चैत्र ३०, २०८० शुक्रबार

‘अरूले आफूलाई सहज बनाउँदैनन्,आफूले आफैंलाई सहज बनाउनुपर्छ’



काठमाडौँ -२०५१ मा एकमात्र महिला शाखा अधिकृतमा नाम निकालेकी यमकुमारी खतिवडा हाल नेपाल सरकारकी सचिव हुन् । संसद् सेवाबाट सरकारी जागिरमा प्रवेश गरेकी खतिवडा गत जेठबाट सचिव भएकी हुन् ।

ओखलढुंगाबाट माध्यमिक शिक्षाको अध्ययन गरेकी उनले नेपालका दुई र एक अन्तर्राष्ट्रिय विषयमा स्नातकोत्तर गरेकी छन् ।

हाम्रो समाजमा महिलाहरूलाई अगाडि बढ्न गाह्रो छ भन्छन् । तपाईंको अनुभव कस्तो छ ? 

मलाई त भौगोलिक हिसाबले पनि गाह्रो थियो । ओखलढुंगा हर्कपुर–५ मा जन्मेकी हुँ । गाउँमा माध्यमिक विद्यालय थिएन । ५ कक्षासम्म घर नजिकैको विद्यालय पढेँ । अर्को विद्यालय दुई घण्टा टाढा थियो । गाउँमा धेरै केटीहरू थिए । उनीहरू दुई घण्टा टाढाको बाटो पढ्न जाँदैन थिए । मेरो काकाका दुई छोरी र मसहित तीन जना दुई घण्टा टाढा दूरीको वरुणेश्वर मावि रामपुर गएर पढ्न थाल्याँ ।

काकाले ९ कक्षामा पढ्दै गरेका छोरीहरूको विवाह गरिदिनुभयो । दुई घण्टाको बाटो भएकोले म एक्लै विद्यालय जान सक्ने अवस्था भएन । केटाहरू मात्रै थिए । टाढा भएकाले पढाइ छोड्ने कि भन्ने कुरा चल्यो । तर आमाले डेरा बसेरै पढ भन्नुभयो । त्यो मेरो जीवनका लागि निकै महत्त्वपूर्ण निर्णय थियो ।

२०४४ मा एसएलसी गरेँ । गाउँमा छोरी मान्छेका लागि पढाइ दोस्रो प्राथमिकतामा पथ्र्यो । मैले पनि काम गरेरै पढेकी हुँ । आईए पढ्नचाहिँ म धनकुटा गएँ । त्यहाँ भिनाजु जागिरे हुनुहुन्थ्यो । दिदीभिनाजुकोमा बसेर पढ्न थालेँ । तर, त्यहाँ मन बसेन । दाइ काठमाडौंमा आईएल पढ्दै हुनुहुन्थ्यो । म पनि काठमाडौं आएँ । बुबा नन्दराज खतिवडा, जिल्ला प्रशासन कार्यालयको सरकारी जागिरे हुनुहुन्थ्यो ।

बुबाका कारण पनि जागिर खानुपर्छ भन्ने सानैदेखि लाग्थ्यो । आईए पढ्दापढ्दै जागिर खान थालेँ । सुरुमा ल्यांग्वेज सेन्टरमा अंग्रेजी भाषा पढाउन थालेकी हुँ । त्यहीबीच लोक सेवा आयोग दिएर सरकारको सबैभन्दा सानो पदमा काम पनि गरेँ । योग्यता एसएलसी मात्रै थियो । पैसा पनि कम हुने भएकाले फेरि त्यो जागिबाट राजीनामा दिएर ल्यांग्वेज सेन्टरमै पढाउन थालेँ ।

