बैशाख १२, २०८१ बुधबार

सुशील कोइरालासँग हारेकी दिलकुमारी चौथो धक्कामा विजयी



चितवन – दिलकुमारी रावल थापा (पार्वती) संविधान सभा निर्वाचनमा तीन पटक पराजित भइन्। चितवन–४ बाट संविधान सभाको चुनाव र उपचुनाव लडेकी उनले विपक्षी दलका राष्ट्रिय नेताहरूको सधैं सामना गरिन्।

२०६४ सालमा माओवादीका चित्रबहादुर श्रेष्ठ, २०७० मा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोईराला र २०७१ सालमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसकै रामकृष्ण घिमिरेसँग उनी पराजित भइन्। तीन तीन पटक एउटै क्षेत्रबाट पराजित हुँदा पनि उनको जनमत भने पटक–पटक बढ्दै नै गयो।

बुधबार भएको राष्ट्रिय सभा निर्वाचनमा उनै दिलकुमारी एमालेका तर्फबाट विजयी भएकी छिन्। अब उनले विज्ञहरूको सभा मानिने राष्ट्रिय सभामा आफ्नो क्षमताको उपयोग गर्नेछिन्।

युवा संघ नेपालको पहिलो महिला जिल्ला अध्यक्ष उनी २०५२ सालदेखि राजनीतिमा सक्रिय छिन्। अनेरास्ववियुबाट राजनीति शुरु गरेकी उनले शहीद स्मृति क्याम्पसको प्रारम्भिक कमिटीको अध्यक्ष हुँदै युवा संघको अध्यक्षको जिम्मेवारी पनि सम्हालिन्।

२०५४ सालको स्थानीय निकायको चुनाव गाउँ तथा नगरमा भएका कार्यक्रममा उनको सक्रियता थियो। सक्रियतासँगै उनको राजनीतिक जिम्मेवारी पनि बढ्दै गयो।

२०५५ सालमा चितवनको चैनपुर–९ को वडा कमिटी सचिव, गाउँ कमिटी सचिव, अखिल नेपाल महिला संघको जिल्ला सदस्य, चितवन–२ को अध्यक्षको जिम्मेवारी उनले कुशलताका साथ पूरा गरिन्।

युवा संघको नेपालकै पहिलो महिला जिल्ला अध्यक्ष बनेकी रावलको राजनीतिक यात्रा अनवरत रुपमा यसरी अगाडि बढिरह्यो। विभिन्न भातृ संगठनमा बसेर नेतृत्व लिँदै अगाडि बढिरहँदा उनले आफूलाई राम्रोसँग तिखार्न पाएकी छिन्।