सञ्चार क्षेत्रमा लैगिक समानता र अवसर

गगनशिला खड्का / फाल्गुन १६, २०७४ - बुधबार


२०७२ असोज ३ गते संविधानसभा बाट संविधान बनाउने नेपाली जनताको ६ दशक पुरानो सपना पूरा भएसंगै सबैले पूर्ण अधिकार सम्पन्न भएको महसुस गरे । लामो शसस्त्र युद्ध र जनआन्दोलनको बलले बनेको सोही संविधानले २० वर्षदेखि हुन नसकेको स्थानीय निर्वाचनमा महिला प्रतिनिधीत्वलाई सुनिश्चित गर्दै स्थानीय तह निर्वाचन भयो ।

ति निर्वाचनहरुमा महिलाहरुले मतदाताको मन जितेर जनप्रतिनिधीको भूमिकामा आएका छन् । तर ईतिहासमै पहिलोपटक सिँहदरबारका अधिकार गाउँ गाउँमा पुगेपछि धेरैलाई एउटा विषयको अभाव खड्कियो । त्यो के भने महिला नेतृत्वका खुसी, चुनौती आदिका विषयले सञ्चार माध्यममा पर्याप्त स्थान पाएनन् ।

त्यसपछि प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचन भयो, प्रत्ययक्षमा महिला सहभागिता कम भयो भनेर चौतर्फी आलोचना भयो । तर सञ्चार माध्यममा यो बिषयले खासै स्थान पाउन सकेन । यसको एउटै मात्र कारण हो सञ्चार क्षेत्रमा लैगिक समानता हुन नसक्नु अर्थात महिला सहभागिता कम हुनु । समाचार बनाउने पत्रकारमा पुरुष आधिक्य छ, समाचारको अन्तर्वस्तुमा विचार दिने वा बहसमा भाग लिने वा चर्चा गरिने बहमुत पुरुष छ ।

अहिले पनि बेलाबेलामा विभिन्न क्षेत्र र समुदायको हकहितका लागि काम गरीरहेका महिलाहरुले गुनासो गरिरहेका हुन्छन् । सञ्चार माध्यमले महिलाका बिषयलाई कम प्राथमिकता दियो,यसको कारण मिडियामा महिलाको सहभागिता कम हुनु हो । सञ्चार क्षेत्रमा क्रियाशिल महिला भएपनि निर्णायक तहमा उनीहरु नहुनु पनि यसको अर्को कारण हो । त्यसैले पनि सञ्चार क्षेत्रमा महिलाको सहभागिता बढ्न सक्यो भनेमात्र लैगिक रुपमा समान सहभागिता हुन्छ ।

महिला पत्रकारहरुको संस्था सञ्चारिका समूहले सन् २०१६ मा गरेको अध्ययन अनुसार, पत्रकारितामा अहिले २५.३ प्रतिशत महिला सहभागिता छ । नेपाल पत्रकार महासंघको सदस्यको आधारमा हेर्दा १५ प्रतिशत महिला मिडियामा छन् । नेपाल पत्रकार महासंघमा १३ हजार ४० पुरुष र दुई हजार तीन सय ६० महिला पत्रकार सदस्य छन् ।

यो तथ्याकले पनि बताउछ कि पुरुष पत्रकारको तुलनामा महिलाको सहभागिता ज्यादै न्युन छ । अझ त्यसमा पनि पत्रकार महासंघको सदस्य भएका तर कार्यक्षेत्रमा नरहेका महिलाहरुको संख्या उत्तिकै छ । देशभरीका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघकै नेतृत्वको बिषयमा भन्नुपर्दा पनि अहिलेसम्म पत्रकार महिलाले नेतृत्व लिने अवसर प्राप्त गर्न सकेका छैनन् ।

प्रत्यक्ष निर्वाचन मार्फत पत्रकार महासघको नेतृत्वमा पत्रकार महिलाहरु आउन खोजेपनि विभिन्न बाहनामा पाखा लगाउने प्रवृतिका कारण नेतृत्वमा पुग्न नसकेको कहि कतैबाट लुक्न सकेको छैन । संख्यात्मक हिसाबले पत्रकार महिलाको बृद्धीभएपनि गुणात्मक हिसाबले त्यसो हुन सकेको छैन । पछिल्लो समय बर्षौ सम्म काम गरेका पत्रकार महिलाहरु सञ्चारगृहमा कार्यरत छन् ।