बीए उत्तीर्ण गरेपछि चाहिँ सरकारी अधिकृत हुन मन लाग्यो । दाइ २०४९ सालमै कानुन अधिकृत हुनुभयो । आरक्षण कोटा थिएन । तैपनि पहिलो पटकको परीक्षामै २०५१ मा अधिकृतमा नाम निकालँे । नाम निकाल्ने २७ जनामा म मात्रै महिला थिएँ । अधिकृतमा नाम निकाल्नुअगाडि नै विवाहको चर्चा चल्न सुरु भएको थियो । नाम निस्केपछि विवाह गरेँ ।

शाखा अधिकृतको जागिर सुरु भएलगत्तै विवाह, अर्को तहको पढाइ, भविष्यमा माथिल्लो पदमा जाने महत्त्वाकांक्षालाई कसरी व्यवस्थापन गर्नुभयो ? 

विवाह गरेपछि झन् समस्याहरू सुरु भए । अर्थशास्त्रमा एमए भर्ना भएकी थिएँ । २०५३ मा पहिलो सन्तान भयो छोरी, त्यसको दुई वर्षमा छोरा । त्यहीबीच एमए गरेँं । जागिर प्रशासनतर्फ भएकाले जनप्रशासन स्नाकोत्तर तह एमपीए पनि पढ्नै पर्ने भयो । एमपीए पनि सुरु गरे । दुई बच्चा स्याहार्दै त्यो पनि पूरा गरेँ । पुरुषहरूको बीचमा प्रतिस्पर्धा गर्नुपर्ने थियो ।

अन्तर्राष्ट्रिय मामिलामा कमजोर छु कि भन्ने लाग्यो । बाहिरको एउटा डिग्री लिने सोच पनि बनाएँ । साउथ कोरियाबाट ‘पब्लिक पोलिसी एन्ड म्यानेजमेन्ट’ मा डिग्री गरेँ । यहाँबाट ८ जना पुरुषले प्रतिस्पर्धा गर्नुभएको थियो । म छानिएँ । त्यतिबेला उपसचिव भइसकेकी थिएँ ।

सहसचिव हुँदा समावेशी प्रणाली आइसकेको थियो । समावेशीबाटै सहसचिव भएकी हुँ । २०७३ माघमा कायम मुकायम सचिव भएँ । सचिवमा समावेशी व्यवस्था छैन । नम्बरका आधारमा लाइनमै बसेर सचिव भएकी हुँ ।

यी सबै अनुभवका आधारमा आम महिलालाई के भन्नुहुन्छ  ? 

सबैभन्दा ठूलो कुरा इच्छाशक्ति र संघर्ष रहेछ । अरूले आफूलाई सहज बनाउँदैनन्, आफूले आफैंलाई सहज बनाउनुपर्छ । तपाईंलाई धेरै प्रोत्साहन गर्ने मान्छे नहुन सक्छन् । त्यस्तो बेला आफ्ना लागि आफैंले पहल थाल्नुपर्छ । आफ्नो खुट्टामा आफैं उभिनुको महत्त्व यो संसारमा छुट्टै छ ।

परिवारको सहयोग पनि महत्त्वपूर्ण हुन्छ । पुरुषहरू बाहिर निस्कन वा सफल हुन कहिलेकाहीँ परिवारको महत्त्व नहुन पनि सक्छ । तर महिलाका लागि यसले निकै महत्त्व राख्छ । एउटा महिला महत्त्वपूर्ण पदमा पुगेर पनि उसले परिवारमा सन्तुलन कायम गर्नुपर्ने हुन्छ ।

त्यसैले महिला आफैँले आफूलाई पनि परिवर्तन गर्न सक्नुपर्छ । कतिपय महिला पुरुषमा निर्भर हुन रुचाउँछन् । तर आफैं सक्षम छौँ भनेर एउटा उद्देश्य बोकेर हिँड्न तयार हुनुपर्छ । तर पुरुषका तुलनामा महिलालाई केही गर्नलाई निकै कठिनाइ छन् ।

कस्ता–कस्ता कठिनाइहरू छन्  ? 

