चैत्र १५, २०८० बिहीबार

गुल्मीको छत्रकोट गाउँपालिका यसैवर्ष ‘शून्यहोम डेलिभरी’ घोषणा



गुल्मी- अशिक्षा, गरिवीका कारण छत्रकोट गाउँपालिका अन्तर्गतका धेरै आमाहरुले घरमै सन्तान जन्माए । दलित र जनजातीहरुको बाहुल्यता रहेको उक्त गाउँपालिकाका केही गाउँहरुमा अझैपनि महिलाहरु घरमै सुत्केरी हुने गरेका छन्

। दुर्गमका गाउँहरुका गर्भवतीहरु आमाहरुले नियमित रुपमा आफ्नो जाँचसमेत गराउदैनन् । पछिल्ला केहीवर्षदेखि अस्पतालमा गएर गर्भजाँच गराउने र सुत्केरी हुने क्रम विस्तारै बृद्धिहुँदै गएपनि अपेक्षाकृत नजिता भने हासिल हुन सकेको छैन् । अघिल्लो आर्थिक वर्षमा साविकका पल्लीकोटका तीन वडामा संस्थागत सुत्केरी अभियान थालियो ।

अभियानपछि ६ प्रतिशतमात्र संस्थागत सुत्केरीलाई ९४ प्रतिशतमा पु¥याइएको छ । साविकका तीन वडामा अभियान पूर्णरुपमा सफल भएपछि गाउँपालिकाले चालु आर्थिक वर्षमा यस अभियानलाई सवै वडामा संचालन गर्ने अभियान थालेको छ । ‘अझैपनि गाउँका महिलाहरु अस्पतालसम्म पुगेर सुत्केरी नहुने चलन कायमै देखियो’,गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले भने,‘यसवर्ष ६ वटै वडामा अभियानकै रुपमा कार्यक्रम संचालन गरिरहेका छौँ ।’

घरमा सुत्केरी हुँदा आमा र बच्चाको अवस्था जोखिममा पर्ने भएकाले अभियानलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको उनले जानकारी गराए । अभियान अन्तर्गत गर्भवती महिलाहरुको प्रत्येक घरको धुरीमा निलो झण्डाभित्र सेतो किनारामा गर्भवती महिलाको सकेत देखिएको झण्डा राखिएको उनले बताए ।

‘निलो झण्डा राखेपछि गर्भवती महिलाको घर चिन्न सजिलो हुनेछ’,पन्तले भने,‘गाउँका सवैले उनीहरुलाई सहानुभूति दिनेछन् ।’ गर्भवती महिलाहरु पानी लिनजाँदा पँधेरामा छिटो पालो दिने, सवैले पौष्टिक आहारको व्यवस्था गर्नेजस्ता परिवर्तनहरु अभियान पश्चात हुने उनले अपेक्षा राखे ।

गर्भवती महिलाहरुको घरको धुरीमा निलो झण्डासँगै पौष्टिक ‘प्याकेज’को कार्यक्रमलाई समेत सँगै लैजाने योजना बनाएको प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थीले जानकारी गराए । ‘गर्भवती भएकोबेला पौष्टिक आहारको विशेष ख्याल गर्नुपर्ने हुन्छ’,उनले भने,‘हरेक बार, खाना चारको रुपमा पौष्टिक प्याकेज वितरण गरेका छौँ ।’ शक्ति दिने, वृद्धि विकास गर्ने, सुरक्षा र पशुजन्य पौष्टिक आहार गर्भवती महिलाहरुलाई उपलव्ध गराउने समेत उनले बताए ।

सवैलाई झोलामा राखेर कोदो, गेडागुडी, अण्डा, फलफूल लगाएत सामग्री शुरुको चरणमा प्रदान गरिने उनको भनाई छ । ‘किशोरीदेखि जेष्ठ नागरीकलाई समेटर अभियान थालेका छौँ’,पन्थीले भने,‘मानिसको जीवनचक्रसँग अभियानले सार्थकता पाउने छ ।’