तर उनीहरुलाई विश्वास गरेर जिम्मेवारी दिन मिडिया हाउसहरु हिचकिचाउछन् । संविधानले नै राज्यका हरेक निकाय र तहमा महिलाको सहभागिताको ग्यारेन्टी गरेको समयमा पनि राज्यकै सञ्चार माध्यममा महिलाको सहभागिता सुनिश्चित गरे बमोजिम छैन । सरकारी सञ्चार माध्यममा पत्रकार महिलाहरु अल्पकालिन रुपमा निर्णायक तहमा पुगेपनि दिर्घकालिन रुपमा त्यस्तो जिम्मेवारीमा पुग्न सकिरहेका छैनन् ।

महिला भएकै कारण जिम्मेवारीबाट पन्छाउने काम भइरहेको हुन्छ । लैंगिक संवेदनशील मिडिया बनाउनका लागि मिडिया सम्बन्धित संघसंस्थाहरूमा सदस्य, कर्मचारी वा निर्णय प्रक्रियामा महिला–पुरुष प्रतिनिधित्व, मिडिया संस्थाभित्र महिला र पुरुषलाई समान तथा तिनका विशेष आवश्यकतालाई सम्बोधन गर्ने किसिमको काम गर्ने वातावरण, मिडियासम्बन्धी अध्ययन अध्यापन गराइने संस्थामा महिला र पुरुषको सहभागिता, पाठ्यक्रमहरूमा लैंगिक संवेदनशीलता र मिडियाका अन्तर्वस्तुमा महिला र पुरुषको समान सम्मानपूर्ण चित्रण जस्ता पक्षको सम्बोधन हुनुपर्दछ ।

नीजि रूपमा पत्रकारहरूले मिडिया सामग्री वा अन्तर्वस्तुद्वारा फैलने सन्देशहरूको दृष्टिकोण, पूर्वाग्रह र सामाजिकीकरणका सम्बन्धमा सचेत हुन जरुरी छ । साथै उनीहरूसँग सवालहरू र तथ्यांकहरूलाई लैंगिक दृष्टिकोणबाट विश्लेषण र समाहित गर्ने सीप हुनुपर्दछ । वर्तमान स्थितिमा मिडियाको नीतिनिर्माण प्रक्रिया र जनशक्तिमा महिला–पुरुष अनुपात अत्यन्त असमान र भेदभावपूर्ण छ । विश्वभर सञ्चार गृहहरूको नीतिनिर्माण तहमा महिला अत्यन्त कम संख्यामा छन् ।

नेपाली सञ्चार गृहमा महिलाको सहभागिता सन्तोषजनक रुपमा भएपनि निर्णायक तहमा हुन नसक्नु दुखद पक्ष हो । ब्रोडसिटमा प्रकाशित दैनिक पत्रिका,नेटवर्किङ्ग रेडियो,टेलिभिजनमा पत्रकार महिलाहरु एकाध बाहेक सम्पादक,प्रधानसम्पादक भएर काम गरेको देखिदैन । पत्रकार महिलाहरुलाई अधिकांश महिलाकै बिट हेर्न जिम्मेवारी दिने र उनीहरुले गरेको रिपोटिङ्गमा सम्पादकले चित्त नबुझाउने समस्या पनि पत्रकार महिलाहरुले सुनाउने गर्छन ।

त्यसैले सञ्चार क्षेत्रमा महिलाको संख्या बृद्धी गर्दे गुणात्मक रुपमा पनि उनीहरुलाई प्रशिक्षणका माध्यमबाट अल्बल बनाउन सकियो भने मात्र लैगिक हिसाबले समानता कायम गर्न सकिन्छ । सञ्चार क्षेत्रमा लैगिक समानताको कुरा गरिरहदा अर्को महत्वपुर्ण पक्ष भनेको आर्थिक पक्ष पनि हो । निर्णायक तहमा पत्रकार महिलाहरुको संख्या जति कम छ,त्यत्तिकै रुपमा काम गरे अनुसारको पारिश्रमिक नपाउने समस्या पनि रहेको छ ।

बिषेश गरी भन्नुपर्दा एउटै मिडियामा कार्यरत समान पदमा रहेका पुरुष सहकर्मी र महिला सहकर्मीले पाउने पारिश्रमिक एउटै हुदैन । कुनै न कुनै रुपमा महिलाको तुलनामा पुरुष सहकर्मीले पाउने पारिश्रमिक बढी नै हुन्छ । राज्यले नै समान काम,समान ज्यालाको निति अवलम्वन गरिसकेको अवस्थामा समेत मिडियामा पत्रकार महिलाले समान काम गरेपनि समान ज्याला भने पाउन सकिरहेका छैनन् ।

