चैत्र १५, २०८० बिहीबार

आमा हुनुको दुःख



अहिले १ कक्षामा भर्ना गर्नुपर्ने बेला भएका छोराछोरीका अभिभावकलाई स्कुल खोज्ने जुन हुटहुटी छ, त्यो स्वाभाविक रूपमा ममा पनि छ । यही हुटहुटीले पोलेपछि म काठमाडौं उपत्यकाका केही स्कुलहरूमा पुगेँ । यसअघि विभिन्न कारणले मेरो मनमा निजी स्कुलबारे फरक धारणा बनेको थियो । ती धारणा ‘भेरिफाई’ गर्न यसपटक मात्रै साइत जु¥यो । सोधपुछ कक्षमा बसेकाहरूलाई छोरीको नाम टिपाएँ । त्यसपछि सबैले एकैखाले प्रश्न गरे, “बुवाको नाम के हो ? ”

जहाँ–जहाँ मलाई यो प्रश्न गरियो, सबै ठाउँमा मैले शुरुमै प्रतिप्रश्न गरें, “किन ? ”

उनीहरू सबैजसोले ओठेजवाफ फर्काउँथे, “फर्दर इन्फर्मेसेन र फीको डिटेलबारे कुरा गर्न ।”

मैले फेरि प्रतिप्रश्न गर्थें, “यो सबैको जिम्मेवारीमा आमामात्रै भएका बच्चाको पनि बा खोज्नुहुन्छ ? ”

उनीहरू फेरि उस्तै जवाफ फर्काउँथे, “हजुर, त्यो त अनिवार्य छ ।”

जवाफ सुनेर म अत्तालिएँ ।

तीमध्ये एउटा स्कुलले थप छलफल र जानकारीका लागि भन्दै छोरीको बुवाको नाम र सम्पर्क नम्बर माग्यो । मैले भनें, “अभिभावक र आमा खोज्नुहुन्छ भने ममात्रै हुँ । बासँग त छोरी छैने ।”

म पुगेका चारमा चारै स्कुलका रिसेप्सनिस्टहरूको सौहार्दपूर्ण जवाफ थियो, “बुवा–आमाको डिटेल त चाहिन्छ म्याम ।”

उनीहरूले भन्न खोजेको ‘डिटेल’मा बुवा–आमाको कमाइ, फोटो, पेशालगायत थिए ।

मैले भनें, “बुवाको नामबाहेक अरु दिन सक्दिनँ । यस्तोमा भर्ना लिनुहुन्छ भने इन्ट्रान्सको लागि फर्म दिनुस् ।”

मेरो शर्तमा मञ्जुर भएर एउटामात्रै स्कुलले फर्म दियो, म बोकेर घर आएँ । आफ्नै काखमा मात्रै हुर्केकी छोरीलाई आफ्नै नाम दिऊँ भन्ने सम्भवतः मेरो ‘अतिरञ्जित’ स्वार्थ थियो, अहिले पनि छ ।

स्कुलको जवाफबाट रन्थिनिएपछि मैले फेसबुकमा स्टाटस लेखें, “छोरी पाँच वर्ष भई, उसको बा जन्माउन सहभागी भएको आधारमा० सहित परिवारले हेर्न छोडेको तीन वर्ष भयो । छोरी र मैले अधिकारको दाबी गर्दै हालेको मुद्दा जिल्ला अदालत नेपालगन्जमा डेढ वर्षदेखि अलपत्र छ । अलपत्र छ भनेको मुद्दा फैसला भइसकेछ, मलाई थाहा थिएन ।

जिन्दगी मेरै हैसियतअनुसार चलेकै छ, सम्भवतः चल्छ । छोरीको १ कक्षा भर्नाका लागि धेरै स्कुल बुझें, बाको नाम, पेशा र कमाइ भर्नाका अनिवार्य शर्त रहेछन् । बाको फोटो टाँस्नैपर्ने रहेछ । जसले पाउनैपर्ने माया त पाउन सकिन, उसलाई हरठाउँमा बाको नामले यातना दिनु जायज हो र रु सम्पूर्ण जिम्मेवारीमा आमामात्रै हुन हुने तर सम्पूर्ण कागजातमा आमामात्रै हुन नहुने किन होला ?”

