बैशाख १२, २०८१ बुधबार

घरमै सुत्केरी गराउँदा कालिकोटमा फेरि सुत्केरी र शिशुको मृत्यु



कालिकोट – जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका ९ मुम्रामा सुत्केरी आमा र शिशुको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिकाको रूप्सा घर भएकी १८ वर्षीया जौमा बुढा सहकारीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो ।

सहकारी मुम्रास्थित माइती घर आएको बेला प्रसूति व्यथा लागेर बिहीबार राति माइतीघरमै बच्चा जन्माउने क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले बताए । ‘शिशुको मृत्यु भइसकेपछि अत्याधिक रक्तश्राव भएर शुक्रबार बिहान आमाको पनि मृत्यु भएको हो ।’

उमेर नहुँदै गर्भवती भएकाले ज्यान गएको स्थानीय अर्जुन बुढाले बताए । ‘राति स्वास्थ्य चौकीमा कोही नहुने भएकाले सुडेनीको सहयोगमा घरमै सुत्केरी गराइएको थियो ’ उनले भने,‘घरमा नै उनको मृत्यु भएको हो ।’

कालिकोटमा यस वर्षको बैशाख यता मात्रै ६ जना महिलाको सुत्केरी हुन नसकेर ज्यान गएको छ ।