किशोरीलाई लक्षितगरी विद्यालय विद्यालयमा सुरक्षित महिनावारी अभिमुखीकरण, गर्र्भवती महिलाका लागि पौष्टिक आहार सहित घरको धुरीमा निलो झण्डा र जेष्ठ नागरीकलाई सम्मान कार्यक्रमको अभियान थालिएको उनले बताए ।

व्यक्तिको जीवनशैलीसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले एकिकृत अभियानकै रुपमा कार्यक्रम थालिएको गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारी बताउछिन् । ‘गर्भवती महिलालाई समाजमा कतिपयले हेपाहको नजरले हेर्ने गरेको देखिन्छ’,उनी भन्छिन्,‘यस्तो बेलामा परिवारले ख्याल गर्नुपर्छ ।

कतिपयय त आफ्नै पतिबाटै पनि हेपिएका छन् ।’ गर्भवती महिलाको घरमा सुरक्षित सुत्केरी सामग्रीको पूर्वतयारीको बारेमा समेत उनले स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिन् । जंगलमा हिड्दाहिड्दै, घरमा बस्दाबस्दै पनि कतिपय महिलाहरु सुत्केरी हुनेगरेको समेत उनले सुनाइन ।

९० दिन पुरा भएका गर्भवती महिलाहरुको घरमा निलो झण्डा राखेर उनीहरुलाई विशेष हेरचाहको व्यवस्था मिलाइने समेत भण्डारीले जानकारी गराइन । गर्भवती भएको बेला कम्तीमा पनि चारपटक नियमित गर्भजाँच गराउनुपर्ने चिकित्कहरुले बताएका छन् । स्थानीय तहमा पाइने पोषणयूक्त खाद्य परिकारलाई विशेष प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ ।

‘वडास्तरमा पुगेर गर्भवतीहरुसँग अन्तरक्रिया हुनेछ’,गाउँपालिकाका स्वास्थ्य संयोजक पूण्यप्रसाद पौडेलले भने,‘गर्भवती महिलाहरुले आफ्ना पीडा, मर्काहरु खुलेरै राख्नेछन् । त्यसपछि थप कार्यक्रमहरु अघि बढ्ने छन् ।’ पोषणयूक्त प्याकेजले कुपोषणबाट बच्नका लागि धेरै मद्दत पुग्ने समेत उनले विश्वास व्यक्त गरे ।

गर्भावस्थामा रहेकी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थीको जीवनसंगीनी सृजना खनालको निवासमा निलो झण्डा र पोषणयूक्त प्याकेज वितरण गरेर अभियानको थालनी गरिएको सिनियर अहेव श्यामसुन्दर पोख्रेलले जानकारी गराए । गाउँपालिकाभरी झण्डै एकसय ८० जना गर्भवती महिलाहरु रहेको उनले बताए ।

गाउँपालिकामा नियमित गर्भजाच ७२ प्रतिशत र संस्थागत सुत्केरी ४६ प्रतिशत रहेको पालिकाले जनाएको छ । जिल्लाका दुर्गम क्षेत्रमा पर्ने अधिकांश गाउँका महिलाहरु घरमै सुत्केरी हुने क्रम हालसम्म कायमै छ । यसअघि जिल्ला जनस्वास्थ्य कार्यालयले समेत संस्थागत सुत्केरी अभियानको थालनी गरिरहेको थियो ।

तर, उक्त अभियान प्रभावकारी रुपमा संचालन नभएको पाइएको छ । स्थानीय जनप्रतिनिधीहरुले संस्थागत सुत्केरी र पोषणयूक्त प्याकेजलाई प्रभावकारी रुपमा अघि बढाउनसके सभ्य समाजको विकास निर्माण गर्न सकिने नागरीक समाजका अगुवाहरु बताउँछन् ।

पोषणयूक्त खानासहित निलो झण्डा, सुरक्षित महिनावारी अभियान र जेष्ठ नागरीक सम्मान कार्यक्रमका लागि चालु आवमा आठ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।