भने उनी कठोर बन्न थालिन् । देवरको पढाई, छोरीको हेरचाह, ससुराको औषधोपचार र अफ्नै ज्यान सहित सबैको पालनपोषण उनकै काँधमा प¥यो । त्यही जिम्मेवारी निभाउन उनि हिम्मतवाली बुहारी भएर कस्सिईन् । भाषा सिकिन्, काम सिकिन्, गाविसमा आएको मुढा बुन्ने तालिम लिएर आत्मनिर्भर हुने बाटो रोजिन् ।

यो खुसी देखाउने र संघर्ष सुनाउने रहरको प्रतिक्षामा छिन् रीना । ‘काम सिक्ने बेला रुँदा रुँदा कति दिदीबहिनीले किन रुन्छस भने कतिले आँशु देखेपनि बल्ल खाईस भने, सत्तुर हाँस्छन भनेर आँशु त मैले देखाउन्न कसैलाई’ उनले आफ्नो संघर्षको विस्तार गरीन ‘मैले यो सानै उमेरमा यति भोगेँ कि पहिलाको जीन्दगी सँम्झँदा आँशुका भल बगेर सिद्धिन्नन्,

अव त उहाँ आउनुहोला र मेरा सबै दुःख भनौँला भनेर पर्खेकी छु तर अहिलेसम्मपनि भेट्याईछैन ।’

छि ! मान्छेको जात, पोईला जा सम्म भने

श्रीमान हिँडेको कमाउनका लागि हो, अरु केही सुनिएको छैन । घरको जेठो छोरा भएर घर धानेर बसिरहेकी उनलाई राम्रो हुन थालेपछि सबैले गाउँमा सह्राउन पनि थाले । कसैले त ‘अव तेरो बुढा त अव छैन, भए त यत्रो १०र११ वर्ष भईसक्यो आउन्न ?  तैँले अन्तै बिहा गर’ पनि भने ।

तर घरको मजवुरीले कतै विदेश पसेहोलान भन्ने आश उनले मारेकी छैनन् । आफ्नो पिडामा खेल्न खोज्नेहरु विरुद्ध उनी एकैसासमा जवाफ र रोष पोख्छिन् ‘छि मान्छेको जात कति निष्ठुरी, ससुरा, देवर पालेर बस्छेस ?  देवरले भोली बिबाह गरेपछि तँलाई हेर्दैनन, खुरुक्क पोईला जा सम्म भने ।

नहेरे पनि के हुन्छ र ?  देवर भनेको त भाईजस्तो हुन्, मेरो भाईले दिदीबहिनीलाई जस्तै गर्नुभएको छ देवरले । छोरीले अहिले ४ मा पढ्दै छे, जतिसक्दो पढएर त्यही नानिको मुख हेर्दै बस्छु ।

आफ्नो धर्म कहिँ जान्न अपाङ्ग ससुराको सास छउञ्जेल मैले यताउति केही गर्दिन । मान्छेले जे भनेपनि भनुन, मलाई अझैसम्म पनि उहाँ आउनुहुन्छ जस्तो लाग्छ । मैले बिबाह गर्दिन अहँ । मेरो जिन्दगी बर्वाद भएपनि छोरीको जिन्दगी बर्बाद बनाईदिन्न मैले ।’

देवरलाई पढाउने मन थियो, ऋण तिर्न नसकेर पढाई छुट्यो

देवरलाई पनि धेरै पढाउने उनको ईच्छा थियो तर १२ कक्षासम्म पढेर देवर भुवन परदेश लागे । पढ्नुस भन्दा पनि घरको बाध्यता बुझेर देवर विदेशीएकोमा उनी दुःखि छन् ।

‘कहिले ढुंगा बोकेँ, कहिले अरुको कामको डोको बोके, सबै गरेर आफूले थोरैँ खाएँ, अलिअलि बचाएर पढ्नुपर्छ, आफ्नो खुट्टामा उभिन पर्छ भनेर पढाएँ’ उनले सुनाईन् ‘अझैपनि जतिसम्म सक्नुहुन्छ पढ्नुस भनेकी हुँ तर हैन भाउजु, आर्थिक पनि हुनुपर्यो । हाम्रो ऋण छ जताततै कसरी तिर्ने हो भनेर अहिले देवर १२ पढेर ईण्डिया जानुभयो ।’

घर छिर्दा उनको खरको छानो चुहिने थियो । राती झरी पर्दा शरीर रुझ्ने त्यसैले ऋणधन गरेर घर बनाईन् । त्यसको ऋण तिर्न भने अझैपनि बाँकी छ । त्यही ऋणको पिरले हो देवर परदेशिएको । आफूले ऋण तिर्न नसकेर पढ्नेबेलामा देवर परदेशिएकोमा रीना खिन्न छिन् ।

तै पनि त्यही रीन निखन्ने आश त्यही देवरको मेहनतेले गर्दा पलाएको छ । ‘दिनभरी मजवुरी गरेर आउने, राती सुत्दा खेरी कहिले पानी झरी आउँछ । पानी आँखामा पर्छ, त्यही दुःखले घर बनाईहालेँ’ उनी भन्छिन् ‘तर अहिलेसम्म पनि ३ लाख ऋण तिर्न नसकेर देवरको पढाई छुट्यो, साहु दिनदिनै आउँछन् ।