यति लेखिसकेपछि म फेरि स्कुल बुझ्नतिर लागेँ । एकाध घण्टापछि म फेसबुकमा फर्किएँ । पीडानुभूति गर्नेले पीडा साटे, कतिपयको स्वाभाविक आक्रोश थियो, कतिपय अबको उपायसहित सम्पर्कमा आए । तर, ट्वीटरतिर अचम्म भइसकेछ । मेरो स्टाटस मेरो अनुमतिबिना स्क्रिनसट लिएर सरकार र अधिकारकर्मीलाई मेन्सन गर्दै बहस गर्न भ्याइसकेछन् महिला अधिकारकर्मीहरूले ।

त्यसरी बहस गर्नेमध्ये केही अधिकारकर्मी तिनै थिए, जसलाई यस्तै सिलसिलामा केही महिनाअघि भेट्न खोज्दा भेटै दिएका थिएनन् । त्यहाँ मेरै विषयमा बहस भइरहेको थियो, मेरै मुद्दा उठाइएको थियो । इस्यु तन्किएर संसार पुगिसकेछ, म भने मूकदर्शक भएर हेरिरहनुबाहेक अर्थोक केही गर्न सकिनँ ।

महिला समानता, नारी अस्तित्व, महिलाका शत्रु पुरुष भन्नेजस्ता कुरा मेरा लागि वाहियात हुन् । तर, ट्वीटरको बहस त त्यतैतिर केन्द्रित रहेछ । मेरो स्वाभाविक प्रश्नलाई अतिरञ्जित गरेर बहस चर्काउनेहरूले एकपटक पनि मलाई सम्पर्क गरी खास कुरो के हो भनेर सोध्न चाहेनन् ।

मेरो प्रश्न नीतिगत थियो, जसलाई सच्याउन राज्यले केही वर्ष खर्चिनुपर्छ होला । कार्यान्वयन गर्न सम्बन्धित निकायहरूले अझै केही वर्ष खर्चिनुपर्छ होला । अनुभूति गर्न आमनागरिकले अझै धेरै वर्ष पर्खिनुपर्छ होला । तर, अधिकारकर्मीहरूलाई आक्षेप लगाउन सधैं हतार हुन्छ । मेरै सन्दर्भमा रातारात दुईथरी ‘अतिवाद’ जन्मिएछन् । यी दुबै म र मेरोजस्तै अनुभव भएकाका लागि सर्वाधिक घातक हो ।

पीडक नम्बर १

धेरै महिला र केही पुरुष ती सबै मसित एकपटक पनि कुरा नगरी मेरा विषयमा आरोप–प्रत्यारोपमा उत्रिए । मेरो प्रश्न एकातिर हुँदाहुँदै मलाई जबर्जस्ती पीडित बनाएर प्रस्तुत गरियो । मेरो स्वाभाविक पीडालाई अस्वाभाविक लेप लगाइयो । म स्वयंलाई पीडित शब्दसित यति धेरै घृणा छ कि म यो शब्द प्रयोगै गर्दिनँ ।

मजत्तिको सक्षम महिलालाई पीडितको लेप लगाएर उनीहरूले के जिते रु साँचो अर्थले ती सबैलाई म अन्यायमा परेको हुँ भन्ने लागेकै हो भने मसित कुरा गरेर खास कुरो किन बुझेनन् ? मसित बसेर समस्या समाधानको उपाय किन खोजेनन् ?  साँच्चिकै आफूहरूलाई न्यायकर्ता भन्ठान्नेले सामाजिक सञ्जालमा अरुको पीडामाथि धावा बोलेको कति उचित हो रु तर, लाजमर्दो यो छ कि, उनीहरूलाई म नेपालगन्ज बस्छु या काठमाडौं भन्नेसम्म पनि थाहा छैन ।

र, सामाजिक सञ्जालमा उग्र बहस चलाएर थाकेका उनीहरू सम्भवतः आजसम्म निदाइरहेका होलान् । नत्र ‘तिम्रो सवालमा कसरी अघि बढिरहेकी छ्यौ रु’ भनेर सोध्न आउँथे होला ।

