एमएड गरेकी युवती कुखुरापालनमा

नारी खबर / माघ १४, २०७४ - आइतवार


काठमाडौं-स्नातकोत्तर उत्तीर्ण गरेको प्रमाणपत्र बोकेर त्रिभुवन विश्वविद्यालय कीर्तिपुर गेटबाट बाहिरिँदै गरेका विद्यार्थीले योग्यताअनुसारको अवसर खोजी गर्छु भनेर सोच्नु अस्वाभाविक होइन ।

तर, एमएड गरेको प्रमाणपत्र बोकेर त्रिभुवन विश्वविद्यालय कीर्तिपुर गेटबाट बाहिरिँदै गर्दा र त्यसअघि तारा राईले कहिल्यै केही पनि सोचिनन् । शिक्षा संकायअन्तर्गत नेपाली विषयमा स्नातकोत्तर गरेकी राईले पढेपछि जागिर खानैपर्छ भन्ने मान्यता कहिल्यै राखिनन् ।

हलेसी–तुवाचुङ नगरपालिका–७ हलेसीकी राईले स्नातकोत्तर पूरा गरेपछि कुखुरा पाल्न थालिन् । भक्तपुरको सिरुटारमा ६ महिना पोल्ट्री फार्म चलाइन् । पोल्ट्रीका लागि तयारी खोर भाडामा लिई २ हजार ५ सय चल्ला हालिन् ।

‘६ महिनामा तीन लट कुखुरा बेचें,’ उनले सुनाइन्, ‘सुरुमा कुखुरा हाल्न फिड फिड भनेको दाना र चल्ला जसले दिन्छ, उसैले मासुका लागि कुखुरा लैजान्छ स्वरूप २ लाख ५० हजार डिपोजिट राख्नुपथ्र्यो । घाटा लागेन । त्यसपछि झन् उत्साहित भएँ ।’

‘त्यतिबेला ? ’ उनले सुनाइन्, ‘२ हजार ५ सय ब्रोइलर कुखुरा थिए । बाँकी लोकल कुखुरा र खरायो पालेकी थिएँ । आफैंलाई खान पुग्नेगरी तरकारीसमेत लगाएकी थिएँ ।’  सिरुटारबाट भक्तपुरकै बालकोट सरेकी उनले कुखुरापालनलाई नै निरन्तरता दिँदै आएकी छन् ।

‘व्यवस्थापन गर्न जानियो भने कुखुरापालनबाट छोटो समयमा प्रतिफल पाइन्छ,’ उनको बुझाइ छ, ‘खोर व्यवस्थापन खोरमा चौबीसै घन्टा बत्तीको प्रकाश हुनुपर्छ, खोरको तापक्रम तथा प्रकाश, चल्ला हुर्काउने समय व्यवस्थापन र दानापानी व्यवस्थापन गर्न जानियो भने यो व्यवसायबाट छिटो आम्दानी गर्न सकिन्छ ।’

थोरै जग्गा र लगानीमा गर्न सकिने कुखुरापालनमा धैर्य र मिहिनेत चाहिन्छ । कुखुरापालनका लागि व्यवस्थापनमा लाग्ने खर्च कटाएर १ हजार ब्रोइलर कुखुराबाट ५० हजार फाइदा हुन्छ । चल्ला लगाएको दुई महिनामै ५० हजार हात पारिने उनको अनुभव छ ।

कुखुरापालनमै रमाइरहेकी उनले बालकोटमा लोकल कुखुरा पालेकी छन् । पाँच रोपनी जग्गा भाडामा लिएर उनले कुखुरापालनसँगै मौसमअनुसारको तरकारी खेती गरेकी छन् । लोकल कुखुरामात्रै होइन, खरायोसमेत पाल्दै आएकी छन् । पहिले हालेको भर्खरै सकिएकाले अब उत्तम जातको खरायो हाल्ने योजनमा छिन् ।

जिउँदो खरायो प्रतिकेजी तीन सयदेखि ३ सय ५० रुपैयाँसम्ममा बिक्री हुन्छ । खरायोको मासु बजार व्यवस्थापन गर्न समस्या छैन ।कुखुरापालकलाई बेलाबेलामा बर्डफ्लुले तर्साउनेबाहेक गम्भीर समस्या छैन । तर रानीखेत, गम्बारो, लिचीजस्ता रोग लाग्नबाट समयमै सचेत रहनुपर्छ ।

तारा राईको अध्ययन र व्यवसायबीच समानता छैन । यो आवश्यक पनि होइन । उनी स्वतन्त्र तरिकाले हुर्किन् । बढिन् । पढिन् । त्यो स्वभावले अहिलेसम्म छाडेन । ‘विद्यालयदेखि क्याम्पससम्म स्वतन्त्र तरिकाले पढें । त्यसरी नै हिँडें । विद्यार्थी संगठनमा काम गरें ।

विद्यार्थी राजनीतिले बाहिर–बाहिर रहने वातावरण बनाइदियो,’ तारा राईले वास्तविकता सुनाइन्, ‘एकैठाउँमा रहेर काम गर्ने बानी विकास गर्नै सकिएन । त्यसो भएपछि कसैको मातहत रहेर काम गर्न सक्ने अवस्था रहेन ।’कारण त्यतिमात्रै हो । तसर्थ, राईले कुखुरापालन व्यवसाय रोजिन् । उनी आफ्नो व्यवसायमा आफैं हाकिम, आफैं कारिन्दा हुन् ।रातोपाटीबाट


प्रतिक्रिया दिनुहोस


सब्य र भब्य तरिका ले आफ्नो धारणा राख्नुहोस।

error: Content is protected !!