गाउँमा केटीहरूका लागि पढ्न भौगोलिक रूपमै समस्या छ । नजिक विद्यालयहरू छैनन् । टाढा जान समस्या छ । केटाहरूलाई त्यस्तो हुँदैन । विवाहपछिका समस्याहरू पनि छन् । सपोर्ट चाहिन्छ । जस्तो मेरै सन्दर्भमा मलाई डेरा गरेर पढाउनुको सट्टा आमाले मलाई बिहे गर भन्न पनि सक्नुहुन्थ्यो नि ।

अरूको त्यस्तै भयो पनि । म बिहे गर्नतिर लागेको भए बर्बाद हुन्थें । बिहे गरिसकेपछि श्रीमान्ले सहयोग नगर्नुभएको भए पनि यहाँसम्म आइपुग्ने थिइनँ ।कतिपय कुरा घरपरिवारले मान्लान् तर समाजले मान्दैन । मानाँै छोरीछोरी भयो, छोरा भएन । छिमेकीलाई टाउको दुख्छ । उसको टाउको दुखाइको सिटामोल अर्को बच्चा जन्माउनुपर्छ । यी सबै भूमिका निर्वाह गरे पनि आफ्नो पेसामा आएर फेरिप्रतिस्पर्धा गर्नैपर्छ महिलाले ।

पुरुष र महिलाको प्राकृतिक भूमिकामै धेरै फरक छ । महिलाको प्राकृतिकको भूमिका जटिल छ । बच्चा जन्माउने कुरा आउँछ । प्राकृतिक भूमिका, सामाजिक भूमिका, परिवारिक जिम्मेवारी, परम्परा र पेसामा पुरुषसँगै प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यी सबै कठिनाइ हुन् । प्रशासन क्षेत्रमा पनि समस्या छन् ।

प्रशासन क्षेत्रमा महिला र पुरुषबीच कस्ता समस्या छन्  ? 

मानौँ, तपाईं र म एउटै पदमा छौँ । कुनै जिम्मेवारी दिनुपर्‍यो भने, महिलालाई देख्नेबित्तिकै ‘यसले गर्न सक्छ त रु’ भन्ने शंका गरिन्छ । तपाईंले जत्तिकै मैले पनि काम गर्न सक्छु भन्ने विश्वास गरिँदैन । पुरुषभन्दा महिला बढी क्षमतावान् पनि त हुन सक्छे नि रु यो समग्र समाजको मनोविज्ञान हो । यसमा परिवर्तन हुनुपर्छ ।

पुरुषले परिवारलाई ध्यान नदिए पनि हुन्छ । तर, महिला जति माथि गयोपरिवारमाथिको संवेदनशीलता झन् धेरै बढ्छ । हाम्रो समाजमा महिलाभन्दा पुरुष पदमा तल छ भने पनि अपमान महसुस गर्छ । श्रीमतीको स्टाटसमाथि श्रीमान्को तल भयो भने समाजमा कुरा काटिन्छ । तर पुरुष सक्षम हुँदै गयो र पदमा माथि भयो भने उसले त्यस्तो कुनै समस्या खेप्नु पर्दैन । तर, महिलाको भने परिवार बिग्रिन सक्छ । समाजमा धेरै देखेको छु ।

नेपालमा महिला तथा घरेलु हिंसालाई कसरी विश्लेषण गर्नुभएको छ  ? 
नेपालमा पनि महिला धेरै माथि आइसकेका छन् । तर महिला हिंसा र घरेलु हिंसा भने चिन्ताकै विषय छ । हिंसा संसारमै छ । तर, नेपालमा भने फरक प्रकृतिको छ । मुख्य गरी आर्थिक कारण, छोरा नभएको, बोक्सीलगायत कारणले हिंसा हुने गरेको छ । यो पढेलेखेका बीचमा समेत हुने गरेको छ । छोरा भएन भनेर पढेलेखेकाले समेत श्रीमतीलाई टर्चर दिने गरेका छन् ।

जब कि त्यो पुरुषलाई कसको कारणले छोरा भएन भन्ने वैज्ञानिक कारणसमेत थाहा हुन्छ । कतिपयले नबुझेर गरेका छन् । तर बुझीबुझी गर्ने पनि छन् । तर, निराश हुनुपर्ने ठाउँ छैन । परिवर्तन हुँदै छ ।

तपाईंको सन्दर्भमा पनि यस्तो भएको छ ? 