पीडक नम्बर २

धेरै पुरुष केही महिला । मलाई लाग्छ, मान्छे मुटुले चलेको हुन्छ । मलाई यो पनि लाग्छ—अरुको स्वाभाविक पीडामा अस्वाभाविक आरोप लगाउने मान्छेको मुटुमा पत्थरी हुन्छ । यो विज्ञानले होइन, मेरो मनोविज्ञानले पुष्टि गरेको कुरा हो । र, यी अतिवादीहरु सबैको छातीभित्र मुटु होइन, ढुंगा धड्किरहेको छ । नत्र एकजना आमाको पीडा केबल पीडा हुन्छ, अतिरञ्जना हुँदैन ।

यस्तैमा आउनुभो एकजना नाम चलेका डक्टर । उहाँले ब्लग लेख्नुभो । थुप्रै विषयमा असन्तुष्टि पोख्दै ‘आफूले भोगेको अप्ठ्यारो’ लेख्नुभो । ‘आफूले भोगेको अप्ठ्यारो’ आफूलाई मात्रै थाहा हुन्छ, अरुले त्यो तहको ‘अप्ठ्यारो’ बुझ्नै सक्दैन । म उहाँको अप्ठ्यारो बुझ्न सक्दिनँ, उहाँ मेरो सक्नुहुन्न । उहाँले कति सजिलै मेरो अप्ठ्यारोलाई आलोचना गरिदिनुभो । ‘आमाको मुटु’ हुन्छ डक्टरज्यू १

उहाँको समर्थनमा अनेक अनुयायीहरू उत्रिए । व्यवहारमा जस्तै कागजमा पनि आफ्नो मात्रै नाम देख्न पाउँछु होला कि पाउँदिन होला भन्ने मेरो सामान्य प्रश्नमाथि धावा बोल्दै उनीहरूले अनेक टिप्पणी गरे । ‘पीडक नम्बर १’मा पर्नेहरूलाई गजबको जवाफ फर्काएँ भन्ठाने ।

तर, मेरो सन्दर्भमा गलत तथ्यहरूको हवाला दिँदै लेखिएको ब्लग र डक्सापलगायत उहाँका अनुयायीले गरेको ट्वीटले म मर्माहित भएँ । लेख लेख्न बस्नेले सम्बन्धित व्यक्तिसम्म पुगेर उसको तथ्य जान्नुपर्छ, यो मैले सिकेको लेखनको आधारभूत धर्म हो । औजार चलाउनुभन्दा धेरै विवेक कलम चलाउँदा प्रयोग गर्नुपर्छ । आफ्नोमात्रै अनुभूति लेख्ने हो भने फरक हो ।

र, म

म पत्रकार हुँ । पत्रकारिताको धर्म सत्य र तथ्य हो । पत्रकारिताको यही धर्म मान्दा मैले धेरै ठाउँमा अपमानित हुनु परेको छ, धेरै अवसरबाट बञ्चित हुनुपरेको छ । यसको व्याख्या फेरि कतै गरौँला ।

अहिलेलाई यसको तात्पर्य यतिमात्रै हो— म सत्य र तथ्यमा विश्वास गर्छु । महिला र पुरुषलाई उनीहरूको लिंगका आधारमा विभेद नगरियोस्— मेरो पहिलो माग हो । हामी सबै ९महिला र पुरुष०को लडाइँ एक–अर्काविरुद्ध होइन, केही विचारविरुद्ध हो । केही व्यवस्थाविरुद्ध हो, जसलाई हामीले चिर्नैपर्ने छ । यसमा महिला र पुरुष सँगसँगै हुनुुपर्छ । यो मेरो बुझाइ हो ।

अति पश्चगमन र अत्यधिक उग्रवादमा मलाई विश्वास छैन । यो लडाइँमा म र मजस्ता धेरै मान्छे अझै धेरै टाढा छौं । तर, मैले गरेको स्वाभाविक नीतिगत सवाललाई जसरी अस्वाभाविक रूपमा उचालियो, यसबाट म मर्माहत छु ।बाह्रखरीबाट