बैशाख १२, २०८१ बुधबार

ल्याण्डमार्क बलात्कारकाण्डका नार्इके डिएसपीकै साथी



काठमाडौं – कमलादीस्थित ल्याण्डमार्क होटल एण्ड अपार्टमेन्टमा भएको बहुचर्चित सामूहिक बलात्कार घटनाका अभियुक्तहरु महानगरीय प्रहरी वृत्त दरबारमार्गका तत्कालीन इन्चार्ज डिएसपी तिलक भारतीकै साथी भएको खुलेको छ ।

घटनाका मुख्य नाइके विकास गौतम र दीपक श्रेष्ठ डिएसपी भारतीकै पुराना साथी भएको अनुसन्धानमा खुलेको छ ।आफ्नो पुरानो साथी भएकै कारण बलात्कार जस्तो गम्भीर घटनामा मिलापत्र गराउन डिएसपी भारतीले भूमिका निर्वाह गरेका थिए । सोही प्रकरणमा उनीमाथि छानबिन भइरहेको छ ।

समाचारमा लेखिएको छ, गत माघ ७ गते राति चार जना युवकले २० बर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका थिए ।

भोलिपल्ट मिलापत्र
आफ्ना प्रेमी शैलेस कार्कीसँग होटलमा बस्न गएकी ती किशोरीमाथि कार्कीकै सहयोगमा अन्य ३ जनाले बलात्कार गरेका थिए । घटनापछि होटलबाट निस्किएकी युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले चारै जनालाई पक्राउ गरेर एक रात थुनेपछि भोलिपल्ट मिलापत्र गराएर छाडिदिएको थियो ।

निलम्बन
पछि घटना मिडियामा गएपछि छानबिन थालिएको हो । जसक्रममा दरबारमर्ग वृत्तका इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा परिसकेका छन् ।

फेसबुकमा पनि साथी
अभियुक्तहरु गौतम र श्रेष्ठसँग डिएसपी भारती फेसबुकमा पनि साथी छन् । स्रोतका अनुसार डिएसपी भारतीलाई दरबारमार्ग वृत्तमा ल्याउन सहयोग गर्ने डेजाभु डिस्कोका एक सञ्चालकको मध्यस्तामा उक्त बलात्कार मिलापत्र भएको थियो ।

को हुन् अभियुक्त ?
अभियुक्त गौतम राप्रपाका नेता बिक्रम पाण्डे निकट व्यक्ति हुन् भने, श्रेष्ठ सञ्चारमन्त्री मोहन बस्नेतसँग राम्रो सम्बन्ध भएका व्यक्ति हुन् । श्रेष्ठ तरुण दल सिन्धुपाल्चोकमा समेत आवद्ध व्यक्ति हुन् ।

छानबिन समिति
घटनाको छानबिनका लागि समिति गठन भइसकेको छ । सुरुमा युवतीले उजुरी दिन नचाहेकोमा पछि प्रहरी र विभिन्न संघ संस्थाको दबाबपछि उनले उजुरी दिएकी हुन् ।

स्रोतका अनुसार घटनाको बारेमा एसएसपी रबिन्द्र धानुकलाई समेत थाहा थियो । तर उनले पनि मिलापत्रमा सहयोग गरेको स्रोत बताउँछ । सोही कारण उनले हतार हतार एसपीको संयोजकत्वमा छानबिन समिति गठन गरेका हुन् । त्यसलाई काउन्टर दिन एआईजी जयबहादुर चन्दले अर्को समिति बनाएर छानबिन गरिरहेका छन् । दृष्टि साप्ताहिक