म भाग्यमानी हुँ । र, मैले धेरै ‘कम्प्रोमाइज’ पनि गरेकी छु । मेरो श्रीमान् ९धर्मकान्त बाँस्कोटा० शिक्षण अस्पतालको नाक–कान–घाँटीको डाक्टर हुनुहुन्छ । मेरो लागि धेरै सझदार । मैले अमेरिका सरकारको छात्रवृत्ति ‘हम्फ्रे’ समेत त्यागेकी छु । छोरीको एसएलसी दिने बेला थियो । छनोट भए पनि अन्तिम चरणको प्रतिस्पर्धामा सहभागी भइनँ ।

छोरीको एसएलसी भएकाले नजाने निर्णय गरे । मेरा कारणले उसको परीक्षा बिग्रियो भने म जति नै ठूलो भए पनि केही हुँदैन भन्नेजस्तो लाग्यो । मैले धेरै अवसर पनि पाएकी छु । परिवारकै कारणले ती अवसर पाएकी हुँ ।

महिलाका समस्या सामधान गर्न राज्यले के गर्नुपर्छ ? 

राज्यले नीतिगत रूपमा व्यवस्थापन गर्नुपर्छ । कार्यान्वयन पनि प्रभावकारी गर्नुपर्छ । शिक्षा र स्वास्थ्यमा महिलाका लागि लगानी बढाउनुपर्छ । महिलालाई जागिरभन्दा पनि उद्यमशीलतामै सहभागी गराउनुपर्छ । क्षमता विकास गर्नुपर्छ । आरक्षणले कतिपय अवस्थामा महिलालाई थप कमजोर बनाएको छ । धेरैपटक एउटै व्यक्तिले सुविधा लिन सक्ने व्यवस्था छ ।

आरक्षण भनेको एउटा पदमा प्रवेश गर्नका लागि दिने हो । हरेक बिन्दुमा दिने हैन ।

नीतिगत तहको एउटा क्षेत्रमा तपाईं पनि हुनुहुन्छ । महिलाहरूकै लागि तपार्इंले अहिलेसम्म के गर्नुभयो र के गर्दै हुनुहुन्छ  ? 

ठूला उद्योगमा महिलाको संलग्नता त्यति छैन । साना, लघु, घरेलु उद्योगमा मात्रै महिला संलग्नता बढी छ । यस्ता कार्यक्रममा ७० प्रतिशत महिला हुनुपर्छ भन्ने नीति बनाएका छौँ । महिला उद्यमशीलता कोषको पनि व्यवस्था छ । ४६ जिल्लामा यो कोष कार्यान्वयनमा आइसकेको छ । यो कोषबाट महिलाहरूले एक लाखदेखि ५ लाख रुपैयाँसम्म ऋण ६ प्रतिशत ब्याजमा पाउनुहुन्छ ।

समयमै ऋण बुझाउनुभयो भने एक प्रतिशत थप छुट हुन्छ ।महिलाहरूले उत्पादन गरी निर्यात गर्ने उद्यमका लागि पनि ऋण दिने व्यवस्था औद्योगिक व्यवसाय ऐनमा गरिएको छ । विशेष आर्थिक क्षेत्र सेजमा महिलाहरूको उद्योग विशेष प्राथमिकतामा राख्ने व्यवस्था छ । उद्योग दर्तामा महिलाहरूका लागि ३५ प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ । साभार:कान्तिपुरबाट