चैत्र १५, २०८० बिहीबार

क्यान्सरलाई जित्ने प्रमिता र रेजिना



काठमाडौ- ‘एकदिन अन्दाजी २४ वर्षकी युवती रुँदै नेपाल क्यान्सर हस्पिटलमा आइन्। उनी अबस्था सम्हाली नसक्नु थियो। कारण रहेछ रोग। उनी र उनको प्रेमी बिहे गर्ने टुंगोमा पुगिसकेका रहेछन् तर उनलाई स्तन क्यान्सर भएको पत्ता लाग्यो। उनी मानसिक तथा परिवारको तनावमा परेकी थिइन्।

पछि उनले उपचारका साथै परामर्श पनि लिँदै गइन् । बैँकमा जागिर पनि पाइन्। उनको प्रेमीले पनि साथ दिए र अहिले बिहे भइसक्यो। मैले बिहे पनि खाएर आएँ।’

यो कथा सुनाउने व्यक्ति हुन् ४७ वर्षीया प्रमिता खनाल। ‘मैरै परामर्शकै कारण उनले आफूलाई बलियो बनाइन्। प्रमिता आफै पनि स्तन क्यान्सरबाट पीडित थिइन् र अहिले त्यसबाट मुक्त भएकी छन्।

‘म अलि दरो छु, कुनै कुरामा आत्तिने बानी छैन, जब स्तन क्यान्सर लागेको थाहा पाएँ विश्वास गर्न गाह्रो भयो’, उनी थप्छिन्, ‘मुख्य समस्या घरपरिवारलाई कसरी भन्ने कुरामा दोधारमा थिएँ तर कसैले पनि हतोत्साही बनाएनन्। मैले कहिल्यै पनि असाह्य महसुस गर्न दिइनँ र अहिले आफूजस्तै पीडित महिलाहरुलाई परामर्श दिने गरेको छु।’

रेजिना मुल्मी ४२ वर्षकी भइन्। हेर्दा निकै स्वस्थ्य देखिन्छिन् सायदै कसैले भन्न सक्छ कि उनलाई करिब ८ वर्षअघि स्तन क्यान्सर देखिएको थियो भनेर। पेशाले फेसन डिजाइनर उनी भन्छिन्, ‘सुरुमा थाहा पाउँदा अलि नझस्किएको होइन तर म कत्ति पनि आत्तिइन सायद मेरो आत्मबलले नै मैले क्यान्सरलाई जितेँ।

उनी हाँस्दै भन्छिन्, ‘अरु डर त लागेन कपाल झर्छ कि भनेर डराउँथे, अहिले म निकै सचेत छु र अरुलाई पनि सजग रहन आग्रह गर्छु ।’

 उनीहरु सँग भेट्दा निकै हँसिलो मुद्रामा भेटिए। रेजिना भन्छिन् ‘म कहिल्यै पनि निराश हुँदिनँ, हाँसेर समय बिताउँछु सायद त्यसैले पनि म छिटो निको भएँ। आफूमा आत्मविश्वास भए क्यान्सरलाई पनि जित्न सकिने रहेछ।’ रेजिनाले अहिले ब्रेस्ट इम्पालान्ट गरेकी छिन।

मान्छेहरु आत्तिएर यो रोगको उपचारका लागि बाहिर जाने गरेको प्रसंग उल्लेख गर्दै उनी नेपालमै राम्रो उपचार रहेको भन्दै बाहिर गइरहनु नपर्ने बताउँछिन। ‘मैले नेपालमै उपचार गरेँ, मानिसहरु क्यान्सरको उपचार गर्न बाहिर जान्छन् तर म भन्छु नेपालमै राम्रो उपचार छ।’

प्रमिता भन्छिन्, ‘मानिसमा लाग्ने क्यान्सर त निको हुन्छ तर दिमागमा लागेको क्यान्सर निको हुँदैन।’ क्यान्सरका रोगीहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको उनीहरुको गुनासो छ। यही कुरामा रेजिना थप्छिन् ‘मैले मेरै कानले सुनेँ एउटा साथीले भनेको, रेजिनालाई त क्यान्सर थियो अझै रेजिना मरेको छैनरु हेर्नुस् त मानिसको सोच अझैँ कत्ति साँगुरो छ।’

प्रमिता र रेजिना नेपाल क्यान्सर हस्पिटलले सञ्चालन गरेको कल्याणी बे्रस्टक्यान्सर क्लिनिकमा क्यान्सरका बिरामीहरुलाई परामर्श दिन्छन्। ‘क्यान्सर भन्नेबित्तिकै आत्तिनुहुँदैन’, उनीहरु भन्छन्, ‘आत्मबल चाहिन्छ, निराश हुनुहुँदैन र सकरात्मक सोच्नुपर्छ अनि नियमित चेकअप गराइराख्नुपर्छ, आफै ठीक हुन्छ। ’ नेपालखबरबाट