चैत्र १५, २०८० बिहीबार

ट्राफिक प्रहरीले सेक्सका लागि जंगल पुर्‍याएकी युवतीको बाटोमै मृत्यु



सुर्खेत–अन्यायमा परेको व्यक्ति सबैभन्दा पहिले न्याय पाउने आशमा प्रहरीकहाँ पुग्छ । जाहेरी दिन्छ र न्याय नपाए अदालतको ढोका ढकढकाउन पुग्छ ।

तर सुर्खेतको पञ्चपुरी नगरपालिका बाबियाचौरमा एसइई परीक्षा दिइरहेकी छात्रा गोरीकला रोकायाको हकमा त्यसको ठीक विपरित भयो । उनले सुरक्षित हुने महसुस गरे पनि प्रहरीका कर्मचारी नै उनको मृत्युको कारक बनेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुुर्खेतले रोकायाको हत्यामा अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत हरि कोइरालालाई मंगलबार साँझ नियन्त्रणमा लिएको छ । रोकायालाई मंगलवार विहान कोठामा मृत भेटिएको केही घण्टापछि कोइरालासहित तीन जनालाई नियन्त्रणमा लिइएको थियो ।

घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका पञ्चपुरी नगरपालिका–८ का लक्ष्मीप्रसाद बास्तोलाले ट्राफिक प्रहरी कोइरालाले ‘केटी मिलाउन’ आग्रह गरेको र आफूले किशोरी रोकायालाई मिलाई दिएको प्रहरीलाई बयान दिएका छन् ।

प्रहरी स्रोतका अनुसार गोरीकला र प्रहरी जवान कोइरालाले सोमबार दिउँसो डेरादेखि टाढा जंगलमा बसेर मदिरा सेवन गरेका र बास्तोलाले उनीहरुलाई त्यहि छोडेर छिमेकीको भोजमा गएको बयान दिएका छन् ।

सोही घटनामा संलग्न भएको आशंकामा प्रहरीले बास्तोलाका भाइ समेत पक्राउ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरु दुवैजना ‘खाजा खाइसकेपछि’ मोटर साइकलमा फर्किएका थिए । मदिरामा लठ्ठ परेका उनीहरु सवार मोटरसाइकलबाट युवती खसेकी थिइन् ।

तर, गम्भीर घाइते रोकायालाई अस्पताल नलगी नलिइ डेरामा राखेका कारण राति अन्दाजी १ बजेतिर ज्यान गएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए ।

मृतक पञ्चपुरी नपा–३ चौरकी १८ वर्षीया रोकाया सूर्यप्रकाश मावि पलैंटेकी छात्रा हुन् । एसइई परीक्षा दिन उनले बाबियाचौरमा डेरा लिएकी थिइन् ।