यसका लागि पत्रकार महिला आफैले पनि पहल गर्नुपर्दछ । सञ्चार गृहले समान काम गरेवापत समान पारिश्रमिक दिदैन भने त्यसका लागि संवाद गर्ने आट सम्म गर्नुपर्दछ । सम्वन्धित सरोकारवाला निकायहरुले पनि महिलालाई उचित पारिश्रमिक दिलाउनको लागि भुमिका निर्वाह गर्न जरुरी देखिन्छ ।
अवसर पनि……

पत्रकारीता क्षेत्रमा महिलाहरुका लागि अवसर पनि छ । अन्य क्षेत्रमा क्रियाशिल महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोण र सञ्चार क्षेत्रमा क्रियाशिल महिलाहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको छ । आफ्नै क्षमता र संघर्षले सञ्चार क्षेत्रमा क्रियाशिल महिलाहरुलाई बाहिरी समाजले बौद्धिक,निडर र आत्मनिर्भर महिलाको रुपमा हेर्ने गरेको महसुस हुन्छ ।

यो क्षेत्रमा क्रियाशिल महिलाहरु आफ्नो पहिचानमा बाच्न सफल भएका हुन्छन् । अझ पछिल्लो समयमा त झन् समाजमा बेग्लै पहिचान बनाएर स्थापित भइसकेका सञ्चार गृहले पत्रकार महिलाहरुलाई नै विषेश प्राथमिकता दिने गरेका छन् । त्यसकारण पनि चुनौती मात्र होइन सञ्चार क्षेत्रमा महिलाहरुका लागि अवसर पनि छ ।

सञ्चार क्षेत्रमा क्रियाशिल महिलाहरुले सामाजिक रुपमा एउटा नेतृत्वदायी भुमिका निर्वाह गर्ने अवसर त पाउँछन नै त्यसमा पनि आफ्नै क्षेत्र भित्र पनि महिलाहरु नेतृत्वदायी भुमिकामा पुग्ने वातावरण विस्तारै बनिरहेको छ । नेपाल पत्रकार महासंघले विधानमै प्रत्येक जिल्ला शाखाहरुमा एक जना महिला उपाध्यक्षको अनिवार्य व्यवस्था गरेसंगै पत्रकार महिलाहरुको नेतृत्वदायी भुमिका बढेको छ ।

त्यो संगै सामान्य कार्यसमिति सदस्य वा कोषाध्यक्षमा मात्रै सिमित भएका पत्रकार महिलाहरुले कार्यक्षमता प्रस्तुत गरेर जिल्लाको पत्रकार महासंघ हाक्ने बाटो खुृलीसकेको छ । प्राप्त जिम्मेवारीलाई अवसरको रुपमा सदुपयोग गरी आगामी दिनमा आफुलाई अब्बल सावित गराउने मौका पनि हो यो । सञ्चार क्षेत्रमा संलग्न महिलाहरुले समाजका सबैपक्षसंग भेटघाट,अन्र्तक्रिया गर्ने मौका पाउँदछन ।

जुन अवसर अन्य क्षेत्रमा आवद्ध महिलाहरुलाई कम प्राप्त हुन्छ । आफुलाई पत्रकारीता र सञ्चार क्षेत्रमा परिपक्क बनाउदै लैजाने हो भने समाजका अरु जिम्मेवारीमा पनि यो क्षेत्रमा भएका महिलाहरुले अवसर पाइरहेका छन् । भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि सञ्चार क्षेत्रमा आवद्ध महिलाहरुले उपमेयर,उपाध्यक्षको रुपमा टिकट प्राप्त गरे ।

कतिपय विगतमा पत्रकारीता क्षेत्रमै क्रियाशिल महिलाहरु अहिले स्थानिय तहको नयाँ भुमिकामा छन् । त्यस कारण पनि सञ्चार क्षेत्रमा महिलाहरुका लागि अवसर प्रशस्त मात्रामा छन् । महिलाहरुले मात्र सञ्चालन गरेका सञ्चार माध्यममा सम्पादक,रेडियोहरुका स्टेशन म्यानेजरका रुपमा अहिले नै महिलाको सहभागिता बढ्दो मात्रमा छ । यी सबै अवसरलाई भरपुर मात्रमा सदुपयोग गरी आगामी दिनमा अझ शसक्त रुपमा अगाडी बढ्ने कडीका रुपमा विकास गर्नु नै अहिलेको आवश्यक्ता हो ।


प्रतिक्रिया दिनुहोस


सब्य र भब्य तरिका ले आफ्नो धारणा राख्नुहोस।

error: Content is protected !!