आएपनि कोही दिनमा पालो आउला तिरौँला भन्छु । त्यस्तो गर्छन । देवर अलिअलि कमाउँदैछन्, पछि पछि राम्रो कमाउलान् ।’अहिले ससुरा देव बहादुरलाई बिहान बेलुका औषधी खानुपर्छ । बाँचुञ्जेल एकदिन औषधी नछुटाउन डाक्टरले सल्लाह दिएका छन् ।

त्यसका लागि पनि उनलाई नियमित कमाई चाहिएको छ, त्यो बाहेक भैपरी आउँदा, दुःख विमार हुँदा पनि उनैले हेर्नुपर्छ । ‘ससुरा बुवालाई औषधी छुटाए मृत्यूको मुखमा भन्छन डाक्टरले । औषधी खानैपरेपरपछि अव कति चाहिन्छ कति’, उनि भन्छिन् ‘कहिले अरुको काम गरेर औषधी ल्याईदिन्छु, कहिले तालिम दिन गएको भत्ताले ल्याईदिन्छु ।

त्यो रोगको औषधी जीवनभरी खानै परो । त्यो भन्दा बाहेक कहिले ज्वरो आउँछ, कहिले के हुनछ । त्यसको उपचार गर्नै पर्यो ।’

 

मुढा बन्यो जीवनको सहारा

घरको ऋण ससुराको उपचार र छोरीको पढाईका लागि उनले मुढा बुन्ने तालिमलाई उपयोग गरेकी छन् । तर पनि स्वतन्त्र भएर पैसा कमाउन पाउँदिनन्, विरामी, बच्चा र गाईवस्तुको पिरले तन काममा भएपनि मन घरमै हुन्छ । ‘तालिममा जाँदा खानाबाहेक दिनको १ हजार रुपैयाँ दिन्छ, राम्रै कमाउँथे होला’ उनी भन्छिन् ‘तर विरामी ससुरा बुबा, नानी सानै छ ।

घरमा भैँसी, बाख्रालाई घाँस चाहियो । त्यसो हुँदा म लामो समयसम्म बाहिर तालिम दिन पनि जान सक्दिन, एकेक हप्तामा घर आउँछु ।’ २५ वर्षको सानो उमेरमा मान्छेले भौतारीएर कति गोता खाएका छन् । तर रीना भन्छिन् ‘मान्छेले दुःख पर्दाखेरी सबै गर्छ । सुख पर्दाखेरी गर्दैन ।’

त्यसैले उनी आजभोली आफ्नो परीवार धान्ने मात्र होईन साथीसंगीलाई मौकापर्दा अर्ति र दुःख पर्दा ढाडस दिने सम्म गर्छिन् ।

‘कसैले दुःखका कुरा गर्दा भन्छु हिम्मत कहिलेपनि नहार साथी हो, कति जना पोईला जान्छन साना साना छोराछोरी छाडेर, यस्तो नगर हेर, मलाई हेर त तिमीहरुले, १५ वर्षको उमेरमा ९ कक्षा पढ्दा पढ्दै नेपाल आएर अहिले म २५र२६ मा कति संघर्ष गरेँ’ उनि भन्छिन् ‘जीन्दगी त लामो छ, सिप सिक, आफ्ना खुट्टामा उभिउ । पढेर मात्र जागिर खाने कुरा हुन्न, सिप सिकेर काम गर्नुपर्छ भन्छु ।’

एउटा मान्छेको पेचले सिकायो उद्यम
उनलाई यो सबै सिकाएको एक जना मान्छेको पेचले हो । जसले विदेश जा, यस्तो गरेर नबस तेरो भोली बिहानको जीन्दगी हेर, भनेर सल्लाह पनि दिए । तर कति अलपत्र परेको छोराछोरीपनि छोडेर गएका आउँदा खेरी आमा आमा भन्दा लास आएको देखेर उनी विदेश गईनन् । ‘मेरो छोरी पाल्न छ, मेरो देवर पाल्न छ पनि भनेँ एकफेर ।

तर आफ्नै मनले फेरी सोचेँ हामीले समाचारमा सुन्छौँ विदेशमा दुःख पाएको त्यसपछि सिपलाई प्रयोग गरौँ न भनेर यता लागेँ’ उनले आफ्नो पूर्वयोजना सुनाईन ‘जस्तो साढे ३ सय ४ सयको धागो ल्याएर ४ वटा मुढा बुनेपनि त्यसबाट कमसेकम २ हजार फाईदा हुन्छ । एककिलो धागोको ४ वटा मुढा हुन्छ, पाँचसय रुपैयाँमा बेचेपनि आफूलाई फाईदा भैहाल्छ ।

तेल नुन चामल किन्न सकिन्छ, नानीलई पढाउन पनि सकिन्छ ।’

माईतिमा पठाएको चिठीपनि फर्केर आयो

आफ्ना पाखुरी र संघर्षले खारीएपनि उनलाई एउटै पछुतो छ, भारत छाडेदेखि जन्मदिने बाबुआमासंग भेटघाट छैन । सम्पर्क छैन । आफूले सम्झेको माईतिको ठेगानामा एकपट चिठि सम्म त पठाईन तर घरमा पुगेन । माईति सम्झँदा भने उनलाई विरक्त लाग्छ ।

‘एकपटक मलाई नागरीकता बनाउँदाखेरी माईतको कागजात चाहियो र चिठी पठाउँ रजिष्ट्रि गरेर । तर त्यो गाउँमा गएन, अन्त गएपछि रजिष्ट्री चिठी फर्केर आउने रैछन् । चिठी फर्केर आयो’, उनि भन्छिन् ‘त्यहाँबाट हिँडेदेखि माईतमा बा आमा संग अँह मर्दो ज्यूँदो, फोन सम्पर्ककेही पनि छैन ।’

जम्मा एउटा खुसी अनि एउटा दुःख मात्र छन्

मान्छेका जिन्दगीमा खुसी दुःख त आईरहन्छन गईरहन्छन् । २५ वर्षको उमेरमा उनलाई एउटाखुसी एउटा दुःख कहिल्यै नविर्साउने खालका छन् । ति खुसी र दुःखका पल उनी चाहेर पनि विर्षन्निन् ।

‘जिन्दगीमा सबैभन्दा दुःख आफ्नो देश, बा आमा छोडेर जो संग आईयो त्यो नै बेपत्ता भयो र यो भन्दा दुःख छोरी जन्मदाखेरी म जस्तै दुःख पाउन जन्मिई भनेर दुःख लाग्यो’ उनी आफ्नो दुःख र खुसीको क्षण खुलेर बताउँछिन् ‘खुसी चाहीँ एकपटक दँशैमा पैसा नभएपछि आफू विरामी पर्दा पनि नबेचेर जोगाएका अलिकति सुर्का बेचेर पनि दँशैमा बेचेर दँशै मान्नपर्यो भनेर ससुरा बाले भन्नुभएको थियो ।

त्यही बेला तम्घासबाट बेपत्ता परीवारलाई भनेर ७ हजार पैसा लिएर आएँ । त्यो सात हजार पैसा लिँदा मलाई सात लाख लिए जस्तो लाग्यो । त्यतिबेलाको खुसी लागेको जीवनको सबैभन्दा ठूलो खुसी हो ।’

छोरीलाई डाक्टर बनाउने हो

सबै मान्छेका सपना हुन्छन् । धनिका पुँजिपतिका सपना धेरै हुन्छन् होला तर एउटा संघर्षशिल नारीको अव एउटा मात्र सपना छ, छोरीलाई डाक्टर बनाउने । तर आफूले नेपाली भाषा लेख्न राम्रोसंग नजानेको कारण सिकाउन सक्दिनन् । त्यही सपना पूरा गरेर जीवनको सपना साकार गर्ने उनको योजना छ ।

‘तैँले राम्र्रो संग पढ, डक्टर बनाउन मन छ भनेकी छु’ उनी आफ्नो सपना सुनाउँदै भन्छिन् ‘मैले सकिन भनेपनि अरु ठूला ठूला मान्छेसंग गुहार गरुँला, भनेकी छु । पढ्न त गाउँ घरको कुरा हो । म अव बा भनेपनि आमा भनेपनि एक्लै । कतिबेला पढाउन भ्याउँछु, कतिबेला भ्याउँदिन ।’

त्यतिबेलासम्म हराएका श्रीमान पनि घर टुप्लुक्क आईहाल्छन भन्ने उनको ठूलो आशा छ । आफन्त, नातेदार, शुभचिन्तक र सरकार संग उनको एउटै अपेक्षा छ हराएका श्रीमान भेटाईदिनुस । ‘हामीलाई पैसा ठूलो होईन । मान्छे जहाँ भएपनि त्यहाँबाट खोजेर मर्दो कि ज्यूँदो हामीलाई पत्ता गरीदिनु पर्यो ।

मान्छे भयो भने हलो कोदालो गरेर आफ्नो जहान परीवार पाल्छ’, उनले बेपत्ता श्रीमान फर्कने आश गर्दै भनिन् ‘मेरो सत्तको सिउँदोको सिन्दुर रहेछ भनेर एक चोटी न एकचोटी फर्केर आउँछ्न् ।’ उनी आफू बाँचुञ्जेल श्रीमानको मृत्यूको खवर सुन्न चाहँदिनन् । भन्छिन् – ‘नत्र एकैचोटी उहाँको मृत्यूको खवर नसुन्दै मेरो पनि मृत्यू होस ।’

कृपया पूर्व सम्पादककाे पूर्वस्विकृतिबिना स्राेत खुलाएर पनि कपि नगर्नुहाेला ।


प्रतिक्रिया दिनुहोस


सब्य र भब्य तरिका ले आफ्नो धारणा राख्नुहोस।

error: Content is protected !!